दुर्गा प्रसाईंका विश्वास पात्र पक्राउ

डिसी नेपाल
१४ मंसिर २०८१ १४:५७

काठमाडौं । प्रहरी हिरासतमा रहेका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंका एक जना विश्वास पात्र पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले नवीन प्रधान नामले चिनिने ३६ वर्षीय हरिचन्द्र फुयललाई झापाबाट पक्राउ गरेर काठमाडौं ल्याएको छ।

भारतमा बसेर नेपाली व्यवसायीलाई धम्की दिएको आरोपमा फुयललाई पक्राउ गरिएको सीआईबीले जनाएको छ। पाँचथरको साविक मौवा गाउँ विकास समिति-६ घर भएका उनी हाल झापाको मेचीनगर नगरपालिका-१३ चारआलीमा बस्दै आएका थिए।

भारतीय अपराधिक समूह लोरेन्स बिश्नोई समूहको सदस्यसमेत रहेका उनले विभिन्न व्यापारीलाई फोन गरेर धम्क्याउने गरेको खुलेको सीआइबीका एसपी एवं प्रवक्ता होविन्द्र बोगटीले बताए।

नेपाली व्यापारीलाई तर्साउने, रकम उठाउने र आपराधिक काममा युवा परिचालन गर्ने जस्ता गतिविधिमा उनी संलग्न रहेको प्रहरीले जनाएको छ। केही समयअघि बिश्वनोईको नाम लिएर धम्की दिइएको भन्दै चार जना व्यवसायीले उनीविरुद्ध सीआईबीमा उजुरी दिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *