सुरक्षित सामाजिक सञ्जाल प्रयोगबारे छलफल

डिसी नेपाल
१८ मंसिर २०८१ २२:४२

काठमाडौं। सही र सुरक्षित तरिकाले सामाजिक सञ्जालको प्रयोग कसरी गर्ने भन्ने अहिले सबैको चासोको विषय हो। यसै विषयलाई लिएर सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र टिकटक डिजिटल प्लेटर्फमले सरोकारवालामाझ छलफल चलाएको छ।

काठमाडौंमा आज आयोजना भएको ‘डिजिटल सेफ्टी समिट नेपाल’ कार्यक्रममा टिकटकजस्ता सामाजिक सञ्जालको सुरक्षित प्रयोग कसरी गर्ने ? विषयमा सामूहिक छलफल गरिएको हो। यसै क्रममा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुर, डिजिटल राइट्स नेपालका कार्यकारी निर्देशक सन्तोष सिग्देल, टिकटकका पब्लिक पोलिसी प्रोग्राम्स एन्ड पाट्नरसिप्स प्रमुख जारा बसहरत हिग्स् र टिकटक क्रिएटर सोर्वस् घिमिरेबीच सामूहिक छलफल भएको थियो।

चाइल्डसेफनेट संस्थाका अध्यक्ष अनिल रघुवंशीले छलफलमा मध्यस्तकर्ताको भूमिका निर्वाह गरेका थिए। सामूहिक प्रश्नमा उनले टिकटकबाट सुरक्षित हुन के गर्ने ? प्रश्नमा मन्त्रालयका प्रवक्ता ठाकुरले सरकारको तर्फबाट बोल्दै नियम र ऐन बलियो बनाएर कार्यान्वयन गर्ने तयारी भएको बताए। उनले टिकटक मर्यादित बनाउन अरु सरोकारवालाको साझेदारी आवश्यक हुने धारणा राखे।

त्यस्तै छलफलका वक्ता जाराले टिकटक सही तरिकाले प्रयोग गर्न शैक्षिक जागरण फैल्याउनुपर्नेमा जोड दिए। जाराकाअनुसार अभिभावक र शिक्षकले बालबालिकामा सही तरिकाले टिकटकको सही प्रयोग गर्न सिकाउनु अहिलेको आवश्यकता हो।

अबको दुई वर्षमा सामाजिक सञ्जालको प्रयोगले समाजमा के कस्ता चुनौती आउन सक्छन ? भन्ने प्रश्नमा डिजिटल राइट्स नेपालका निर्देशक सन्तोषले सीमान्तकृत समुदाय, महिला र बालबालिका बढी जोखिममा पर्नसक्ने धारणा राखे। टिकटक क्रिएटर घिमिरेले आफूले समाजलाई सकारात्मक दिशातर्फ बढाउने खालका श्रव्यदृश्य सन्देश दिएर मर्यादित टिकटक प्रयोगकर्ता बन्दै आएको अनुभव सुनाए।

कार्यक्रममा नेपाल प्रहरीको साइबर ब्युरोका प्रमुख एसएसपी नवीन्द्र अर्यालले सामाजिक सञ्जालमार्फत अपराधिक गतिविधि बढ्दै गएको बताए। उनले ऐन र कानुनको कार्यान्वयनसँगै आमचेतनासमेत जगाउन आवश्यक रहेको बताए। उनका अनुसार खास गरी महिला र बालबालिका सामाजिक सञ्जालको दुरुपयोग गरी पीडित भएको अवस्था छ।

यसैक्रममा सामाजिक सञ्जालको सही प्रयोग गर्न जनचेतनामूलक कार्यक्रम सुरु गर्न टिकटक र चाइल्डसेफनेटसँग सम्झौता हस्ताक्षर भएको छ। चाइल्डसेफनेटका अध्यक्ष अनिल रघुवंशीले काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, तनहुँ, सुनसरी र मोरङका जिल्लाका १४ विद्यालयमा सामाजिक सञ्जालको सही प्रयोग गर्ने तालिम दिने सहमति भएको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *