निराशालाई आशामा बदल्दै सकारात्मक सन्देश दिनुपर्नेमा जोड

डिसी नेपाल
९ मंसिर २०८१ २३:०५

पाटन । निराशालाई आशामा बदल्दै सकारात्मक सन्देश दिनुपर्नेमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले जोड दिएका छन्। सयदिने विशेष अभियान सुरुआतसँगै ललितपुर पार्टी कार्यालय नखिपोटमा आज आयोजित समारोहमा कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले पार्टीका हरेक तहले निराशा र चिन्ता व्यक्त गर्नुको साटो चिन्तन गर्नुपर्ने बताए।

‘हामीले राजनीतिक कार्यकर्ता र जनताका बीचमा सञ्चार गर्नुपर्छ, पार्टी कब्जा गर्नेभन्दा जनस्तरमा स्थापित हुनेमा ध्यान दिनुपर्छ,’ उनले भने, ‘ठीक र बेठीकको सङ्घर्षबाट लोकतन्त्रलाई जीवन्त राख्नुपर्छ।’ उनले नेपाली कांग्रेस इतिहास र विरासत मात्रै नभई वर्तमान र भविष्य निर्माणमा अगुवा बन्नुपर्नेमा जोड दिए।

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ओमकारप्रसाद श्रेष्ठले नेताहरूको बोली र व्यवहारमा एकरूपता हुनुपर्नेमा जोड दिए। उनले पार्टीको सयदिने कार्यक्रममा हाजिरी जनाउनेभन्दा पनि पार्टीको समस्या समाधान गरेर जनताको मन जित्ने गरी क्रियाशील हुन आग्रह गरे।

केन्द्रीय सदस्य एवम् ललितपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उदयशम्शेर राणाले मेहनतले संगठन निर्माणका लागि ध्यान दिनुपर्ने बताउँदै सयदिने अभियानमा बाढिपहिरोले क्षति पुर्‍याएको स्थानमा पुनःस्थापना पुनःनिर्माणका लागि ध्यान दिनुपर्नेमा जोड दिए। ‘उद्धार र राहतका काममा ललितपुर क्षेत्र नं १ का जनप्रतिनिधिले उत्कृष्ट काम गर्नुभएको छ, जिल्ला पार्टी नेतृत्वले पनि सहयोग गरेको छ, हामी सबै एक भएर पुनःनिर्माणमा जुट्नुपर्छ’, उनले भने।

राष्ट्रियसभा सदस्य एवम् नेपाली कांग्रेस केन्द्रीय सदस्य जितजंग बस्नेतले निकटता र सहजताका आधारमा गुट र उपगुट हुने भन्दै त्यसलाई सहज रुपमा व्यवस्थापन गर्दै एकताबद्ध भएर सहमति र सहकार्यमा लाग्नुपर्ने उल्लेख गरे।

अर्का केन्द्रीय सदस्य उर्मिला नेपाल केसीले पार्टीमा युवासँगसँगै महिलालाई राजनीतिक रुपमा प्राथमिकता दिएर अगाडि बढाउनुपर्नेमा जोड दिए। वडादेखि केन्द्रीय तहसम्म हरेक क्षेत्रमा महिलालाई पुरुष सरह समान भूमिकामा स्थापित गरिनुपर्ने जोड दिए।

बागमती प्रदेशका सहमहामन्त्री ऋषिराम घिमिरेले हरेक क्षेत्रमा देखिएका बेथिति र वितृष्णालाई सम्बोधन गर्दै आशा र विश्वासको सञ्चार गर्नुपर्ने बताए।

जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठले जनप्रतिनिधि र पार्टी सङ्गठनबीचको मतभेदलाई समाधान गर्न एक सयदिने अभियानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।

ललितपुर महानगरपालिकाका प्रमुख एवम् नेपाली कांग्रेसका महासमिति सदस्य चिरीबावु महर्जनले आफूले सधैँ जनतालाई विश्वास दिलाउने गरी काम गर्ने बताए। उनले पार्टीले ल्याउने जनप्रिय योजनालाई ध्यान दिएर बजेट व्यवस्थापन गर्ने बताउँदै ध्यान दिएर जनताले समस्या बुझेर योजना बनाउन र माग गर्न आग्रह गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *