नेहरुको उदाहरण दिँदै चीन भ्रमणमा जाने टोलीलाई प्रधानमन्त्रीको प्रशिक्षण

डिसी नेपाल
१६ मंसिर २०८१ १३:०८

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग चीन जाने सरकारी भ्रमण टोलीका सदस्यहरुलाई शिष्टाचारको प्रशिक्षण दिएका छन्।

चीन जाने प्रतिनिधिमण्डलका सदस्यहरुलाई शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्रीले भारतीय पूर्व प्रधानमन्त्री जवाहरलाल नेहरुसँग घटेको एक घटनाको उदाहरण दिँदै शिष्टाचारको प्रशिक्षण दिएका हुन्।

प्रधानमन्त्रीले चीन जाने टोलीका सदस्यहरुलाई कहिलेकाहीँ पाहुनाको व्यवहारका कारण निम्तो दिने घरेलु पक्ष समेत अप्ठ्यारोमा पर्न सक्ने भएकोले भ्रमणका क्रममा शिष्टाचारको ख्याल गर्न निर्देशन दिए।

यस विषयमा थप प्रस्ट पार्न प्रधानमन्त्रीले भारतीय पूर्व प्रधानमन्त्री जवाहरलाल नेहरुले एक बेलायती प्रधानमन्त्रीलाई स्वागत गर्ने क्रममा अप्ठ्यारोमा परेको प्रसंग सुनाए।

प्रधानमन्त्रीको ब्रिफिङबारे जानकार एक स्रोतले प्रधानमन्त्रीलाई उद्धृत गर्दै डिसी नेपालसँग भन्यो ‘एक जना बेलायती प्रधानमन्त्री भारत भ्रमणको लागि आएका थिए। उनलाई एउटा भारतीय परिकार खाने इच्छा रहेछ। उनले आफ्नो इच्छाबारे भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुलाई बताए छन्। त्यसपछि नेहरुले उनलाई भारतीय परिकार खुवाउने व्यवस्था गरिदिएछन्।’

प्रधानमन्त्रीले अगाडि भने, ‘त्यो परिकार चिल्लो र मसालेदार हुने भएकोले खाइसकेपछि हात धुनको लागि एक जना सेवकले दुवैलाई कागती र पानी पनि ल्याइदिएछन्। बेलायती प्रधानमन्त्रीले त्यो पानी हात धुनको लागि हो भन्ने थाहा भएन उनले कागती निचोरेर पानी पिइदिए । उनले यसो गरेपछि नेहरुले उनलाई तल पार्ने गरी त्यो पानीले हात धुन त भएन। बाध्यतामा नेहरुले पनि कागती निचोरेर पानी पिए।’

प्रधानमन्त्री ओलीले यो प्रसंग सुनाउँदै चीन जाने टोलीलाई फरक ठाउँको चलनचल्तीबारे थाहा नभएमा गेस्टले होस्टलाई पच्छाउनुपर्ने सुझाव दिए। ‘हामीलाई कसरी गर्ने हो भन्ने थाहा भएन भने उनीहरुले जसो गर्छन् त्यसलाई पच्छ्याउनुपर्छ’ प्रधानमन्त्रीले भने, ‘थाहा नभएको कुरामा अघि सर्दा कहिलेकाहीँ शिष्टाचारको उल्लंघन हुन सक्छ, यो कुरामा सचेत हुनुपर्छ।’

प्रधानमन्त्रीले यो घटना भएका कुन बेलायती प्रधानमन्त्री हुन् र उनले कुन भारतीय परिकार खान चाहेका थिए भन्ने स्पष्ट रुपमा खुलाएनन्। नेहरु भारतको प्रधानमन्त्री भएका बेला ३ जना बेलायती प्रधानमन्त्री भारत भ्रमणमा आएका थिए।

नेहरु प्रधानमन्त्री भएका बेला भारत भ्रमणमा आउने पहिलो बेलायती प्रधानमन्त्री क्लिमेन्ट एटली हुन्। उनी भारत स्वतन्त्र हुने बेलामै बेलायतको प्रधानमन्त्री थिए। उनको भ्रमण अनौपचारिक थियो। त्यसपछि बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिल भारत भ्रमणमा आए।

उनीपछि बेलायती प्रधानमन्त्री ह्यारोल्ड म्याकमिलन भारत भ्रमणमा आए। नेहरु १९४७ मा भारत स्वतन्त्र भएपछि प्रधानमन्त्री भएका हुन्। त्यसपछि नेहरु लगातार १७ वर्ष सन् १९६४ सम्म भारतको प्रधानमन्त्री थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *