सहकारी ठगी प्रकरण: सरकारी वकिलको कार्यालयमा रविको बयान जारी
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा बयान सुरु भएको छ। कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे उनीसँग बयान सुरु भएको हो।
लामिछानेविरूद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन गरेको अभियोगमा काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसकेकाले बयानका लागि विहिबार लामिछानेलाई काठमाडौं ल्याइएको हो।
स्वर्णलक्ष्मी सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको सम्बन्धमा जाहेरी परेपछि काठमाडौं प्रहरी परिसरले लामिछानेविरुद्ध मंसिर २ मा पक्राउ पुर्जी जारी गरेको थियो । उनी अहिले काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएको छ ।
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा सहकारीको रकम ठगी र सङ्गठित अपराध कसुरमा गत कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ । उनलाई बयानका लागि यसअघि रुपन्देही लगेर पुनः पोखरा ल्याइएको थियो।
जिल्ला अदालत कास्कीको आदेशबाट पटक–पटक म्याद थप गर्दै प्रहरीले लामिछानेविरुद्ध सहकारीको रकम अपचलनसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको जनाएको छ।
Facebook Comment