सर्वोच्चमा ४ न्यायाधीश नियुक्तिको तयारी, भर्खरै बरिष्ठ अधिवक्ता बनेका समेत लाइनमा

डिसी नेपाल
११ मंसिर २०८१ ११:३५

काठमाडौं। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सर्वोच्च अदालतमा रिक्त रहेका ४ न्यायाधीश पदमा नियुक्तिको तयारी गरेका छन्। यसका लागि उनले आज न्यायपरिषदको बैठक राखेका छन्।

आजकै बैठकले ४ न्यायाधीशको नाम अनुमोदन गरेर संसदीय सुनुवाइका लागि सिफारिस गर्ने तयारी गरिएको बताइएको छ।

सर्वोच्चको प्रधानन्यायाधीश नियुक्तिका लागि न्यायपरिषद बैठकमा सहभागी हुनुपर्ने भएपछि प्रधानन्यायाधीश राउतले आज आफ्नो इजलास राखेका छैनन्। न्यायपरिषदको सदस्य रहने सर्वोच्च अदालतमा प्रधानन्यायाधीशपछि दोस्रो बरियताकी न्यायाधीश सपना प्रधान मल्लको पनि आज कुनै इजलास तोकिएको छैन।

न्यायपरिषदमा नेपाल बार एसोसिएसनको तर्फबाट प्रतिनिधित्व गर्ने सदस्य रामप्रसाद श्रेष्ठको कार्यकाल सकिन लागेकोले उनले अवकाश नपाउँदै न्यायाधीश नियुक्तिको लागि सिफारिसको काम टुंगो लगाउने तयारी गरिएको हो। न्यायपरिषद सदस्य श्रेष्ठ यही मंसिरको १५ गते अवकाश पाएर परिषदबाट विदा हुँदैछन्।

परिषद अध्यक्ष तया प्रधानन्यायाधीश राउतले रिक्त ४ न्यायाधीश पदमा २ जना उच्च अदालतका मुख्य न्यायाधीश र २ जना कानुन व्यवसायीलाई सिफारिस गर्ने तयारी गरेका छन्। परिषदका अन्य सदस्यहरु पनि सहमत भएमा आजै नियुक्तिको सिफरिस हुन सक्छ।

न्यायपरिषदमा प्रधानन्यायाधीशको अध्यक्षतामा बरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, कानुनमन्त्री अजयकुमार चौरसिया, बारको तर्फबाट नियुक्त रामप्रसाद श्रेष्ठ र मन्त्रिपरिषदको सिफरिसमा नियुक्त कानुनविद रामप्रसाद भण्डारी सदस्य छन्।

प्रधानन्यायाधीश राउतले आजको बैठकमा उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल, उच्च अदालत दिपायलकी मुख्य न्यायाधीश शान्ति सिंह थापा तथा बरिष्ठ अधिवक्ताहरु ईश्वरी भट्टराई र आशिष अधिकारीको नाम सिफारिसका लागि प्रस्ताव गर्ने तयारी गरेको बताइएको छ।

भट्टराई एमालेप्रति झुकाव भएका र अधिकारी कांग्रेसप्रति झुकाव भएका कानुन व्यवसायी मानिन्छन्। अधिकारीले २ महिनाअघि मात्र असोज १० गतेको सर्वोच्च अदालतको पूर्ण बैठकबाट बरिष्ठ अधिवक्ताको उपाधि पाएका थिए।

यही मंसिर १५ गतेदेखि न्यायपरिषदका सदस्इ रामप्रसाद श्रेष्ठ समेत अवकाश पाएर विदा हुने भएपछि उनको स्थानमा नयाँ सदस्य नियुक्तिको तयारी पनि सुरु भएको छ। श्रेष्ठ नेपाल बार एसोसिएसनको सिफारिसमा नियुक्त भएको हुँदा उनको स्थानमा बारले नै अर्का कानुनविदलाई सिफारिस गर्नुपर्ने हुन्छ। यसको लागि बारको बैठक पनि आजकै लागि बोलाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *