बिरामी हुँदा लुकीलुकी फोन गर्नुहुन्थ्यो : बसुन्धारा, पहिले दिदी भन्ने शिवले फिल्म खेलेपछि आमा भन्न थाले
काठमाडौं। बरिष्ठ अभिनेत्री सुभद्रा अधिकारी अब हाम्रो सम्झनामा मात्र हुनेछिन्।
उनले शनिबार विहान आफ्नै निवास काठमाडौं डल्लुमा ७२ वर्षको उमेरमा संसार छाडिन्। उनी केही वर्षयता दम र निमोनियाको रोगी थिइन्।
सुभद्राको शनिबारनै पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो। अन्त्येष्टिमा उनलाई श्रद्धाञ्जली दिन चलचित्र क्षेत्रका पुराना–नयाँ कलाकारहरु पशुपति आर्यघाट पुगेका थिए।
दर्जनौं नाटक, टेलिश्रृङखला र चलचित्रमा अभिनय गरेकी सुभद्रालाई श्रद्धाञ्जली दिइरहँदा अधिकांश कलाकारका आँखा रसाए। नरसाउन पनि कसरी? धेरै कलाकार उनीसंग पर्दा सेयर गरेका थिए। केही कलाकारले उनलाई यसरी सम्झिए।
त्यो गीतले पनि दिदीको सँधैभरी याद दिलाईरहनेछ : केशव भट्टराई
उहाँको र मेरो दिदीभाईको जस्तो सम्बन्ध थियो। रिलिजको हिसाबले मेरो पहिलो चलचित्र ‘चिनो’मा उहाँ र म श्रीमान–श्रीमतीका रुपमा प्रस्तुत थियौं।
सो चलचित्र गरिरहँदा उमेरका हिसावले उहाँ भन्नुहुन्थ्यो, –कठैबरा भाई ! के रोल गर्न आइपुगेको, मेरो छोरोपनि तिमीभन्दा ठूलो छ।
त्यो चलचित्र राम्रो चलेको थियो। चलचित्रमा दिदी र मेरो अभिनय रहेको ‘दियो बाली साँझको’ बोलको कालजयी गीत छ। हरेक वर्ष तिहारमा रेडियो/टेलिभिजनमा यो गीत खुबै बज्छ। अब त्यो गीतले पनि दिदीको सँधैभरी याद दिलाइरहनेछ।
रंगमञ्च, राष्ट्रिय नाचघरको जागिरे जीवन अनि त्यसपछिका चलचित्र चिनो, भाउजू, कन्यादान लगायत दर्जनौं चलचित्रमा मेजर मेरुडण्डका रुपमा उहाँले गरेको कामले पनि चलचित्र क्षेत्रले उहाँलाई चिरकालसम्म सम्झिरहनेछ।
चलचित्र क्षेत्रले राम्रो कलाकार गुमायोः भुवन चन्द
उहाँ र मेरो सम्बन्ध साथीको थियो। हाम्रो रंगमञ्च यात्रा पनि संगसंगै जस्तो भएको थियो। रंगमञ्चमा सहकार्य भएपनि चलचित्रमा हाम्रो सहकार्य भएको थिएन। तर असाध्यै घनिष्ट सम्बन्ध थियो। उहाँको निधनले असाध्यै दुःखित तुल्याएको छ। मैले एउटा राम्रो साथी गुमाएँ, चलचित्र क्षेत्रले राम्रो कलाकार गुमायो।
बहुमुखी प्रतिभावान कलाकार हुनुहुन्थ्योः रविन्द्र खड्का
उहाँ बहुमुखी प्रतिभावान कलाकार हुनुहुन्थ्यो। चाहे नृत्यकारका रुपमा होस् चाहे रंगमञ्चमा होस्।
चलचित्र क्षेत्रमा त उहाँको योगदान अतुलनीय छ। जुनसुकै विधामा पनि उहाँ पोख्त हुनुहुन्थ्यो। स्वभाव पनि अत्यन्तै मिलनसार । नवप्रतिभा होस् वा विशिष्ट कलाकार । सबैसंग मिल्नुहुन्थ्यो।
मैले पनि रंगमञ्च र चलचित्रमा उहाँसम्म सहकार्य गर्ने अवसर पाएको थिएँ। उहाँको निधनले रंगमञ्च, चलचित्र क्षेत्रलाई ठूलो क्षति पुर्याएको छ।
बिरामी भएर हस्पिटलमा हुँदा पनि लुकीलुकी फोन गर्नुहुन्थ्योः बसुन्धारा भुषाल
उहाँ र मेरो सम्बन्ध दिदीबहिनीको थियो। २०२० सालतिरबाटै हामी नजिकिएका थियौं।
विंस. २०२१–२३ सम्म सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरमा संगै तालिम लिएका थियौं। दिदी नृत्यमा म नाटकको तालिममा सहभागी थिए। त्यससंगै राष्ट्रिय नाचघरमा २० औं वर्ष संगै काम गर्यौ। बिंस. २०२९ सालमा ‘मनको बाँध’ चलचित्रमा संगै काम गरेका थियौं। त्यसयता धेरै चलचित्रमा संगै काम गर्यौ।
८–९ दिन अघि हाम्रो भेट भएको थियो। सुःख दुखका कुरा भएको थियो। छायांकनका क्रममा धेरै स्थानमा हामी रुम पार्टनर भएर बस्थ्यौं। मलाई धेरै माया गर्नुहुन्थ्यो। फोन गरिरहनुहुन्थ्यो। बिरामी भएर हस्पिटलमा भर्ना हुँदा धेरै समय अक्सिजन लिएर बस्नुभयो। त्यस्तो समय धेरै नबोल्नू भन्छ। तर, उहाँ मलाई लुकीलुकी फोन गर्नुहुन्थ्यो।
रंगमञ्च र चलचित्रमा उहाँले दिएको योगदानको चर्चा म शब्दमा गर्न सक्दिन। आज उहाँको निधनले यो क्षेत्रलाई अतुलनीय क्षति पुर्याएको छ।
पहिले दिदी भन्थेँ पछि आमा भन्न थालेँः शिव श्रेष्ठ
मैले पहिले उहाँलाई दिदी भन्थेँ तर पछि आमा भन्न थालेँ। मलाई उहाँ आमाजस्तै लाग्थ्यो।
हुन पनि पर्दामा उहाँ हामी धेरै कलाकारहरुको आमा हुनुहुन्थ्यो। म चलचित्रमा आउनभन्दा पहिले उहाँलाई चिन्थेँ। उहाँले अभिनय गरेका नाटक हेर्थे । पछि उहाँसम्म चलचित्र ‘चिनो’मा काम गर्ने मौका पाए। त्यो पनि आमाछोराको भूमिकामा।
त्यतिञ्जेलसम्म सँधै दिदी भनेर सम्बोधन गर्ने म त्यसयता आमा भन्न थालेँ। उहाँ कलाकारिताकै लागि जन्मिएजस्तो लाग्छ। आज उहाँले हामीलाई छोेडेर जानुभएको छ। शरिर छाडेर गएपनि उहाँले कलाकारिता क्षेत्रमा दिनुभएको योगदान हामी कहिल्यै पनि भुल्न सक्दैनौं।
Prix Du Levitra 10 Mgf Canada Online Amoxicillian cialis 40 mg Propecia Levels