कीर्तिपुरमा चार पक्षीय भिडन्त, कांग्रेस र एमालेलाई विरासत जोगाउने चुनौती
काठमाडौं। मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन आउन अब पाँच दिन मात्र बाँकी छ। राजनीतिक दल र उम्मेदवारहरू आफ्ना एजेण्डा प्रस्तुत गरेर मतदाता रिझाउन व्यस्त छन्। उपनिर्वाचनअन्र्तगत कीर्तिपुर नगरपालिकाको मेयर पदको उपनिर्वाचनमा सबैको ध्यान केन्द्रित भएको छ।
४१ पदको लागि हुने उपनिर्वाचनमा कीर्तिपुर एक मात्र नगरपालिका हो। मुलुकको राजधानी काठमाडौंमा रहेको र उपनिर्वाचन हुने एक मात्र नगरपालिका भएको कारण पनि सबैको ध्यान कीर्तिपुर नगरपालिकामा केन्द्रित भएको हो। कीर्तिपुर नगर प्रमुख पदका लागि प्रमुख दलसहित २० जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। तीमध्ये ११ जना स्वतन्त्र उम्मेदवार छन्।
प्रतिनिधि सभामा चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने यहाँ उम्मेदवारी दिएको छैन। कीर्तिपुर नगर प्रमुख पदका लागि निर्वाचनमा प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।
यद्यपि, दलका उम्मेदवारलाई स्वतन्त्र उम्मेदवारले यसपटक चुनौती दिने कीर्तिपुरवासीको आँकलन छ। कीर्तिपुरको प्रमुख पदमा कांग्रेसबाट कृष्णमान डंगोल, नेकपा एमालेबाट डा.सुरेन्द्र मानन्धर, नेकपा माओवादी केन्द्रबाट प्राडा. शिवशरण महर्जनले उम्मेदवारी दिएका छन्।
यसैगरी, नेपाल समाजवादी पार्टीका दिलकुमार महर्जन, नेपाल मजदुर किसान पार्टीका श्रीकृष्ण महर्जन, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ध्रुव महर्जन, जनता समाजवादी पार्टीका दीपक महर्जन (हनी), नेपाल मालेका सुरेन्द्र मानन्धर र जनमत पार्टीका केशव श्रेष्ठले पनि नगर प्रमुखमा उम्मेदवारी दिएका छन्। स्वतन्त्र उम्मेदवारमा डा.नवरथकुमार बाँनिया, राजमान महर्जन, रामकृष्ण महर्जन, मिम महर्जन, प्रेमबहादुर महर्जन, दिनेशकुमार अधिकारी, नरेश श्रेष्ठ, धर्मरत्न मानन्धर, आनन्द महर्जन, नरेशराज पाण्डे र कविकुमार महर्जनले उम्मेदवारी दिएका छन्।
कांग्रेसका डंगोल र एमालेका मानन्धर नयाँ अनुहार हुन्। माओवादीका महर्जन पुरानै अनुहार हुन्। जो अघिल्लो निर्वाचनमा पनि उम्मेदवार थिए। यसपटक माओवादीका महर्जनलाई नेकपा एकीकृत समाजवादी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीले समर्थन गरेको छ।
उपनिर्वाचनको प्रचारप्रसारका क्रममा मेयरका उम्मेदवारहरूले विभिन्न एजेण्डा अघि सारेका छन्। निर्वाचनमा माओवादीले सुशासन, सामाजिक न्याय, समृद्धिलाई मुख्य एजेण्डा बनाएको छ।
यसैगरी, एमालेबाट उम्मेदवारी दिनुभएका सुरेन्द्र मानन्धरले समृद्ध नेपाल सुखी नेपाली एमालेको भिजन भएको भन्दै कीर्तिपुरको समग्र विकासका लागि योजना अगाडि सारेको बताएका छन्। यता, कांग्रेसले नगर सभापतिसमेत रहेका कृष्णमान डंगोललाई उम्मेदवार बनाएको छ।
अघिल्लोपटक आफैंले जितेको क्षेत्र भएकाले यसपटक विरासत जोगाउने चुनौती कांग्रेससामु छ। प्रतिस्पर्धी एमाले र माओवादीले बलियो उम्मेदवार उठाएका कारण पनि कांग्रेसलाई चुनौती थपिएको कतिपयको आँकलन छन्।
कीर्तिपुरवासीको भावना, भूगोल, संस्कृति, इतिहाससँग राम्रो परिचित भएकाले पनि डंगोल बलियो प्रतिस्पर्धी मानिएका छन्। २०७९ सालमा भएको उपनिर्वाचनमा मुलुकभर गठबन्धन हुँदा कीर्तिपुरमा भने कांग्रेस एक्लैले चुनाव जितेको थियो।
अघिल्लो निर्वाचनमा यो नगरपालिकाका १० वडामध्ये नौवटै वडाध्यक्ष कांग्रेसले जितेको छ। उम्मेदवार डंगोलले संस्कृति, सम्पदाको शहर भएकाले पर्यटन, संस्कृति र सम्पदाको विकासका लागि आफूले उम्मेदवारी दिएको बताए।
स्वतन्त्र उम्मेदवारमध्ये राजमान महर्जन बलियो प्रतिस्पर्धी मानिएको छ। स्वतन्त्र उम्मेदवार महर्जन विगत १५ वर्षदेखि कीर्तिपुरमा सरसफाइ अभियन्ताका रूपमा चर्चित छन्। त्यसकारण यो पटकको निर्वाचन चार पक्षबीचको रोचक र कडा प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ।
