सन्दर्भः विश्व अपाङ्गता दिवस

अपाङ्गता भएका बालबालिकाको लागि घरमै विद्यालय

असबीर सारु
१८ मंसिर २०८१ १०:१८

सप्तरी । बाँसले बेरेको एकतले घरको पिँडीमा बोरा बिछ्याइएको छ । बिछ्याइएको बोरामाथि सहजकर्ताले निर्माण गरेको अक्षर र अङ्क पत्ती, सिसा, कलर गरिएका ढुँगाहरु, मारकर, सिसा कलम र कापी राखिएको छ ।

घरको भित्तामा कार्डमा लेखिएको कक्षा सञ्चालन दैनिक कार्य तालिका टाँसिएको छ । सोही कार्य तालिका अनुसार पढाइ चलिरहेको छ । यो दृश्य हो छिन्नमस्ता गाउँपालिका वडा नं १ बरहीविरपुरमा अवस्थित सुरजको घरको हो ।

अक्सर बिना काम खाली समय कटाउँदै आएका १३ वर्षीय सुरजको दैनिकी अचेल बदलिएको छ । मानसिक तथा मनोसामाजिक अपाङ्गता भएका सुरज बिहान १० बजे देखि २ बजे सम्म सञ्चालन हुने घरमै विद्यालय कक्षा सञ्चालन हुन थालेपछि उनको दैनिकी फेरिएको हो । उनी अचेल आफ्नै घरको पिँढीमा बसेर सहजकर्ताको सहयोगमा सिकाइ क्रियाकलाप गरिरहेको भेटिन्छ ।

कक्षा सञ्चालनअघि सुरजले देखाउने अस्वभाविक व्यवहारले उनका अभिभावकहरु खिन्न थिए । कुनै कुरामा ध्यान दिन नसक्ने, स्थिर भएर नबस्ने, आवेगमा उसको सामु जे छ फ्ँया दिने जस्ता अस्वभाविक व्यवहार थियो उनको । यस्तो व्यवहारका कारण उनलाई विद्यालय पढाउन पठाउन नसकिएको उनको परिवारले जनाएको थियो । तर अहिले भने उनको व्यवहारमा सुधारका संकेत देखिन थालेको उनकी आमा सूर्य कुमारी कर्णले बताइन् ।

“अहिले हाम्रो कुरा सुन्छ, निर्देशन मान्छ, ऊ आफै शौच जाने, नुहाउने र ब्रस गर्ने गर्न,” आमा सूर्य कुमारीले सुनाइन् “नेपाली बर्णमालाका केही अक्षर चिन्न सक्ने भएको छ । ऊ अब आफै आत्मनिर्भर बन्न सकोस्” सूर्य कुमारीले छोराको अविश्य माथि आसा पलाएको आशय व्यक्त गरिन् । ५ वर्ष पहिले कमाउन भनेर भारत गएका सुरजका बुबा हाल सम्म सम्पर्कमा आएका छैनन् । उनीहरुको आर्थिक अवस्था पनि निकै कमजोर छ ।

तिलाठी कोइलाडी वडां नं. ७ मन्सापुरकी ४ वर्षीय समीक्षाले पनि घरमै विद्यालय कक्षा लिइरहेकी छिन् । नजिकैको बालबिकास केन्द्रमा भर्ना भएकी समीक्षाले घरमै सिकाइ क्रियाकलापको अवसर पाएपछि आमा सुशीला साहको आशा जागेको छ । शारीरिक अपाङगता भएकी समीक्षाले के नै गर्न सक्लिन् र भन्ने लागेको आमालाई छोरीको सेसनपछि सुधारको लक्षण देखिएको छ ।

आमा सुशीलाका अनुसार कक्षा सञ्चालन भएको एक महिनामै भलाकुसारी गर्ने, कलम समाउन सक्ने भएकी छिन् । समीक्षालाई आधारभूत सीप सिकाइलाई प्राथमिकतामा राखेर क्रियाकलाप गर्दै आएको सहजकर्ता प्रतिभा मण्डलले बताइन् ।

सहजकर्ताका अनुसार समीक्षामा हिड्न नसक्ने समस्या भए पनि दैनिक हातका औँला, हात चलाउने, ठूलालाई नमस्कार, वाईवाई गर्नै जस्ता अभ्यास गराउँदै आएको छ । ह्विल चियरको प्रयोगलाई अभ्यास गर्नका लागि गाउँपालिका तथा संस्थाहरुसँग समन्वय गरिएको सहजकर्ता मण्डलले जनाकारी गराइन् ।

बालबालिकाको अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षाको अधिकार सुनिश्चित गर्नका लागि घरमै विद्यालय कार्यक्रम शुरु गरेको छिन्नमस्त गाउँपालिकाले जनाएको छ । छिन्नमस्त गाउँपालिकाका शिक्षा संयोजक सन्तोष रायका अनुसार विद्यालय शिक्षाको पहुँच बाहिर रहेका अपाङ्गता भएका बालबालिकालाई लक्षित गरी सञ्चालन गरिएको कार्यक्रम नै घरमै विद्यालय कार्यक्रम हो ।

