आलोकमा ओक्लहोमा आँखाभित्र ओमार
प्रकृति एउटा नियमीत गतिमा चलायमान छ। शनैशनै नियमीत सूर्य उदाउँछन्। अस्ताउँछन्। दिन आउँछ र रात पर्छ। बादल लाग्छ र पानी पर्छ। बादल फाट्छ र घाम लाग्छ। एकदम एकशुरा छ यो प्रकृति। त्यसैले म त्यही स्थिर प्राकृतिक चलाइलाई हेर्छु।
तिनको नियमीत प्रक्रिया रञ्जक लाग्छ मलाई। तिनले ममा कहिले रोमाञ्चकता ल्याइदिन्छन्। कहिले भावुक बनाइ दिन्छन्। किनभने यही प्राकृतिक क्रियाका कारणले कामकाजी भौतिक र अभौतिक अङ्ग क्रमसः बेकामे हुन खोज्दैछन्।
नाके डाँडीमा अडिएको पावरदार चस्माभित्र पानी सकिन थालेका मेरा रुखा आँखा चिमचिम गर्दै मसँग अर्जीसहित रौसिन्छन्, ‘हेरूँ। हेरी हालौँ न यार। मेरै पाइन पनि कति दिनसम्म रहने हो र ? मेरो पाइन सकिएका दिन तेरो संसार पनि एकाएक अँध्यारो हुन्छ। यो संसार हेर्नका लागि हो। भोग्ने संसार त एकदम सीमित हुन्छ। यो संसार हेर्न पाए मात्र सुन्दर छ। हेर्नै पाइएन भने सुन्दर र असुन्दरको पनि के काम ? हिँड् खेम घुम्न।’
घोटिएर खिइएका तथा पट्टि बाँधिएका घुँडा अघि सरेर बोल्छन्, ‘अझै त म हिँड्दैछु। के हरेस खान्छस् खेम ? हिँड घुम्न। जे त होला।’
बुढिँदै गएको आँतले भन्दै छ, ‘भोलि के होला के थाहा ? आज बाँचिएको छ र पो हिँड् भनेको त।’
एकान्त पायो कि म सोच्न थाल्छु। यो मनलाई लागिदिए हुन्छ। आँखालाई रौसिए पुग्छ। जोसलाई चलिदिए हुन्छ। ज्ञानलाई वैराग्य पस्किए भइहाल्छ। घुँडालाई आँट गरिदिए पुग्छ। आँतलाई जाँगर चलाए हुन्छ। तर चाँजोपाँजो मिलेन भने घुर्यान पनि मुग्लान हुन्छ भन्ने कुराको तिनले हेक्का राख्दैनन्।
फेरि अर्कोतिर चाँजोपाँजोको नाममा जिन्दगी ‘भ्यागुताको धार्नी’ पनि भइरहेकै छ। त्यो धार्नीको तुलो कहिल्यै पूरा हुने कुरा पनि होइन। यही घनचक्कर नामको इक्विलिब्रियममा म बाँचेको हुन्छु। मनलाई खँदारेर, आँखालाई चिम्लेर, जोसलाई होसले काबुमा ल्याएर भ्यागुताको धार्नी खोज्ने म कालीदासीय मूर्ख बनेको छु। त्यसैले पनि थेच्चारिनु बाध्यता हो मेरो।
जति गरे पनि तर्कना तिनै हुन्। परिवेश र परिस्थिति पनि तिनै हुन्। जतिसुकै कुम्लोकुटुरो बाँधे पनि कतै घुमीहाल्न भने संयोग पर्नु परिहाल्छ। योपल्ट संयोग परेको छ। अमेरिकाको डालस-फोर्टवोर्थ निवासी मेरो माइलो भाइ सुरेशको छोरा सोसलको विवाह सन २०२१ सेप्टेम्वर १० का दिन हुने कार्यक्रम तय भएको छ।
स्वाभाविकतबरले म निम्त्याइएको छु। मनमनै हर्षले विभोर भइरहेको छु। मेरा मनमा एक पथ दुई काज छन्। काज बिहेको निम्तो मान्नु थियो भने पथ डालस फोर्टवोर्थ क्षेत्रका आफन्त तथा साहित्यकारहरूसँग चिनापर्ची गर्ने, गफिने र रमाउने नै छ। किनकि जुन बहानामा भए पनि रमाउनु जीवनको महत्त्वपूर्ण क्षण हो।
तर गन्तव्य चाहिँ ओक्लहोमाको नोर्मनमा प्राध्यापन गर्ने साहित्यकार विश्वराज अधिकारीको घरमा धेरै दिनदेखिको पेन्डिङ निम्तो मान्न पाहुना लाग्नु छ। अथवा चिची भने पनि घुम्नु हो, पापा भने पनि घुम्नु नै हो। आफन्तकोमा तथा चिनारु÷अचिनारुकोमा पाहुना लाग्नुको पनि छुट्टै मजा हुन्छ। छुट्टै परिवेश हुन्छ र छुट्टै यात्रानुभूति हुन्छ।
हाम्रो नेपाली सभ्यतामा पाइने पाहुना लाग्ने चलन पनि एउटा गतिलो यात्रापर्यटन थियो भनिठान्छु म। आफन्तको घरैमा जाने, पाकेको रोटोपीठो खाने, दुःखसुखका पोकाहरू फुकाउने र अन्तर हृदयले धौ फुकाएर बात मार्ने र हाँस्ने जस्ता कुराहरूको आनन्द आधुनिकताको पाँचतारे होटलमा कहाँ पाउनू ?