२०७९ को निर्वाचनमा यहाँ कांग्रेसका उम्मेदवार राजकुमार नकर्मी ३५३६ मतान्तरसहित निर्वाचित भएका थिए। नकर्मीले ९०४३ मत ल्याएर विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार केशवरत्न बज्राचार्यले ५५०७ मत प्राप्त गरेका थिए। तेस्रो स्थानमा नेकपा माओवादी केन्द्रका उम्मेदवार प्राडा. शिवशरण महर्जनले ४०९० पाएका थिए।
स्वतन्त्र उम्मेदवारबीच गठबन्धन
कीर्तिपुर नगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवार नरेश श्रेष्ठले अर्का स्वतन्त्र उम्मेदवार राजमान महर्जनलाई समर्थन गर्ने घोषणा गरेका छन्। सोमबार कीर्तिपुरको लाछीमा आयोजित एक सभामा श्रेष्ठले आफ्नो समर्थन स्वतन्त्र उम्मेदवार महर्जनलाई रहेको घोषणा गरेका थिए।
सभामा स्वतन्त्र उम्मेदवार श्रेष्ठले भने, ‘म कीर्तिपुर नगरपालिकाको स्वतन्त्र उम्मेदवार अधिवक्ता नरेश श्रेष्ठले विजयउन्मुख हुँदै गरेका स्वतन्त्र उम्मेदवार राजमान महर्जन (मानव) लाई आजदेखि साथ समर्थन गर्दछु।’
कीर्तिपुरको मेयर र वडा नम्बर १ तथा वडा नम्बर ४ मा यही मंसिर १६ गते उपनिर्वाचन हुँदै छ। कीर्तिपुरमा ३१ हजार ११२ जना मतदाता छन् भने १० वडामा कुल २० मतदान स्थल र ३८ मतदान केन्द्र तोकिएको छ।
हर्क सम्पाङ स्वतन्त्र उम्मेदवार राजमानको प्रचारमा
कीर्तिपुर नगरपालिकाका स्वतन्त्र उम्मेदवार राजमान महर्जन (मानव)लाई सहयोग गर्न धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ काठमाडौं आएका छन्। मानव पनि आफूजस्तै भुइँमान्छे भएकाले चुनावी अभियानमा सहयोग गर्न काठमाडौं आएको उनको भनाइ छ।
स्वतन्त्र उम्मेदवार राजमान महर्जन (मानव)को चुनावी प्रचार अभियानलाई सम्बोधन गर्दै मेयर साम्पाङले भने, ‘देशमा गफ गर्ने मान्छे धेरै छन्, काम गर्ने मान्छेको खाँचो भएकाले कीर्तिपुरवासीले सफाइ अभियन्तालाई साथ दिनुहुन्छ भन्ने अपेक्षा छ।’
देशमा ७५३ स्थानीय तह भए पनि काठमाडौं, धनगढी र धरानको मात्र चर्चा हुने गरेको उल्लेख गर्दै साम्पाङले अगाडि भने, ‘कीर्तिपुरलाई पनि त्यस्तै चर्चाको केन्द्रमा राख्न तपाईंहरूले काममा विश्वास गर्ने राजमान मानवलाई जिताउनुपर्छ।’ स्वतन्त्र उम्मेदवार मानवले मेयर साम्पाङको उपस्थितिले आफ्नो चुनावी अभियानलाई धेरै फाइदा गर्ने उल्लेख गर्दै भने, ‘हुन त कीर्तिपुरवासीले मेरो कामलाई पहिल्यै देख्नुभएको छ, तर हर्कजी पनि आउनुभएपछि थप मतदाताको नजरमा म परेको छु। यस्तोमा कीर्तिपुरमा पुराना दलहरूले गरेको फोहोर सफा गर्न मलाई एकपटक अवसर दिनुहोला।’
मेयर साम्पाङ राजमानको चुनावी अभियानमा सहयोग गर्न आइतबार नै काठमाडौं आएका हुन्। सोमबार मेयर साम्पाङले महर्जनलाई भोट दिन आग्रह गर्दै घरदैलोसमेत गरेका छन्।
काठमाडौं-१६ का उम्मेदवारद्वारा घरदैलो अभियानलाई तीव्रता
काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा हुन लागेको उपनिर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूले घरदैलो अभियानलाई तीव्रता दिएका छन्। उपनिर्वाचन आउन केही दिन मात्र बाँकी रहँदा उम्मेदवारहरूले घरदैलो अभियानलाई तीव्रता दिएका हुन्।
स्थानीय तह उपनिर्वाचनअन्तर्गत काठमाडौं महानगरपालिका वडा नम्बर १६ को वडाध्यक्ष पदमा मा कांग्रेस, एमाले, रास्वपालगायत १० स्वतन्त्रसहित १८ जना उम्मेदवार कायम भएको निर्वाचन आयोगले जनाएको छ।
सो वडाका लागि कांग्रेसले देवेन्द्र पाठक, एमालेले लक्ष्मीरत्न मानन्धर र राष्ट्रिय स्वतन्त्र पार्टीले रोजिना श्रेष्ठलाई उम्मेदवार बनाएको छ। राप्रपा, नेकपा एकीकृत समाजवादी, राप्रपा नेपाल, जसपाका उम्मेदवार पनि चुनावी मैदानमा छन् । यस अघिका वडाध्यक्ष मुकुन्द रिजालको निधन भएपछि सो वडामा उपनिर्वाचन हुन लागेको हो।
Facebook Comment