ऋणको भार नथपिने गरी बीआरआई कार्यान्वयनमा लगौं : कांग्रेस

डिसी नेपाल
१२ मंसिर २०८१ १५:४३

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसले चीनको महत्वकांक्षी परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)बाट ऋणको भार नथप्ने गरी अघि बढ्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएको छ।

बुधबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको शीर्ष नेताहरूको बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले बैठकपछि उक्त कुरा बताएका हुन्।

‘म आफैं परराष्ट्रमन्त्री हुँदा बीआरआईको एमओयूमा हस्ताक्षर भएको हो। बीआरआईअन्तर्गतको परियोजना लिने विषयमा कांग्रेसमा द्विविधा छैन। तर, देशलाई ऋणको भार थप्ने अवस्थालाई स्वीकार्न सकिँदैन,’ उनले भने।

बीआरआईअन्तर्गतका नौ वटा परियोजनामाध्ये सुरुङमार्ग, सडकमार्ग र रेलमार्गसहित उत्तरी नाका जोड्ने आयोजनालाई ‘ग्राण्ड फाइनान्सिङ’, ‘टेक्निकल सपोर्ट’सहितमा चीनबाट सहयोग लिन सकिने पक्षमा कांग्रेस रहेको उनले बताए।

कांग्रेसले सत्ता साझेदार दलका रुपमा सुझाव दिएको उनको भनाइ छ। सरकारका तर्फबाट निर्णय गर्ने अधिकार प्रधानमन्त्री ओलीलाई छाडिएकोसमेत उनले बताए।

चीन नेपालको छिमेकी राष्ट्र भएकाले उत्कृष्ट सम्बन्ध राख्नुपर्ने कांग्रेसको ठहर छ। ‘नेपालले भारत र चीनको सम्बन्धलाई अत्यन्त महत्त्व दिएको छ। हामीले कुनै पनि सम्झौता राष्ट्रको स्वार्थमा गर्नुपर्छ। विदेशनीतिमा एउटै मापदण्ड अपनाउनुपर्छ। यो सम्झौता र सम्बन्धले कसरी राष्ट्रिय स्वार्थलाई बलियो बनाउँछ भन्ने हेर्नुपर्छ,’ उनले भने।

चीनले अघि सारेको बीआरआई परियोजनामा नेपालले सन् २०१४ मा सैद्धान्तिक सहमति जनाएको थियो। त्यसपछि नेपालले २०१७ मे १२ मा बीआरआई फ्रेमवर्क समझदारी पत्रमा हस्ताक्षर गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *