‘९६ गड्डी’ माथि विमर्श
काठमाडौं । साहित्यकार प्रकाश तिवारीको चौथो अपन्यास कृति ‘९६ गड्डी’ माथि विमर्श कार्यक्रम आयोजना गरिएको छ। ‘कलमका साथी’ नामक संस्थाले आयोजना गरेको कार्यक्रममा समीक्षक एवम् कवि भारती न्यौपानेले भनिन्, ‘निजामती सेवामा बाहिर सेता पर्दा छ, भित्र कालो पर्दा हुँदो रहेछ। सेतो पर्दा खोलेर कालो पर्दा देखाइदिनुभएको छ। जुन क्षेत्रमा काम गरेको हो, त्यही क्षेत्रका विकृतिलाई बाहिर ल्याउन सक्नु उहाँको ठूलो खुबी हो।’
तिवारीले उपन्यासमार्फत प्रशासनभित्रको नराम्रो पक्ष र भ्रष्टाचारका काण्डलाई एकत्रित गरेर बाहिर ल्याइदिएको भनाइ न्यौपानेको छ। ‘यो उहाँको ठूलो हिम्मत हो। प्रशासनको नराम्रो पक्षलाई काँक्रो चिरेजसरी चिराचिरा बनाएर प्रस्तुत गर्नुभएको छ’, उनले भनिन्।
उपन्यासकार एवम् समीक्षक अनिता कोइरालाले आफूलाई विगतमा लोकसेवाको तयारी कक्षा लिँदा सुशासन निकै मन परे पनि निजामती कर्मचारीको व्यवहार हेर्दा ठिक उल्टो रहेको बताइन्। कर्मचारीतन्त्रभित्रको त्यस्तै विषयलाई उपन्यासले चिरफार गरेको कोइरालाको भनाइ छ। उनले भनिन्, ‘सुशासन पढेका व्यक्तिले मुलुकको कायापलट गर्छन् भन्ने जस्तो लाग्थ्यो। यति धेरै अध्ययन गरेका व्यक्ति ईश्वरतुल्य लाग्थ्यो। अहिले ३० हजारमा पनि र्याल चुहाएको देख्दा अचम्म लाग्छ।’
पाठकीय प्रतिक्रिया दिँदै सुधा मैनालीले ९६ गड्डी उपन्यास पनि अनुसन्धानमा आधारित हुन्छ भन्ने मानक स्थापना गर्न सफल भएको बताइन्। उनले उपन्यासमा भ्रष्टाचारी संस्कृति, पर्यावरण, नारी पहिचान र पुँजीवादजस्ता चार विषयमा केन्द्रित भएको बताइन्। कलाकार नवराज तिवारीले उपन्यासमा आधारित रहेर फिल्म बनाउने हो भने सपल हुन सक्ने बताए।
कृतिका लेखक प्रकाश तिवारीले आफ्नोे उपन्यास पढेपछि सहकर्मीहरूले फोन उठाउनै छाडेको जानकारी दिँदै भने, ‘उनीहरूले आफैँमाथि लक्षित गरी लेखिएको हो कि भनेर होला। मैले त व्यक्तिविशेष नभई नेपाली नोकरशाहीतन्त्रको यथार्थ बाहिर ल्याएको हुँ।’
कवि एवम् कथाकार राधिका कल्पितले ‘कलमका साथी’ संस्थाका बारेमा जानकारी दिएकी थिइन्। उनका अनुसार कलम ललाउँदाचलाउँदा केही मन मिल्ने साथीहरू समूहमा आबद्ध भई कलमका साथी सक्रिय भएको हो।
कार्यक्रमका सहजकर्ता हेम भण्डारीले दुवै समीक्षकमा सूक्ष्म पठन देखिएको बताए। उनले भने, ‘दुवैजना समीक्षकले ९६ गड्डीमाथि मसिनामसिना कुरा खोतलेर देखाइदिनुभयो। उहाँहरूका कुरा लेखक र समीक्षकका लागि निकै उपयोगी छन्।’ उनले उपन्यास पढ्दा गरिब हुन हामीलाई छुट नरहेको अनुभूत भएको बताए। भण्डारीले भने, ‘तैँले किन सहरमा घर नबनाएको? तैँले किन गाडी नकिनेको? भन्छन्।’ कृतिमा विचार पक्ष बलियो हुँदा कला पक्ष कमजोर देखिएको उनले बताए। उनले कृतिका लेखक र समीक्षकबीच विमर्श कार्यक्रममै औपचारिक चिनजान भएकाले कृतिमाथिको मूल्यांकन पक्षपातरहित रहेको धारणा व्यक्त गरे।
Facebook Comment