यो कार्यक्रमले एक जना अपाङ्गता भएका बालबालिकालाई एक जना स्वयंसेवक शिक्षकको व्यवस्था गरिएको छ । अपाङ्गताका कारण विद्यालयमा उपस्थित भई नियमित शिक्षण क्रियाकलापको अवसरबाट बञ्चित बालबालिकाको शिक्षाको अधिकार सुनिश्चित गर्नका लागि कार्यक्रम सञ्चालन गरिएको हो ।

“नजिकको विद्यालयमा भर्ना भई उक्त विद्यालयको नीति, नियम र सहयोगमा घरमै विद्यालय कक्षा सञ्चालन गरिन्छ” शिक्षा संयोजक सन्तोष रायले भने, “विद्यार्थी विद्यालय होइन कि, स्वयंसेवक शिक्षक विद्यार्थीकै घरमा गएर शिक्षण गर्ने व्यवस्था गरिएको छ ।”

छिन्नमस्त र तिलाठी कोलाडी गाउँपालिका भित्रका विद्यालय पहुँच बाहिररहेका ७ जना अपाङ्गता भएका बालबालिकालाई घरमै विद्यालय कार्यक्रम शुरु गरेको कार्यक्रम सञ्चालन गर्न सहयोग गरिरहेको गैरसरकारी संस्था सेभ द सप्तरीले जनाएको छ ।

सेभ द सप्तरीका परियोजना संयोजक अनिल यादवका अनुसार संस्थाको सहयोगमा गाउँपालिकाले अपाङ्गता परीक्षण शिबिर सञ्चालन गरेको थियो । सेभ द सप्तरीका अनिल यादवका अनुसार अपाङगता परीक्षणमा संलग्न चिकित्सकको सिफारिस अनुसार कक्षा सञ्चालनका लागि बालबालिकाको छनौट गरिएको छ ।

घरमै विद्यालय कक्षाका सहजकर्ता रुबी कर्णका अनुसार गाउँपालिका र सेभ द सप्तरीले सञ्चालन गरेको ५ दिने तालिम पाएपछि कक्षा शुरु गरिएको हो । घरमै विद्यालय कक्षामा सहभागी अपाङ्गता बालबालिका विभिन्न प्रकृतिका छन् । उनीहरुको सिकाइ आवश्यकता पनि फरक फरक छन् ।

अपाङ्गता परीक्षणमा संलग्न ट्रियो रिसर्च डेभलब्मेन्टका चिकित्स अधिकृत मनिस रेग्मीले फिजियो थेरापी र स्पिच थेरापीको लागि सिफारिस गरिएको छ । चिकित्सको सल्लाहलाई अधिकतम कार्यानवयनमा जोड दिइएको स्वयसेवक शिक्षकहरुले बताएका छन् ।

अपाङ्गता भएका बालबालिकाको सर्वोत्तम हितका लागि चिकित्सको सिफारिस तथा सल्लाह अनुसारका क्रियाकलापहरु सञ्चालनका लागि सहजकर्ताहरुको क्षमता अभिवृद्धि गर्दै व्यवहारमा कार्यान्वयन गर्नु पर्ने आवश्यकता देखिन्छ ।

नेपालको संविधान २०७२ धारा ३१ उपधारा ४ मा दृष्टिविहिन नागरिकलाई ब्रेललिपि तथा बहिरा र स्वर वा बोलाइसम्धन्धी अपाङ्गता भएका नगरिकलाई सकेतिक भाषाको माध्यमबाट कानुनबमोजिम निशुल्क शिक्षा पाउने हक हुनेछ भन्ने उल्लेख छ ।

यसैगरी अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी ऐन २०७४ ले अपाङ्गता भएका विद्यार्थीहरुको लागि निशुल्क शिक्षा, छात्रवृत्ति, आर्थिक सहयोग, सहितको गुणस्तरीय शिक्षाको पहुँचको व्यवस्था गरेको छ । तर हामो वास्ताविकता अपाङ्गता भएका व्यक्तिहरुका लागि अपाङ्गता मैत्री बनिसकेको छैन ।

भौतिक संरचना, कक्षाकोठा व्यवस्थापन, शिक्षण विधि तथा रणनीति अपाङगता मैत्री बनाउँदै लैजानु पर्छ । उनीहरुको आवशयकता पुरा हुने गरी छनौट तथा कार्यान्वयनलाई प्राथमिकता दिदै विद्यामान ऐन कानुनको प्रभावकारी कार्यान्वयनका लागि जिम्मेवार निकाय उत्तरदायी हुनु जरुरी छ ।

अपाङ्गता भएका व्यक्तिहरुले दया माया र करुणाले नभई स्वतन्त्र रुपमा नागरिक हकको रुपमा उपभोग गर्ने वातावरणको सृजना गर्नु आजको आवश्यकता हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *