मार्ग शीर्ष कृष्ण दशमी: पशुपति क्षेत्रका विभिन्न स्थानमा घुमाइयो गुह्येश्वरीको खट जात्रा
काठमाडौं। पशुपति क्षेत्रका विभिन्न स्थानमा गुह्येश्वरीको खट जात्रा गरिएको छ। आइतबार रातभर तान्त्रिक विधिपूर्वक पूजा सकेपछि जात्राका लागि युवालाई जिम्मा दिइएको छ।
क्लबले गुह्येश्वरीको खटलाई पशुपति मन्दिर परिक्रमा गराई पशुपतिनाथका मूल भट्टबाट विधिपूर्वक पूजा गराइएको थियो। पशुपतिनाथ मूल मन्दिरबाट अमालकोट कचहरीको डबलीमा लगेर पूजा गरिएको थियो। त्यहाँबाट जयवागेश्वरीको नवालीटोलमा लगेर विधिवत् पूजा आराधना गरिएको छ। पशुपति क्षेत्रका विभिन्न स्थानमा हुने पूजा आराधनामा भक्तजनको उल्लेख्य उपस्थिति रहने गरेको छ।
जात्राका लागि नेपाली सेनाको गुरूजुको पल्टनसमेत सहभागी हुने प्राचीनकालदेखिको परम्परा रही आएको छ। नेपाली सेना, संस्थान, अमालकोट कचहरीलगायतले विधिपूर्वक छुट्टाछुट्टै पूजा गर्छन्। नवाली टोलमा निजी गुठीका गुठियारले पनि पूजा गर्ने अवसर पाउँछन्। नवालीटोलको पूजापछि रथलाई सिफल-ज्ञानेश्वर-कमलपोखरीमा पनि विशेष पूजा आराधना गरिन्छ।
कमलपोखरीको विशेष पूजापछि कृष्ण पाउरोटी-तीनधारा पाठशाला-जमल-असन हुँदै आजै बेलुकी तलेजु भवानीको मन्दिरमा मूर्तिलाई लगिएको संस्थानले जनाएको छ। आइतबार यही मार्गबाट मूर्तिलाई गुह्येश्वरी मन्दिर ल्याइएको हो। यो जात्राका क्रममा धिमे बाजा, नायखी, बाँसुरी वादन गरिन्छ। जात्रामा नियमित भजनकीर्तन गर्ने समूहका सदस्य पनि सहभागी हुने गर्छन्।
प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण नवमीदेखि दुई दिनसम्म पशुपति क्षेत्रमा सञ्चालन हुने गुह्येश्वरी यात्राका लागि हनुमानढोका दरबार क्षेत्रस्थित तलेजु भवानीको मन्दिरमा रहेको मूर्ति आइतबार नै गुह्येश्वरी पुर्याइएको थियो।
गुह्येश्वरी र तलेजुलाई दिदीबहिनीका रूपमा पूजिने भएकाले दुवै मूर्ति उस्तै रहेको छ। गुह्येश्वरीलाई दिदी र तलेजुलाई बहिनीका रूपमा पूजिने पुजारी जैन कर्माचार्यले बताए। मूर्ति गुह्येश्वरी मन्दिरमा लगेसँगै आज राति बलिसहित तान्त्रिक र गुप्ति पूजा गरिने पशुपति क्षेत्र विकास कोष अमालकोट कचहरीका द्वारे रामकृष्ण डङ्गोलले जानकारी दिए।
मूर्ति तलेजु भवानीको मन्दिरबाट गुह्येश्वरी लैजाने सबै विधि तान्त्रिक प्रक्रियाबाट नै पूरा गरिन्छ। आइतबार रातभर गुह्येश्वरी मन्दिरमा धुनी जगाइएको थियो। मूर्तिलाई गुह्येश्वरीको गर्भगृहमा राखेर पूजा आराधना गरिन्छ। दुवै मूर्ति उस्तै भएकाले तलेजुलाई पनि स्थानीयवासीले गुह्येश्वरी भनी मान्ने गरेको पाइन्छ।
गुह्येश्वरी मन्दिर क्षेत्रमा तलेजु भवानीलाई लैजानुअघि नै त्यहाँ ३२ हातको लिङ्गो ठड्याइएको गुठी संस्थान पशुपति गोश्वारा कार्यालयले जनाएको छ। जात्राका लागि लिङ्गो पशुपति क्षेत्रस्थित भण्डारखालबाट सालको रूख काट्ने गरिन्छ। जात्रा सकिएसँगै आज बेलुकी छ बजे यो लिङ्गो ढालिएको छ। जयप्रकाश मल्लको पालादेखि शुरू भएको यो जात्रा प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण नवमी र दशमीमा हनुनमानढोका दरबारबाट पशुपति क्षेत्रको गुह्येश्वरी मन्दिरसम्म गरिन्छ।
रातभर गुप्ति पूजाको प्रक्रिया सकेपछि आज बिहान ११ बजे विशेष पूजा गरी खटलाई यात्राको अनुमति दिइएको समितिले जनाएको छ। संस्थान र समितिको व्यवस्थापनमा समेबजीलगायत तान्त्रिक विधिले पूजा गर्दा चढाइने चीजबीज चढाएर पूजा आराधना गरिएको थियो।
Facebook Comment