पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष प्रदर्शन

डिसी नेपाल
१४ मंसिर २०८१ १६:५६

काठमाडौं। प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशी र औँसीका दिन पशुपतिनाथमा प्रदर्शन गरिने नाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष आज बिहान देखाइएको छ।

गत एक वर्षसम्म पशुपतिनाथ मन्दिरको माथिल्लो तलामा यी सामग्री सुरक्षित राखिएको भनी आज देखाइएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए। मार्ग शीर्ष कृष्ण औँसीका अवसरमा यही मङ्सिर १६ गते बिहान पनि अर्को वर्षका लागि सुरक्षित राखिँदै छ भनी आममानिसलाई देखाउने परम्पराअनुसार यो देखाउने कार्यक्रम रहेको उनले बताए।

पशुपति क्षेत्रमा पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष हेर्न हजारौँ भक्तजनको घुइँचो लागेको थियो। काठमाडौं महानगरपालिका वडा नं ९ बत्तिसपुतलीबाट पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष हेर्न पशुपतिनाथ मन्दिरको पश्चिम मूल ढोकाअघि लाममा बसेका सुरेश नेपालले ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वका यस्ता सामग्री हेर्ने रहरले आफू आएको बताए। यस्ता सामग्री भावी पुस्ताका लागि पनि सुरक्षित गरिनुपर्ने उनको सुझाव छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र कोषका सुरक्षाकर्मीको सहयोग लिएर पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष आज बिहान प्रदर्शन गरिएको थियो। मार्ग शीर्ष कृष्ण त्रयोदशीका दिन देशभरबाट धेरै भक्तजन दिवङ्गत पितृका नाममा बत्ती बाल्न आउने अवसर पारेर पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष देखाउने परम्परा सुरु भएको कोषले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *