लघुकथा : भावनात्मक श्रमको मूल्य
छोराबुहारीसँग बाहिर हुनुहुन्थ्यो; उतै विरामी पर्नु भएछ। केही दिन विदा लिएर छोराबुहारी नै अस्पताल बसेछन्।
अस्पतालले डिस्चार्ज गरेपछि पनि पालोपालो गरेर केही दिन विदा बसेछन्। विदेशमा सधैं यसरी चल्ने कुरा थिएन, चलेन। अनि हेरचाहका लागि परिचारिका नियुक्त गरिएछ।
परिचारिकाले विरामीको गर्ने सेवा त्यस्तै त हो, जस्तो नेपालमा छोरीबुहारीले गर्ने गर्दथे। हेरचाह गरिदिए वापत परिचारिकालाई छोराबुहारीले ठूलो रकम तिर्नु परेको पनि उहाँले देख्नु भएछ।
नेपालमा त्यस्तै काम गर्ने छोरीबुहारीलाई विहानबेलुका दालभात र चाडबाडमा एकसरो लुगा हालिदिए चल्थ्यो। यहाँ विरामीलाई बेथाले च्याप्दै आए छोरीबुहारी पिलपिल पनि गर्थे, भनेको बेलामा भनेकै जस्तो काममा हाजिर नभए तिनै खप्कीका भागिदार पनि हुन्थे।
‘विरामीलाई हेरचाह गरेपछि विदेशमा परिचारिकालाई तिर्नु परे जस्तै नेपालमा छोरीबुहारीलाई दिनु परे केले पुग्दो हो! सोच्दासोच्दै उहाँलाई फड्को होला जस्तै भएछ।
छोरासँगै बुहारी पनि थिई रे। नेपालमा हुँदा उसले पनि सेवा गरेकी थिई। छोराबुहारीका सामुमा उहाँले आफ्नो मनमा उठेको तर्कना खोल्न सक्नु भएनछ र कोल्टे फेर्नु भएछ।
Facebook Comment