उपत्यकाको फोहर व्यवस्थापन समस्या समाधानका लागि सरोकारवालासँग छलफल
काठमाडाैं। सहरी विकास मन्त्रालयले काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनमा देखिएका समस्या समाधानका लागि सरोकारवालासँग छलफल गरेको छ।
आइतबार मन्त्रालयमा भएको बन्चरे डाँडाँ स्यानिटरी ल्याण्डफिल साइट सञ्चालनमा सहजरीकरण, समन्वय र अनुगमन गर्न गठित उच्चस्तरीय समितिको बैठकले उपत्यकाको फोहर व्यवस्थापनमा देखिएका समस्या समाधानका गर्न विभिन्न निर्णय समेत गरेको छ।
बैठकमा उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनमा देखिएको चुनौती र समस्या सबैको सरोकारको विषय भएकाले समाधानका लागि सबै मिलेर अघि बढ्नुपर्ने बताए।
उक्त समिति २०७८ साल फागुन २६ गतेको मन्त्रिपरिषद्को बैठकले गठन गरेको थियो। उपप्रधानमन्त्री सिंहले ल्याण्डफिल साइटका स्थानीयले राखेका माग सम्बोधन लागि विभिन्न विकल्पका बारेमा अघि बढ्न सकिने उल्लेख गरे।
यसमा देखिएका समस्या समाधानका लागि तीनै तहका सरकार मिलेर अघि बढ्नुपर्ने उनले बताए। बैठकमा ललितपुर महानगरपालिका प्रमुख एवं उपत्यका मेयरर्स फोरमका अध्यक्ष चिरिबाबु महर्जनले उपत्यकाको फोहर व्यवस्थापनका लागि दीर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिए।
उनले फोहर व्यवस्थापका लागि महानगरले पहल गरेपनि बिभिन्न समस्या देखिने गरेको जनाए। मन्त्रालयका सचिव मणिराम गेलालले उपत्यकाका फोहर व्यवस्थापनको नेतृत्व काठमाडौं महानगरपालिकाले लिने र स्थानीय माग व्यवस्थापनका लागि विभिन्न सुझाव आएको बताए।
त्यस्तै फोहर ओसार्नका लागि बैकल्पिक बाटो निर्माण, ल्याण्डफिल साइटको जग्गा अधिग्रहणका बारेमा स्पष्टता, कुहिने फोहर उपत्यकामै विसर्जन गरी मल बनाउनेलगायत विषयमा निर्णय भएको उनले जानकारी गराए।
Facebook Comment