बिहेको निम्तो मान्नकै लागि म परिवारसहित सेप्टेम्बर १० तारिकका दिन दिउँसो १ बजे डालस फोर्टवोर्थ पुगेको छु। आजै हो कोर्ट म्यारेज। तर दुर्भाग्य, पुग्न ढिलो भएकाले कोर्ट म्यारेजलाई आफ्नै आँखाले नियाल्ने जिन्दगीको पहिलो अवसर पनि गुम्यो।
अमेरिकन न्यायाधीशले अङ्ग्रेजीमा मन्त्र पढेर बिहे गराएको आँखैले हेर्न जुरेन। कोर्ट म्यारेजपछि घरमा बेहुली भित्र्याइएको छ। बेहुलीलाई सिँदुरपोते लगाइएको छैन। किनभने हिन्दु परम्पराको विवाह संस्कार अनुकुल समय मिलाएर पछि नेपालमै गएर गर्ने योजना छ। सांस्कृतिक बिहे नभए पनि रौनक भने उस्तै अब्बल छ।
मेरो दिमागले एक छिन सोचिरहेको छ कि यो संसार कति बदलिएको छ। पहिले कानुनी बिहे, घरजम, अनिपछि अनुकूलमा संस्कार र परम्परा। जे भए पनि बिहेकै दिन बेलुका धमाकेदार पार्टी छ। कोर्ट म्यारेजका भिडियोहरू स्क्रिनमा हेर्दा गजब रमाइलो भइरहेको छ। बिहेका मगनीका तस्बिरहरू देखाइँदै छ।
चर्चका ब्याकग्राउन्डमा खिचिएका ती फोटाहरूमा बेहुलाले सुटटाई र बेहुलीले निक्खर सेतो लमतन्ने स्पेसल गाउन लगाएका छन्। बेहुलाले निहुरिएर गुलावको फूल दिँदै गरेको दृश्य छ। लुकाएर राखेको वेडिङ रिङ याने कि स्वयम्वर औँठी साटिँदै छ। तर यहाँनजिक संशय नहोस् कि बेहुलाबेहुली क्रिस्चियन थिए भनेर।
मेरा भतिजा र भतिजाबुहारी विशुद्ध नेपालमै जन्मेका नेपाली हुन् र पूरापूर हिन्दु हुन्। तर त्यो चर्चमा पुगेर मगनीको फोटो खिच्नु फेसन हो रे। उनीहरूको घर भएको ठाउँबाट त्यो चर्च पुग्न झन्डै १०० माइलको दूरी पो रहेछ। मान्छे मगनीको फोटो खिच्नकै लागि सो चर्चमा जाँदा रहेछन्।
धार्मिक आस्थाको कुनै कुरा होइन रहेछ। चर्च फेसन मात्र। यहाँनजिक मान्छे उदार धार्मिक र अन्तर्राष्ट्रियवादी पनि हुँदै गएको हो कि भन्ने विषय मेरा दिमागमा उठेको छ। मान्छे अन्तर्राष्ट्रियवादी हुन्छ भन्ने कुरा चरितार्थ हुँदै गएको जस्तो लाग्दै छ।
यो भावना अमेरिकाको उन्नयनका लागि निकै सहयोगी भयो होला भन्ने लागेको छ मलाई यति बेला। विविध देशका विविध मान्छेका बिचको बिहेबारीलाई स्वाभाविक गतिमा हिँड्न दिएको हुनाले सायद यस्तो भएको होला। र बिहे भनेको केटाकेटीको निजी तथा वैयक्तिक कुरा हो भन्ने ठान्न नसक्दा नेपालमा ज्यानै जाने सजाय पाएका जोडीको कुरा पनि मेरा दिमागमा आइहाल्यो। यो कुरा सम्झनेबित्तिकै मन अमिलो भइहाल्यो।
जे भए पनि बिहेको लेठो सकेर परिवारजन आफ्नै बासस्थान सान मार्कोस फर्केका छन्। म भने ओक्लहोमाको यात्रामा जाने चाँजोपाँजो मिलाउन थालेको छु। आखिर फेरि पनि बलियो भनेको समय न हो। चाँजो र परिवन्दले गर्दा ओक्लहोमा जाने दिन १६ तारिक मात्र जुरेको छ।
