‘कांग्रेस विधि र विधानअनुसार पार्टी चल्नुपर्छ’
दमौली (तनहुँ)। नेपाली कांग्रेसका नेता एवं उपप्रधानमन्त्री प्रकाशमान सिंहले पार्टी विधि र विधान अनुसार चल्नुपर्ने बताएका छन्। नेपाली कांग्रेस तनहुँले आज दमौलीमा आयोजना गरेको स्वागत एवं भेटघाटमा उनले सिंहले पार्टी विधि र विधानअनुसार नचल्दा समस्या हुने गरेको बताए।
सहरी विकासमन्त्री समेत रहेका सिंहले विधि र विधानअनुसार चलाउन सक्ने नेता वडा, टोल, प्रदेश, क्षेत्र, जिल्ला हुँदै केन्द्रसम्म आवश्यक रहेको बताए। उनले भने, “पार्टीभित्रका हरेक समस्या समाधान गर्दै पार्टीलाई बलियो बनाउनुको विकल्प छैन। पार्टीभित्र समस्या छन्, त्यस्ता समस्यालाई समाधान गर्दै अगाडि बढ्ने हो।”
आफू जहिल्यै पनि पार्टीको सुधार अभियानमा लागिपरेको बताउँदै सिंहले पार्टीमा समस्या छ मात्रै भन्ने तर सुधारको बाटो नदेखाउने परिपाटी रहेको बताए। उनले भने, “पार्टीभित्र यो भएन, त्यो भएन मात्रै भन्ने जमात पनि छन्। त्यस्तो भनेर मात्र हुँदैन। के गर्न सकिन्छ त्यसका लागि मार्गनिर्देश समेत गर्न सक्नुपर्छ।”
नेपालका हरेक कठिन अवस्थामा कांग्रेसले नेतृत्व लिँदै आएको बताउँदै सिंहले भने, “कांग्रेसकै नेतृत्वमा जनआन्दोलन सफल भयो । कांग्रेसकै नेतृत्वमा संविधान जारी भयो।” सिंहले अहिले देशमा देखिएको समस्याको समाधानका लागि नेपाली कांग्रेस र नेकपा (एमाले)को संयुक्त सरकार बनेको उल्लेख गरे।
कार्यक्रममा पार्टीका जिल्ला उपसभापति रघुनाथ पौडेल, महासमिति सदस्य पवित्रा पौडेल, क्षेत्रीय सभापति श्याम मौराती, व्यास नगर सभापति सूर्यचन्द्र हड्खलेलगायतले जनतामा देखिएको असन्तुष्टि समाधान गर्नेतर्फ नेतृत्वले ध्यान दिनुपर्नेमा जोड दिए।
Facebook Comment