कथा : मौन धारण
हिउँदको समय, शितलहरले वातावरण धुम्म छोपेको छ। चिसो नि बढेको बढ्यै छ। पहाडबाट तराई झर्नेको लर्को लाग्छ आजभोलि। तर, सिताकी साथी कमला भने तराई माइतीघरबाट पहाड आफ्नो घर जाँदैछिन्।
केही दिन पहिले सिताकै घरमा बास बसेर माइतीघर जाडो छल्न गएकी कमला छिट्टै फर्केको देख्दा सीता अचम्म पर्छिन् र सोध्छिन्।
अहो! कमला तिमी त केही दिनमै यति छिटो फर्क्यौ ? जाडो छल्छु यसपालि भन्थ्यौं त।
हो, त्यस्तै सोचेर गएकी थिएँ। तर, मनले सोचे जस्तै त कहाँ हुँदोरहेछ र? घरमा हेर खबर गर्ने कोही छैन। सासू एक्ली हुनुहुन्छ। मैले छोड्दा त राम्रै हुनुहुन्थ्यो। एक्कासि बिमारी हुनुभएको खबर पठाउनुभयो। म त हेर न हतार-हतार फर्किएँ, कमलाले भनिन्।
एकछिन आराम गर अनि जानू भनिन् सिताले।
सिताको सामान्य व्यवहार देखेर कमलाले सोधिन्- सीता तिमीलाई आफ्नो आमाको खबर थाहा छैन?
आमाको खबर भन्ने बित्तिकै सीतालाई अनेक शंका उपशंका हुन थाल्यो। उनको मुटु चिसो भयो। के भएको आमालाई भनेर सोध्न थालिन्।
कमलाले भन्नै पर्थ्यो र सीताले सुन्नै पर्थ्यो, सीताकी आमाको देहावसान भएको खबर। कमलाको समेत मन पोलिरहेको थियो। यस्तो पीडादायी खबर सुनाउनु परेकोमा उनी साह्रै दुखी थिइन्। हुन त सीतालाई माइतका के नै पो खबरले खुसी बनाउँथ्यो होला र?
जुन खुसीहरूमा माइतीहरूले उनलाई खबर नै गर्दैनन्। सारा कुटुम्ब, इष्ट, मित्र, शुभचिन्तक, छिमेकी सबैलाई निम्ता दिएर गरिने विवाह, व्रतबन्ध, अनुष्ठानका काजबारमा उनलाई निम्ता दिइँदैनथ्यो। माइतीको खुसीमा खुसी भएर पनि खुसी हुन नपाइने, उपेक्षित बनाइदा उनले दुःखी नै भइरहनु परेको होला। दुःख र वियोगमा दुःखी हुनु त स्वाभाविक नै हो भन्ने लागेर कमलाले सीतालाई आमाको निधनको खबर सुनाई दिइन्।
कमलाले भनिन्- आज सात दिन भैसकेको छ। तिमीले थाहा पाएकी रै’नछ्यौं। आमा साह्रै याद गर्नुहुन्थ्यो तिमीलाई। समाजको डरले सबैलाई भन्न सक्नुहुँदैनथ्यो। एक दिन भन्नुभएको मलाई ‘यो जन्ममा सीतासँग भेट के होला खै? पुनर्जन्म भयो भने सीताकै आमा भएर जन्मिने धोको छ।’ पहाड उहाँको नन्दको घरमा जाने मौका पाइयो भने तिमीलाई जसरी भए पनि भेटाइदिनु भन्नुभाथ्यो। सीता ढुंगो जस्तै जडवत् उभिइरहेकी थिइन्।
कमलालाई हतार त थियो। जति सक्यो चाँडो आफ्नो घर पुग्नु थियो। बिरामी सासूको स्याहार गर्नु थियो। तर, उनले सीतालाई यस्तो अवस्थामा छोडेर जान उचित ठानिनन्। त्यतिबेला सीताको घरमा कोही थिएन। सक्दो सीतालाई सम्झाइन्, बुझाइन्। तर, सीताका आँसु किन सम्झिन्थे, किन बुझ्थे। दुःख परेको, पीडा भएको यी आँसुको जति कसले पो बुझ्थ्यो र? असीम शोकको पीडा आँखाबाट झरिरहे, व्यक्त भइरहे।
जति सम्झाउँदा पनि सीता हलचल नभएपछि कमलाले भनिन् म त जहिले पनि तिमीलाई दुःखी बनाउन त भेट्छु। जे खबर पनि तिमीलाई उपेक्षा र तिरस्कारको त हुन्छ नि उतातिरको।
कमलालाई दुःख नलागोस् भनेर सीता आफूलाई सामान्य बनाउने कोसिस गर्छिन्।
आमा सिकिस्त बिरामी परेको खबर त परै जाओस् आमाको मृत्युको दु:खद् खबर पनि थाहा नपाउने छोरी हुन सीता।
उनकी आमा बितेको खबर उनले सात दिनपछि मात्र थाहा पाइन्। मान्छेका हातहातमा मोबाइल फोन छन्। उनीसँग पनि एक सेट मोबाइल फोन छ। तर, उनको त्यो मोबाइल र उनको माइती गाउँतिर हातहातमा रहेका कुनै पनि मोबाइलले उनलाई उनकी आमा बितेको दु:खद् खबर सम्प्रेषण गर्ने काम गर्न सकेनन्। यस्तो हुनको लागि पुरै गाउँका मोबाइलको ब्याट्री डाउन भएर अवश्य होइन। तर, मोबाइल बोक्नेका मनको ब्याट्री यति विधि डाउन भएको रहेछ। त्यसैले त होला नि उनकी आमा बित्दा कसैले खबर पुर्याउन चाहेन।
आमा बुवा बिरामी पर्दा वा आमा बुवाको मृत्यु हुँदा सबैभन्दा पहिले छोराछोरीलाई नै यी पीडादायी खबर पुर्याउनुपर्छ। हाम्रा पारिवारिक, सामाजिक, सांस्कृतिक, धार्मिक, मूल्य, मान्यता र आस्था मात्र होइनन् रक्त नाताको सामीप्यता छोराछोरी बुवा आमाको भन्दा अरू को हुनसक्छ? कमला बोल्दै थिइन्।
तर, यो नाताको नैसर्गिक धरातलमा हुने प्रहार र अवरोध मान्छेका अति प्रिय, अति पूज्य, अति आदरणीय सम्बन्धलाई अवसान हुन बाध्य गर्दछन्। हाम्रा समीप या टाढा यो भूगोलको अनेकौं भूखण्डमा अनगिन्ती कैयौंपटक मान्छेका यी प्रियतम सम्बन्धको क्रूरतम अन्त्य गर्ने हामी समाज खोज्नेको उद्यतपन पशुताभन्दा पनि निम्न छ।
सहिरहेकी छन् उनले रक्त नाताको अवसान गराइएको असहनीय पीडालाई। मन फाटेको पीडा, मुटु चुँडिएको दुखाइ, कलेजो टुक्राटुक्रा हुँदाको नितान्त असहायपन भोग्ने अनेक नियतिलाई सुनेर, देखेर चित्त बुझाइन उनले पनि। अन्तरजातीय प्रेम विवाह एक बाहुनकी छोरीले गर्नु हुँदैनथ्यो भन्ने पश्चात्ताप सीतालाई कहिल्यै भएन। यतिका अपमान, घृणा, पारिवारिक र सामाजिक उपेक्षा, बहिष्करणले उनलाई रत्तीभर पनि गलाउन सकेनन्। अनेक प्रहारको सामना गर्दै समाजका अगाडि उनी चट्टान बनेर बेअसर उभिइरहिन।
यस्ता कठिन परिस्थितिमा उनको सबकुछ श्रीमान् नै थिए। सीताका श्रीमान्ले श्रीमतीलाई सम्झाउँदै भने विवाहले दुई जना महिला पुरुषलाई जीवन साथी मात्र बनाउँदैन। दुई परिवारलाई एउटा परिवार मात्र बनाउँदैन। नयाँ सम्बन्ध र नातालाई एकै छिनमा धेरै दह्रो र आत्मीय बनाउँछ। तिमी र मैले गरेको निर्णयले यी सम्बन्धभन्दा फरक र माथि भएर उच्चतम प्रभाव पारेको छ। उदाहरण मान्छन् हाम्रो गाउँमा तिमीलाई, प्रेरणाको खानी भन्छन् समाज परिवर्तनका अगुवाहरू तिमीलाई। आजसम्म भएका क्रान्तिमा होमिएका क्रान्तिकारी भनिएकाहरू पनि अन्तरजातीय विवाह गरेर सफल हुन नसकेको, बिछोड भएको अवस्था क्रान्तिपछिका दिनमा देखिँदा हाम्रो विवाह कुनै क्रान्तिभन्दा कम्ती गौरवपूर्ण छ र? भनेर श्रीमतीको ३० वर्ष पहिले गरेको निर्णयलाई सकेजति प्रशंसा नै प्रशंसा गर्छन्।