यस बीचमा कथाकार कृष्ण कुसुमको सायंकालीन आतिथ्यमा रमाउने अनुकुल परेको छ। कृष्ण कुसुम तथा गणेश घिमिरेले सम्पादन गरेको ‘परदेशका कथा’ नामक कथासङ्ग्रहमा अन्तिम अवस्थामा मेरो डायस्पोरिक कथा ‘स्वप्न दोष’ नचिनीकनै कृष्ण कुसुमले समावेश गरिदिनु भएको थियो।
यसै क्रममा नेपालका मेरा गाउँले भाइ विजयराज भट्टराईकै निवासमा नै केही व्यक्तिगत केही साहित्यिक भलाकुसारी भयो। मजा त यो थियो कि कृष्ण कुसुम र विजयराज भट्टराई दुवै अमेरिकामै जागिर र जेथो जोडेर बसेका घागडान इञ्जिनियर हुन् र साहित्यसाधनाका कुशल पारखी योद्धा हुन्।
१६ तारिक ओक्लहोमातिर लागेका छौँ भाइ सुरेश र म। बाटैमा पर्ने डेन्टननजिकै पुगेर पङ्कज अर्याल तथा दीप्ती दम्पतिलाई भेट्नु छ। २००१ मा म पहिलोपल्ट अमेरिका आउँदा मेरो टेक्नेसमाउने कोही थिएन। त्यो बेला साथीको सालाको मात्र साइनोका आधारमा उनीहरूबाट मैले जुन टेकाइसमाइ पाएँ, त्यो म कुनै मूल्यमा पनि बिर्सन सक्दिनँथेँ।
यो भेटपछि ओक्लहोमातिर हानिएका छौँ। टेक्सस राज्य छोडेर ओक्लहोमा राज्य प्रवेश गर्दै छौँ। बोर्डरमै एक ठूलो क्यासिनोको भव्य भवन देखिएको छ। टेक्सस राज्यमा क्यासिनो तथा म्यारिओना (गाँजा) सेवनमाथि बन्धेज लगाइएकाले टेक्ससका मान्छेहरू जुवा खेल्न र म्यारिओना किन्न यही ओक्लहोमा आउने कुरा थाहा पाएर म झन् अचम्मित बनेको छु। एउटै देश अमेरिकाको अलगअलग राज्यमा अलगअलग कानुन भएकाले नेपालका प्रदेश राज्यहरूलाई सम्झेँ। अमेरिकाको यस्तो पाराको नक्कलले नेपालमा कसरी चल्छ होला प्रशासन। सायद नेपालमा बेकार पो छ कि यो सङ्घीयता।
किनभने अमेरिकाको पचास राज्य मध्ये एउटै राज्य टेक्सस भौगोलिक रूपले नेपालको कुल भूमिभन्दा झण्डै साढे छ गुना ठूलो छ। जनस्ख्याको विविधताको कुरा गर्दा सायद संसारभरिका मान्छेहरूले यो टेक्ससमा समुह याने आफ्नो सांस्कृतिक समाज बनाएर बसेका छन्। आआफ्ना रीतिरिवाज मानेर बसेका छन् भने नेपालको जातिगत विविधता भन्नु पनि त्यही एक सयको हाराहारी न हो। त्यो पनि जातिमाथि उपजाति गणना गरेर न हो।
ओक्लहोमाको नोर्मन पुग्दा दिउँसोको ३ बजिसकेको छ। साहित्यकार विश्वराज अधिकारी सर हाम्रो स्वागतका लागि तम्तयार भएर बसिरहनु भएको छ। एक छिनको भलाकुसारीपछि हामी ओक्लोहामा सिटीको डाउनटाउन तथा रिभरवाकको यात्रामा निस्केका छौँ। सहरको बिचबाट नहरजस्तो नदी बगाइएको छ। त्यसका छेउछाउमा धेरै रेस्टुरेन्ट छन्। पानीमा वाटरबोट चलाइँदो रहेछ। तर कोरोना कहरका कारणले भने केही छोडेर करिबकरिब सबै रेस्टुरेन्ट बन्द रहेछन्। रिभर वाकका पेटी उजाड देखिँदै छन्। विश्वराज सर भन्दै हुुनुहुन्छ, ‘कोरोना नहुँदा यहाँ खुट्टा हाल्ने ठाउँ हुँदैनथ्यो।’
हामी ओक्लहोमाको ब्रिकटाउनमा छौँ। चोकका वरिपरि सबै भवनहरू एक रङा ईँटाले बनेका रहेछन्। ईँटामा सूर्य चम्किएर एउटा सुन्दर दृश्यको निर्माण भइरहेको छ। रिभर वाकका छेउमा तथा सहरभरि ओक्लहोमाका आदिवासीको इतिहास, संस्कृति तथा सभ्यतालाई जोगाएर राख्न सालिकहरू बनाएर राखिएको रहेछ। रिभर वाकमा हिँडिरहँदा एका ठाउँमा त्यो ताका आदिवासीले युद्ध गर्दा अपनाइने युद्धप्रविधि घोडा युद्धका प्रतीक सालिकहरू देखिएका छन्।
युद्ध गर्दैगरेको, युद्धमा घोडा मारिएको, युद्ध सरदार आदेश दिँदै गरेको आदि आदि देखाइएका लस्कर सालिकहरू देखेर आनन्दानुभूति भएको छ। यसले अमेरिकाको काउब्वाय सभ्यताको प्रशर्दन गरिरहेको छ। दर्जनौ मूर्तिहरू तथा सालिकहरू काँसका हुन् रे। अमेरिकाको इतिहासमा काउब्वायहरूले घोडचढीमा अब्बल दक्षता हासिल गरेकाका रूपमा मान्यता पाएका थिए।
रिभर वाककै एकाछेउमा एउटा आदिवासी छेलो हान्ने जस्तो एउटा बडेम्माको गोलो ढुङ्गोलाई मास्तिर ठेल्दै गरेको मूर्तिले ध्यान खिच्यो। यसले जिन्दगीमा लगातार परिश्रमको महत्त्व बुझाउँदै होला भन्ने अनुभूति भयो।
मूल बजार डाउनटाउनको मध्यभागमा जताततै आदिवासीका सालिक बनाइएको देखेपछि अमेरिकीको इतिहास चेतलाई मैले नमन गरेको छु। इतिहासको गौरव भनेको निकै अमूल्य सम्पत्ति हो, जसलाई वर्तमानको भौतिक वैभवले किन्न सक्दैन। जुन देशले आफ्नो इतिहासलाई संरक्षण र सम्वर्धन गर्यो त्यो देश साँच्चीकै वैभवशाली हो।
डाउनटाउनको भीमकाय भवनका छेउमा उभिएर फोटो खिचेका छौँ र विश्वराज सरको घरमा फिर्ता भएका छौँ। उहाँको चिटिक्क परेको सानो घर छ। त्यही पनि त्यो घर उहाँहरूलाई टुँडीखेल जत्रै भएको छ। दुई बुढाबुढी टक्य्राकटुक्रुक बस्नु पर्ने बाध्यता छ। उहाँका दाजुभाइ छोराछोरी भने अमेरिकाकै अन्य सहरमा बस्छन्।
उहाँले हाम्रो सत्कारका लागि जङ्गलमा पालेको जङ्गली कुखुराको रुस्टर भालेको व्यवस्था गर्नु भएको रहेछ। उहाँको सत्कार अन्तर्यलाई हामी दुवै दाजुभाइले निकै अब्बल ठान्यौँ। यो सत्कार्य अन्तर्य सायद नेपालीपन, मिथिलापन र अन्तरहृदयको त्रिवेणी थियो।
रात अबेरसम्म गफिएर बसेका छौँ। र, निदले गर्दा सुतेका छौँ।
बिहान उठ्ता झलमल्ल घाम लागिरहेको छ। उहाँले नोर्मनमै रहेको ओक्लहोमा विश्वविद्यालय हेर्न जाने प्रस्ताव गर्नु भएको छ। विश्वविद्यालय मूल सहरकै बिचमा असाध्य धेरै जग्गा ओगटेर बनाइएको रहेछ। विविध भवनका बिचबिचमा विद्यार्थी हिँड्ने पक्की बाटो तथा हरियाली देखियो। लागिरहेको छ कि जङ्गलका बिचमा बनेको छ यो विश्वविद्यालय।
