आइपीएलमा कुनै बंगलादेशी खेलाडी किन बिकेनन् ? दुई देशको विवादको यसमा के भूमिका छ ?
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा बंगलादेशका कुनै पनि क्रिकेटर खेल्ने छैनन् । सन् २०२० पछि बंगलादेशका कुनै पनि क्रिकेटर आईपीएलमा सहभागी नभएको यो पहिलो पटक हो ।
बंगलादेश र भारतबीचको सम्बन्धमा अविश्वासको माहौल हुँदा कुनै पनि बंगलादेशी खेलाडीले आईपीएलका लागि छनोट भएनन् । यस्तो अवस्थामा कतिपयले यसलाई दुई देशबीचको तनावसँग पनि जोडिरहेका छन् ।
सामाजिक सञ्जालमा दक्षिणपन्थी विचारधारासँग सम्बन्धित केही व्यक्तिले यसलाई मोदी सरकारसँग जोडिरहेका छन् ।
एक प्रयोगकर्ताले लेखेका छन्, ‘बंगलादेशमा हिन्दूहरूमाथि जे भइरहेको छ, त्यसलाई हेरेर आईपीएलका टिमका मालिकहरू बंगलादेशी खेलाडीका लागि बिडिङमा सचेत थिए ।’ कतिपयले यसलाई आईसीसी अध्यक्ष जय शाहको निर्णय भनेका छन् ।
२०२४ को आईपीएलमा एकमात्र बंगलादेशी खेलाडी मुस्ताफिजुर रहमानले स्थान पाएका थिए। मुस्ताफिजुरले चेन्नई सुपर किंग्सका लागि ९ खेल खेलेका थिए ।
२०२५ को आईपीएल लिलामीका लागि १५७४ खेलाडीहरूले दर्ता गरेका थिए। जसमध्ये १० टोलीबाट ५७४ खेलाडी छनोट भएका छन् । यी ५ सय ७४ खेलाडीमध्ये २०८ विदेशी थिए ।
आईपीएल विश्वभरका क्रिकेटरहरूका लागि आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर हो। तर, पाकिस्तानी क्रिकेटर भने यसमा सहभागी छैनन् । आईपीएल २००८ मा सुरु भयो र पाकिस्तानका खेलाडीहरूले पहिलो सिजनमा मात्र भाग लिए।
सन् २००८ मा मुम्बईमा चरमपन्थी हमला भएको थियो र त्यसपछि दुई देशबीचको राजनीतिक सम्बन्धबाहेक अन्य सम्बन्धमा पनि नराम्रो असर परेको थियो । यसैका कारण क्रिकेटसँग सम्बन्धित सम्बन्ध पनि ट्र्याकबाट बाहिर गएको थियो।
त्यसयता बीसीसीआईले पाकिस्तानी खेलाडीलाई आईपीएलबाट निष्कासन गरेको थियो ।
सन् २०२५ को आईपीएलको लिलामीका लागि बंगलादेशका १३ खेलाडीले दर्ता गरेका थिए । तीमध्ये दुईजना मात्रै रिशाद हुसेन र मुस्तफिजुर रहमानलाई सर्टलिस्ट गरिएको थियो तर दुवैले लिलामीमा चासो पाएनन् ।
रिशादले आईसीसी टी–२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै १४ विकेट लिएका थिए । यो प्रदर्शनपछि उनी विश्वको नजरमा आए तर भारतसँगको तीन टी–२० म्याचको शृङ्खलामा तीन विकेट मात्रै लिन सके । सायद यो प्रदर्शन उनको विरुद्ध गयो।
तर मुस्ताफिजुरलाई नलिइनु अलि अचम्मको थियो। मुस्ताफिजुरले आईपीएलका सात सिजन खेलिसकेका छन् र पाँचवटा विभिन्न टोलीसँग खेलेका छन्। पछिल्लो आईपीएलमा उनी चेन्नई सुपर किंग्ससँग थिए र ९ खेलमा १४ विकेट लिएका थिए । उनको आधार मूल्य २ करोड थियो तर कसैले बोली लगाएनन् ।
मुस्ताफिजुर रहमानको दुर्भाग्यका कारण लिलामीको दोस्रो दिन उनको नाम आयो र त्यतिन्जेल सबै फ्रेन्चाइजीहरूको अधिकांश रकम खर्च भइसकेको पनि बताइन्छ । यसबाहेक, उनलाई पछिल्लो आईपीएलमा बीचमा बोलाइएको थियो र यो पनि उनको विरुद्ध गएको हुन सक्छ।
बंगलादेशका शकिब अल हसन लामो समयदेखि आईपीएलको हिस्सा रहेका छन् । गत वर्ष मिनी लिलामीमा उनको लागि कसैले बोली लगाएन र यो वर्ष उनी सर्टलिस्ट पनि भएनन् ।
बंगलादेशका कुनै खेलाडीले आईपीएलमा स्थान बनाउन सकेनन् तर अफगानिस्तानका खेलाडीहरू लिलामीमा निकै लोकप्रिय थिए।
बंगलादेशका खेलाडीहरू आईपीएलको शुरुवातदेखि नै यसको हिस्सा बनेका छन्। अफगानिस्तान सन् २००७ मा आईसीसीको सदस्य पनि थिएन ।
आईपीएलको १८ औँ सिजन बंगलादेशी खेलाडीबिना हुने छ भने अफगानिस्तानका ७ खेलाडीसँग सम्झौता भएको छ ।
आईपीएलमा कुनै पनि बंगलादेशी खेलाडीको अनुपस्थितिले उनीहरु टी–२० क्रिकेटमा पछि परेको देखाएको बताइएको छ ।
बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) का निर्देशक नजमुल अबेदिन फहिमले आफ्ना खेलाडीका लागि बोली नआएपछि क्षमताका आधारमा मात्रै आईपीएलमा प्राथमिकता दिइने बताएका छन् ।
फहिमले अफगानिस्तानका खेलाडीमा फ्रेन्चाइजी क्रिकेटमा ठूला इनिङ खेल्ने क्षमता भएकाले प्राथमिकता पाएको बताए ।
बंगलादेशको अंग्रेजी अखबार डेली स्टारका अनुसार फहीमले बुधबार भने, ‘व्यक्तिगत रूपमा म दुःखी छु। हाम्रो गुणस्तर धेरै सामान्य छ। यदि हामीले विश्वव्यापी मञ्चमा स्थान पायौं भने हामी त्यसको योग्य छौं र यदि हामीले स्थान पाएनौं भने हामी त्यसको योग्य छैनौं। हामी हाम्रा खेलाडीहरूलाई फ्रेन्चाइज लिगका लागि बाध्य पार्न सक्दैनौं। योग्यता र क्षमता भएमा छनोट हुनेछ ।’
फहिमले भने, ‘हामीले गत वर्ष मौका पाएका थियौं तर त्यो गुमाउनु पर्यो । हामीले अवसरको सदुपयोग गर्न आवश्यक छ जस्तो लाग्छ। आइपिएलमा अफगानिस्तानका खेलाडीको संख्या बढ्दै गएको छ भने हामी उल्टो दिशामा गइरहेका छौं ।’
अहिले भारत र बंगलादेशबीचको सम्बन्धमा ठूलो अविश्वासको वातावरण छ । चटगाउँको इस्कन मन्दिरका चिन्मय कृष्ण दास ब्रह्मचारीलाई देशद्रोहको मुद्दामा मंगलबार जेल पठाइएको छ ।
यसपछि भारतले एक विज्ञप्ति जारी गर्दै चिन्ता व्यक्त गर्दै पछिल्लो समय बंगलादेशमा हिन्दूलगायत अन्य अल्पसंख्यकमाथि आक्रमण बढेको बताएको थियो ।
बंगलादेशले भने यो आफ्नो आन्तरिक मामिला भएको बताएको छ । बंगलादेश सरकारका जनताले भारतीय मिडियालाई पनि निशाना बनाएका छन् र भारतीय मिडियाले बंगलादेशको अन्तरिम सरकारको बारेमा कुप्रचार गरिरहेको आरोप लगाएका छन् ।
बुधवार, बंगलादेशको युवा तथा खेलकुद मन्त्रालयका सल्लाहकार आसिफ महमूद शोजिब भुइयाले बंगलादेशको स्वतन्त्रता र सार्वभौमसत्तामा खतरा पैदा गर्ने जो कोहीलाई पनि कडा भन्दा कडा कारबाही गरिने बताएका थिए।
Facebook Comment