मानव तस्करी प्रकरणमा कोशीका पूर्वमन्त्री अधिकारीलाई उन्मुक्ति दिएको भन्दै माओवादीको आपत्ति
काठमाडौं। नेकपा माओवादी केन्द्रले मानव तस्करी प्रकरणमा कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई उन्मुक्ति दिएको भन्दै आपत्ति जनाएको छ।
पार्टी कार्यालय पेरिसडाडामा बुधबार बसेको माओवादी पदाधिकारी बैठकले अहिलेको सरकारले मानव तस्करीजस्तो गम्भीर प्रकरणमा मुछिएका अधिकारीलाई उन्मुक्ति दिने काम भएको गरेको भन्दै आपत्ति जनाएको हो।
बैठकपछि माओवादी प्रवक्ता अग्नि सापकोटाले मानव तस्करी प्रकरणमा अधिकारीलाई उन्मुक्ति दिने र अन्यलाई मुद्धा चलाउने काम घोर आपतिजनक रहेको निष्कर्ष बैठकले निकालेको जानकारी दिए।
वर्तमान सरकारले पहिलेदेखि नै भ्रष्टाचारीको संरक्षण गर्दै आएको र अहिले अधिकारीलाई उन्मुक्ति दिने कामले त्यसलाई पुष्टि गरेको उनले बताए। उनले उपनिर्वाचनपछि सरकारबिरुद्ध कडा ढंगले खवरदारी गर्ने जानकारी दिए।
बैठकले पार्टीका सम्मेलनको कार्यविधि तयार गरेको जानकारी दिँदै सापकोटाले पालीका सम्मेलन र खवरदारी सभा सबै स्थानीय तहमा एकैसाथ गर्ने निर्णय भएको पनि जानकारी दिए।
त्यस्तै पदाधिकारी बैठकले निर्वाचन आयोगमा पेश गर्ने विधानलाई अन्तिम रुप दिएको छ।
यसअघि माओवादी केन्द्रले विधानबारे प्रतिवेदन बनाउन र पार्टीको स्थानीय तहको सम्मेलनको कार्यविधि बनाउन छुट्टाछुट्टै कार्यदल गठन गरेको थियो।
Facebook Comment