विश्वविद्यालयभित्र हिँड्दै जाँदा प्राङ्गणमा इतिहास सम्झाउने खालका आदिवासीका सालिकहरू तथा सो विश्वविद्यालयलाई योगदान दिने व्यक्तिका सालिकहरू यत्रतत्र देखिएका छन्। विश्वराज सर अथ्र्याउँदै हुनुहुन्छ, ‘ओक्लहोमा राज्यको निर्माण हुनुभन्दा पहिले यहाँ चेरोकी नामक आदिवासीको राज्य थियो।
चेरोकी भनेको नेटिभ अमेरिकनहरूको एउटा ट्राइब हो। त्यो बेला नेटिभ अमेरिकनहरूका अनेकन ट्राइब थिए। यिनै चेरोकीहरूले चेरोकी राज्यको निर्माण गरेका थिए। जसको नाम अमेरिकी इतिहासमा चेरोकी नेसन थियो। ओक्लाहोमा राज्यको निर्माण भएपछि यी चेरोकीहरूले राज्यबाट विशेष सुविधा पाएका छन्।
हाल उत्तरी ओक्लाहोमामा झण्डै डेढलाख आदिवासी बसोबास गर्छन्। राज्यले यिनीहरूलाई स्वास्थ्य, मानवसेवा, शिक्षा, रोजगारी, हाउजिङ, आर्थिक तथा पूर्वाधारका लागि पूरापूर सहयोग गर्ने गरेको छ।’
हिँड्दै जाँदा विश्वविद्यालयको पुस्तकालय भवन आयो। सो भवनको अगाडि एउटा अग्लो घण्टाघर छ। सो घण्टाघरमा चढ्न बिचमा एउटा अनौठो प्वाल देखिएको छ, जसबाट घण्टाघरको भित्र पुगिन्छ रे। विश्वराज सरले दिएको सूचनाअनुसार पुस्तकालयको जमिनमुनी ३ तला पार्किङ छ। यद्यपि हामीसँग पुस्तकालयभित्र गएर हेर्ने समय छैन। तर पुस्तकालयको टेकाइ मात्रले पनि मन फुरुङ्ग भएको छ।
त्यसपछि हामी विश्वविद्यालयको अन्तर्राष्ट्रिय अध्ययन कलेजका अगाडि आइ पुग्यौँ। सो भवनको अगाडि पारसी (इरानी) कवि ओमार खैयामको श्वेत मार्वलको सालिक छ। ओमार खैयामको नाम सुन्नेवित्तिकै नेपाली साहित्यमा प्रयोग भइरहेको चार हरफको विशेष कविता मुक्तकलाई सम्झन पुगेको छु। संसारभरिका साहित्यमा मुक्तक शैलीको कविताको प्रादूर्भाव गर्ने विशेष विद्वान ओमार खैयामलाई नसम्झने कुरा नै थिएन।
ओमार खैयामको त्यो श्वेत सालिकलाई एकोहोरो हेरिरहेको छु म। सालिक निक्खर सेतो मार्बलमा बनेको छ। शिरमा फारसी फेटा, लामो कपाल, लामा दाह्री, फारसी स्टाइलको कुर्ता सुरुवाल, सेतै जुत्ता, बस्ने ठाउँमा खुट्टा झुण्डाएर बसेको, चिन्तन मुद्रामा बसेको, दाहिने हातले काखमा ग्लोबलाई समाएको, देब्रे हात च्युँडोमा लगेर चिन्तनमुद्रामा बसेको, सालिकको आधार भूमिमा खैयामका रुवैयातहरू अङ्ग्रेजी तथा फारसीमा लेखिएको, सालिककै छेउमा पाना फर्काइएको पुस्तक आदि प्रष्टै देखिन्छ। सालिकमा विशुद्ध फारसी अनुहार देखिन्छ। लगभग ७ फिट अग्लो त्यो सालिकको मोटामोटी फेहिरिस्त यस्तै देखिन्छ। श्रद्धाले हेरिरहूँ जस्तो लागिरहेको छ मलाई।
श्वैत सालिकलाई देखेपछि एक प्रकारले भन्ने हो भने अचम्म लागेको छ। अमेरिकी विश्वविद्यालयका अगाडि इरानका कवि ओमार खैयामको भव्य सालिक ! अमेरिका र इरान जुधेको धेरै नै भएको छैन। विश्व राजनीतिक सन्दर्भमा अमेरिका र इरान दुष्मन थिए। अनि कल्पना गर्न थालेँ -यदि नेपालमा भए त्यो सालिकलाई के गर्दा हुन् ? र एउटा निष्कर्षमा पुगेँ कि आफ्नै नेपाली पृथ्वीनारायण शाहको सालिक त फोड्ने कथित बहादुर क्रान्तिकारीको नेपालमा कुनै कमी छैन।
देवकोटाका सालिक त भत्काउने कथित अमानुष राष्ट्रवादी नेपालमै भेटिन्छन्। भने यस्तो मुसलमान कविको सालिकलाई त एक गाँस पार्दा हुन् नेपाली कथित वीरहरूले। फेरि त्यही सालिकलाई समाएर सोचिरहेको छु कि देशले राजनीतिक अभिष्टका लागि जुध्दैमा सभ्यता, संस्कृति तथा कला पनि जुध्छ वा जुध्नु पर्छ भन्ने कुरा होइन रहेछ।
यही क्षणमा ओमार खैयामका प्रति भाव विभोर भएको छु। उनको विद्वता शत्रुदेसमा पनि पुजिनु ‘कवि सर्वत्र पूजयेत्’ भन्ने आदर्शको उदाहरण हो। ओमार खैयामको बारेमा थप कुरा जान्न मन लागेको छ। यही सालिकको बारेमा बुझ्न मन लागेको छ।
शिलालेखहरूमा उनको तथा यो सालिकका बारेमा धेरै कुराहरू लेखिएको छ। विश्वविद्यालयभित्र यो सालिक स्थापना भएको कुरा त्यति पुरानो पनि होइन रहेछ। बुधबार मार्च ३०, २०१६ मा यही ओक्लहोमा विश्वविद्यालयमा स्थापना भएको रहेछ।
ओमार खैयामको जन्म १०४८ मा तथा मृत्यु सन् ११३१ मा फारस हालको उत्तरी इरानको निशावर भन्ने ठाउँमा भएको भनिन्छ। संसारभरिका विज्ञपाठकलाई थाहा नै होला कि विश्वको ज्ञान भण्डारमा उनको ज्ञान प्रमुख हिस्सेदार रहँदै आएको छ।
उनी पर्सियन दार्शनिक, वैज्ञानिक, म्याथेम्याटिसियन, खगोल शास्त्री, थ्योरी अफ प्यारालल, रियल नम्बर कन्सेप्ट, जोमेट्रिक अलजेब्रा, सोलृुसन अफ क्वीविक इक्वेसन्स, बायोमिनल थ्योरम, एक्सट्राक्सन अफ रुट पत्ता लगाउने वैज्ञानिक हुन्।
म एकोहोरिएर सो सालिक नै हेरिरहेको छु। एघारौँ शताब्दीको त्यो मान्छे याने कि ओमार खैयामको वैज्ञानिक व्यक्तित्वसँग वशीभूत हुँदै छु। बहुमूखी प्रतिभासँग म अचम्मित हुँदै छु। तत्कालीन पर्सियन सभ्यताको उच्चताका बारेमा सोचेर म विभोर भइरहेको छु।
त्यो बेला सायद पर्सियन सभ्यता संसारकै अब्बल थियो होला जस्तो लागेको छ। संसारका सभ्यताहरूमा पर्सियन सभ्यताको योगदानलाई कसैले न्युनीकरण पनि त गर्न सक्दैन नि।
भनिएको छ कि यो सालिकको निर्माण माड्रिडबाट विद्यावारिधि गरेका इरानियन मूर्तिकार हुसैन फकिमीले इरानमै बनाएका थिए। इरानबाट नै यसलाई अमेरिका ल्याएर ओक्लहोमा विश्वविद्यालयमा स्थापना गरिएको हो। फकिमीले ओमार खैयामका उस्तै सालिक जम्मा ३ वटा बनाएका थिए रे। जसमध्ये एउटा उनको जन्मस्थान निशावरमा अर्को इटलीको फ्लोरेन्समा र तेस्रो यही ओक्लहोमामा स्थापना गरिएको हो रे।
