प्रधानमन्त्री ओलीद्वारा चिनियाँ राष्ट्रपति सीलाई नेपाल भ्रमणको निम्ता
काठमाडौं। चीन भ्रमण रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चीन र नेपाल-दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वर्षको अवसरमा सन् २०२५ मा नेपाल भ्रमण गर्न चिनियाँ राष्ट्रपति सी चीनफिनलाई निमन्त्रणा दिएका छन्।
जवाफमा राष्ट्रपति सीले नेपाल भ्रमण आमन्त्रणको लागि धन्यवाद व्यक्त गर्दै उपयुक्त समयमा नेपाल भ्रमण गर्ने बताए।
भेटमा प्रधानमन्त्री ओलीले छोटो अवधिमा चीनले गरेको तीव्रतर विकास र गरिबी निवारणको क्षेत्रमा हासिल गरेको सफलताको प्रशंसा गरेका थिए। साथै ‘वर्तमान सरकार, समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकांक्षासहित आर्थिक विकास र रुपान्तरणमा केन्द्रित रहेको बताउँदै उनले आर्थिक विकासका क्षेत्रमा मित्रराष्ट्र चीनसँग नेपालले थप सहयोग र साझेदारी गर्न चाहेको जानकारी गराए।
प्रधानमन्त्री ओली र चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष ली झान्सुबीच पनि आजै भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सो भेटमा उनीहरूबीच संसदीय अभ्यासका अनुभव आदानप्रदानका विषयमा छलफल भएको थियो।
Facebook Comment