सीताका पति भन्छन्- मलाई लाग्दैन कि तिमीलाई तिम्रा दाजुभाइ, दिदीबहिनी, आमाबुवा, आफन्त, इष्टमित्र कुटुम्बसँग अलग गरे। मलाई लाग्दैन कि तिमीलाई जन्म घरसँग सदाका लागि टाढा, मिलन हुनै नसक्ने गरी टाढा पो गरेछु। हामीले त यो समाजले बनाएको विभेदको पर्खाल भत्काउन प्रयत्न गर्यौं। पाखण्डी, मानवीय चेतना र संवेदना रित्तिएको समाजलाई गर्दा हाम्रो विवाहले तिमीलाई दाजुभाइ, दिदीबहिनी, आमाबुवासँग सदाका लागि अलग गर्यो। त्यस्तो हुँदै होइन बरु एउटा कथित उच्च भनिने जातिले हेपिरहेको जातिका युवा र युवती पनि विवाह गरेर लोग्नेस्वास्नी बनेर जीवनको यात्रा सहजै विना कुनै मनमुटाब अगाडी बढाउन सक्छन् भन्ने सन्देश दिएको छ। विभेदको जरा उखेलिने गरी कमजोर बनाइदिएको छ। यति आँटिलो काम विना हिंसा गर्न सक्ने तिमी र म अनि हामी जस्ता विगत र वर्तमानका युवा युवतीले दुई जाति र समुदायलाई जोड्ने काम गरेका छौं। एक दिन आउनेछ। विभेद भत्किने छन्। वर्ण व्यवस्था समाप्त हुने छ। समानता मुस्कुराउने छ। यो युद्धमा मानवताले जितेको दिन तिमी र म जस्ताप्रति दुनियाँ अनुग्रहित हुनेछ। अनि हामीलाई उपेक्षा गर्नेदेखि किन दुःख, के को दुःख?
विवाह पश्चात् उनले बाहुनकी छोरी हुँ भन्ने बिर्सिसकेकी रहिछन्। आमा जीवित हुँदा नि उनका लागि पार्थिवतामा जीवित नाता व्यवहारमा मरिसकेको जस्तै थियो। आफ्ना दाजुभाइ आमाबुवासँग भेटघाट नभएको नि दुई दशक बढी बितिसकेको थियो। भेटघाट नहुनुको कारण केवल अन्तरजातीय विवाह नै हो। भेटघाट निषेधसम्ममा मात्र रोकिएन क्रूरतम व्यवहार गरिए।
आफन्तका काजबारमा, दुःखका, बिरामीका र मृत्युका खबर, विवाह, व्रतबन्ध, न्वारनलगायत खुसीका अनेकौं उत्सवमा उनलाई बिर्सन थालेको नि त्यतिबेलैदेखि हो। अनेक बेला माइती तिरका आफन्तीको सहानुभूति, ढाडस, माया र सहयोग चाहिन्थ्यो। उनी नितान्त एक्ली पर्थिन। तर, उनलाई कहिल्यै त्यस्तो निरीह महसुस गर्नुपरेको कसैले देख्नु परेन। माइतीको सम्झनाले उदास भएर, बिरक्तिएर गलेको, निराश भएको कहिल्यै देखिइनन्।
घटना अर्को फेरि संवेदनाहीन पो घट्यो त्यतिबेला जतिबेला उनका पिताको निधन भयो। सबै नाता, कुटुम्ब, इष्टमित्र, छिमेकी सबै पिताको शवयात्रामा थिए। थिएन त उनको पति मात्र।