ओमार खैयामको सालिक भएको ठिक पछाडि एउटा ठूलो र राम्रो भवन देख्दै छु। यो अन्तर्राष्ट्रिय अध्ययन केन्द्रको गल्फ र पर्सियन भाषा, साहित्य, संस्कृति तथा समग्र सम्बन्धको अध्ययन केन्द्रको भवन रहेछ। सो केन्द्रका अगाडि एउटा ठूलो साइनबोर्ड राखिएको छ। जसमा फरजनाह फ्यामिली फाउन्डेसनको योगदानको चर्चा गरिएको छ। आश्चर्य तथा वशीभूत हुने कुरा के छ भने फरजनाह फ्यामिलीले मिलियनौँ डलर विश्वविद्यालयलाई दान दिएर यो गल्फ तथा पर्सियन अध्ययन केन्द्र निर्माण गर्न सहयोग गरेका रहेछन्।
यही साइनबोर्डमा युगौँयुगसम्म बाँचिरहने तथा फरजनाह फ्यामिली फाउन्डेसनको स्थापना गर्ने इरानी दाजुभाइ महमद फरजनाह तथा जलाल फरजनाहको दानशीलतालाई हृदयदेखि नमन गरेको छु। उनीहरू सन १९७८ मा इरानबाट अमेरिकाको ओक्लहोमा विश्वविद्यालयमा आर्किटेक्चर पढ्न आएका विद्यार्थी पो रहेछन्। विश्वविद्यालयबाट ब्याचलर र मास्टर पास गरेपछि उनीहरू फर्केर इरान जान सकेनन्। गएनन्।
ओक्लहोमामा नै स्थापित घर व्यवसायी पो भए रे। आय आर्जन गरेपछि उनीहरूले आफू पढेको विश्वविद्यालयलाई मिलियनौँ डलर दान दिए छन्। यो दान सो विश्वविद्यालयमा पर्सियन गल्फ अध्ययनका लागि दिइएको रहेछ।
फर्जनाह फ्यामिली सेन्टरले इरान तथा फारसी सभ्यताको अध्ययनअध्यापन, अनुसन्धान तथा अन्य क्रियाकलाप सामाजिक जीवन, इतिहास, संस्कृति, भाषा, साहित्य, राजनीतिका लागि पुरस्कार छात्रवृत्ति जस्ता महत्त्वपूर्ण काममा सहयोग दिइआएको छ।
यसबाहेक यही दानराशीबाट पर्सियन भाषाका लागि सभासेभिनार, कार्यशाला, फिल्म निर्माण र प्रदर्शन जस्ता काम पनि हुँदै आएको छ। उनीहरूको यो दानकार्य तथा ओमार खैयामको सालिक स्थापना भएको कार्यलाई विश्वविद्यालय प्रशासनले संसारका अनेकौँ देशहरूमा पुर्याएको छ। संसारका विविध समाजका जनता तथा विश्वज्ञानको बिचमा समझदारी, विश्वास तथा अन्तर्राष्ट्रिय भाइचाराको उदाहरण ठानेर सम्मान गरेको छ।
मलाई सबैभन्दा अचम्म तथा आनन्द लागेको विषय भनेको कुरा खैयाम आफ्नो जन्मस्थानमा आफ्ना वैज्ञानिक उपलब्धिका कारणले प्रसिद्ध भए। तर अङ्ग्रेजी लेखक इडवार्ड फिजजेराल्डले सन १८५९मा खैयामका रुवैयातहरूलाई अङ्ग्रेजीमा अनुवाद गरेर ‘द रुवियात अफ ओमार खैयाम’ प्रकाशन गरेपछि भने संसारको साहित्यिक दृश्य नै परिवर्तन भयो। ओमार खैयामले लेखेका चार पङ्तिका रुवैयातलाई अङ्ग्रेजीमा क्वाट्रेन्स भनियो।
त्यसपछि भने संसारभरि खैयामको व्यक्तित्व रुवियात वा रुवैयात वा मुक्तक वा रुवाइयाँ को स्थापनाकर्ता घागडान कविको रूपमा स्थापित भयो। अहिले संसारमा खैयामलाई उनका अनेकौँ वैज्ञानिक उपलब्धिले भन्दा रुवैयातको पिताका हैसियतले चिनिन्छ। संसारका अनेकौँ भाषामा उनका रुवैयातको अनुवाद भएको छ।