कुरो यत्तिकैमा सकिएन। जब उनका पिताको चितामा आत्माविहीन देह राखियो र दागबत्ती दिने बेला आयो। एक जना पठित विद्वान पुरुष अगाडी आए। सबै शवयात्रामा सहभागी मलामीहरूलाई अनुरोध गर्दै उत्तर पुस्तिकाको एक पेजमा केही लेखेर एक मिनेट दिवंगत आत्माको चिर शान्ति र वैकुण्ठ बासको कामनाका लागि मौन धारण गरिदिन भने।
त्यो पेजमा दिवंगतका स्व. माता पिता, स्व. पत्नी, छोराहरू, छोरीहरू नाति नातिनीहरूसबैको नाम उल्लेख गरेर दिवंगतले आफ्नो पारिवारिक र सामाजिक कर्तव्य र व्यवहार अनुकरणी गरेको भनेर उनका पिताका स्वीकार्यको बखान गरियो। तर, उनका सन्तानहरूको नामको लहरमा दिवंगतकी अन्तरजातीय अनुलोम विवाह गर्ने छोरी सीताको नाम थिएन। केही भद्रजनहरू जसले एउटा मात्र छोरीको नाम छुटाउनु कुनै पनि दृष्टिले उचित नभएको ठहर त गरे। तर, त्यो भिरु जमातका संवेदनहीन मानिसका अगाडि केही बोल्ने हिम्मत गर्न सकेनन्।
जिउँदै मान्छेलाई अघोषित मृत घोषणा गरिएको भन्ने कि यसलाई मानसिक पीडा सकेजति दिने हिंसा भन्ने? आफ्नै सन्तानलाई अस्वीकार, बहिस्कार, तिरस्कार गरिएको क्रूरतम् निर्मम उपेक्षा के भन्ने होला? जे सुकै भने पनि यसरी विवाह गर्ने छोरा या छोरीलाई मरेसरह ठान्ने हाम्रो समाजको संवेदनाहीन प्रवृत्ति मान्छेलाई मान्छे हुन नदिने अमानवीय पाशविकता नै हो। चिताभन्दा पर दुई जना मान्छेहरू कानेखुसी झैं कुरा गरिरहेका थिए।
यो घटना जसरी घट्यो यसको बारेमा उनले थाहा पाइन भने यो पीडाले उनलाई स्तब्ध र मर्माहत बनाउने छ। मृत्युमा शोक व्यक्त गर्न मौन धारण गर्ने मलामीले पनि उनलाई मरे सरह ठान्नु के आधारमा सह्य हुन सक्छ? के हाम्रो समाजमा न्यायको निम्ति बोलिदिने कोही छैन? अन्यायलाई टुलुटुलु हेरेर निरीह हुने समाज हो हाम्रो?
हाम्रो समाज राजनीतिक रूपमा अनेक विचारधारामा विभाजित छ। हरेकले आफूलाई अर्कोभन्दा सामाजिक न्याय, समानता र स्वतन्त्रताका सवालमा उन्नत ठान्दछन्। त्यतिबेला आर्यघाटमा सबै विचारधाराका राजनीतिक दलका नेता कार्यकर्ता मलामीका रूपमा उपस्थित थिए। अन्तरजातीय विवाह गर्ने उनलाई मृत ठान्ने दाजुभाइलाई यतिसम्मको तिरस्कार उपेक्षा गर्नु कुनै पनि नाममा अपराध नै हो भनेर आपत्ति जनाउनुको सट्टा आफ्नो उन्नत विचारधारालाई मौन हुनु नै उचित ठानेँ। यी दलका नेता कार्यकर्ता आफ्ना दलले देशको हरेक परिवर्तनमा नेतृत्व गरेको भनेर गौरव गर्छन्। तर, जिउँदै निर्दोष मान्छेलाई मरेको ठान्ने र जातीय विभेद र छुवाछुत गर्ने समाजलाई परिवर्तन कहिले गर्न सक्लान्?
जे होस यो अप्रिय निर्मम क्रूर मौन धारणका बारेमा उनले थाहा पाएकी छैनन्। थाहा नपाएकै उचित।
(नेपाली सुदूरपश्चिमाञ्चल साहित्य समाजका महासचिव एवं नेपाली लेखक संघका केन्द्रीय सदस्य हुन्।)
Facebook Comment