ओमार खैयामले लेखेका १००० भन्दा बढी चार हरफे कविताले उनलाई संसारमा अमर बनायो। संसारभरिका सबै देश, सबै भाषा, सबै संस्कृति तथा साहित्यमा ओमार खैयामको यो रुवियातका पिताको व्यक्तित्व अग्लिएर बसेको छ।
ओमार खैयामको मृत्यु (सन् ११३१) भएको चारसय उन्नाइस वर्षपछि (१८५९ सन) मा इडवार्ड फिजजेराल्डलले अनुवाद गरिदिएकाले ओमार खैयाम रुवियातका पिता कहलिएका हुन्। नत्र त के भन्न सकिन्थ्यो र ? यही बुँदमा म लक्ष्मीप्रसाद देवकोटाको के नेपाल सानो छ ? भन्ने निबन्ध सम्झिरहेको छु। अवसर नपाए प्रतिभा पनि त खुम्चिएर बस्दो रहेछ।
विश्वविद्यालयको अन्तर्राष्टिय अध्ययन केन्द्रका अगाडि रहेको ओमार खैयामको सालिकका साथ फोटो खिचेर हामी विश्वराज सरको घर फर्केका छौँ। सरको धेरै आग्रहका बाबजुद हामीले केही खान सकेनौँ। र फर्केका छौँ फोर्टवोर्थ।
फोर्टवर्थमा बेलुका ५.३० का समयमा स्रस्टा साँझ अमेरिकाका प्रभातमणि दीक्षित, कवि भगवती पौडेल तथा कवि बैकुण्ठराज आचार्यलाई भेट्यौँ। आआफूले लेखेका पुस्तक उपहार साटासाट गर्यौँ। र, १८ तारिक शनिबारका दिन अमेरिकामा व्यापारका माध्यमले दामनाम कमाएका गौरी जोशीलाई भेटेर आफ्नो निवास सान मार्कोसतिर लागेको छु।
घर पुगेपछि थाकेर पर्लक्क पल्टेको छु। आँखाभित्र ओक्लहोमा यात्रा टुप्लुक्क आइपुगेको छ। आदिवासी र ओमारका सालिकहरूले एउटा युग बताएका छन्। यो यात्राको सम्झनाको तरङ्ग मात्रले पनि फेरि म रोमाञ्चित बन्न पुगेको छु। जीवन भन्नु एउटा यात्रा मात्र हो। जब म हिँडिरहन्छु, मेरो जीवन मसँगै हिँडिरहन्छ।
म भौतिक वा अभौतिक बिसाएँ भने त्यो पनि बिसाउँछ। मनमा त्यसै त्यसै लागिरहन्छ कि मेरा आफन्त, शुभेच्छुक तथा साथीभाइ सबै यही यात्रामा भेटिएका बटुवा हुन्। यो एउटा यात्रा छिचल्नु छ। जीवन भन्नु त्यत्ति हो। यात्राको पटाक्षेप जीवनको मैझारो हो। मेरा दिमागभरि यस्ता घोर निराशावादी कुरा आइरहेका बखत म प्रकृतिलाई हेर्छु। यस्तै यात्रालाई सम्झन्छु।
यति बेला भने मेरा आँखामा समग्र ओक्लहोमा आएर बसेको छ। तर आँखाको नानीभित्र भने ओक्लाहोमाका आदिवासी नेटिभ अमेरिकनको सभ्यता, व्यवस्था तथा इतिहास घुमिरहेको छ। त्यही नानीभित्र एघारौ शताब्दीका पर्सियन महाविद्वान ओमार खैयामको कवित्व शक्तिलाई नमन गर्दै लोलाएको छु। त्यो कवित्व सोच जहाँ जीवन, हृदय, प्रेम, त्याग तथा प्रणयान्मुख सूत्रहरू छताछुल्ल पोखिएका छन्। र यही बुँदामा सोच्दैछु – के म जीवन लेख्न सकूँला ? के म प्रेममय संसार लेख्न सकूँला ?
Facebook Comment