पुस्तक समीक्षा : शिवलिङ्गभित्रको विज्ञान
वैदिक/ धार्मिक विषयका गहन अध्येता एवं ज्योतिष श्रीहरिप्रसाद सोडारीद्वारा रचित शिवलिङ्गभित्रको विज्ञान पढ्ने मौका मिल्यो।
झण्डै १२ वर्ष खर्चिएर अतिसुक्ष्म रुपले वैदिक संस्कार, मूर्ति, मन्दिरको महत्त्वलाई तथ्यगतरुपमा चित्रण गर्नुभएको छ। साधनम र अनुष्ठानका विधीको बारेमा युगानुकूल जानकारी दिनुभएको छ। शिवलिङ्गका विविध पक्ष र महत्त्वको बारेमा यथेष्ट सामग्री पस्कनुभएको छ।
पुस्तकको माध्यमबाट शास्त्र, मूर्ति र साधनाबाट ईश्वर चिनाउने सहज पाइन्छन्। मन्त्र तन्त्र र यन्त्रबाट ब्रह्म बुझ्ने सूत्र बताइएको छ। यो पुस्तकलाई दुई खण्डमा विभाजन गरेर हेर्न सकिन्छ। पहिलो खन्ड अन्तर्गत निम्न बिषयमा बिबेचना गरिएको छ।
नेपालको परिचय, मानवको उत्पति, नेपाल देवभूमी हुनाको कारण, नेपालमा बाहिरबाट आएका विद्वान र उनीहरुद्वारा गरिएको नेपालको महिमा, मूर्तिको महत्व, मन्दिरमा मूर्ति राख्ने कारण, तिर्थस्थलको रूपमा मन्दिर रहनुको अन्तर्य, मन्दिरमा नाङ्गा मूर्ति स्थापित गर्नुको कारण र यसले दिएको सन्देश।
दोस्रो खन्ड अन्तर्गत निम्न विषयलाई सुक्ष्म रुपले विश्लेषण गरिएको छ :
पशुपतिनाथको परिचय र उत्पत्ति, पशुपतिलाई पाशुपत क्षेत्र भन्नुको रहस्य, पशुपतिमा रहेको पन्चमुखको महत्व, पशुपति केदारनाथ्को शिरको रुपमा रहनुका कारण, शिवलिङ्ग, आर्धनारेस्वर, आदिको रहस्य, नम: शिवायको महत्त्व, सोमबार शिवजीको बार रहनुको कारण, शिवालयको महिमा एवम् शिवलिङ्ग बनाउने बिधान र यसलो वैग्यानिक अर्थ, मोक्षको सांकेतिक रुपमा मशानघाट रहनु र आर्यघाटको महत्त्व, शिवजीको स्मरणले मोक्ष प्राप्तिको मार्ग र नेपाल आर्यवर्त क्षेत्र हुनुको पुस्ट्याँइ।
हाम्रा ऋषिमुनिहरुले के कसरी कुन विधि प्रयोगद्वारा परमात्मासँग साक्षात्कार गर्नेका सूचना दिइएको छ।
हामीले कहाँनेर हाम्रा परंपरागत पूजा विधि, यज्ञ हवन विधि, मूर्ति र मन्दिर निर्माण विधिलाइ बिर्स्यौं र यसको फलस्वरूप के कस्ता नकारात्मक असर देखा परेका छन्? यसबारे प्रमाणसहितको दलिल पेश गरिएको छ।
अनेकौं अनुष्ठान, साधना, पाठ, तीर्थाटन गर्दा पनि परमात्मासँगको अनुभव किन गर्न सकेका छैनौं? हामी कहाँ चुक्यौं? हाम्रा ऋषिमुनिहरुले दिएको विरासतलाई विदेशी धर्म र संस्कृतिले कसरी ओझेलमा पार्याे भन्ने बारेमा प्रमाणसहित बुझाउने प्रयास गर्नुभएको छ।
वैदिक सनातन धर्मको प्रभाव, तन्त्र मन्त्र र यन्त्रको मानव जीवनमा रहेको प्रभाव त्यसको असरले मानव जीवनमा के कसरी काम गर्थ्यो? यी प्राचीन सफल प्रयोग किन अप्रभावकारी रहे साथै प्राकृतिक प्रकोपले नेपाल किन बढी प्रताडित छ र यसबाट कसरी बच्न सकिन्छ भन्ने कुरालाई सरल भाषामा प्रष्ट पार्नुभएको छ।
दोश्रो भागमा शिवलिङ्ग के हो कहिले, कहाँ, किन, कसरी, उत्पन्न भयो। पशुपतिको महिमा के छ? नेपाललाई विश्व रङ्गमन्चमा चिनाउन पाशुपत क्षेत्रको महत्त्व, शिवलिङ्ग पूजाबाट प्राप्त हुने आत्मनन्द एवम् मोक्ष जस्ता विषयलाई र नेपाल आर्यवर्त भुमि हो भन्ने वैग्यानिक कारणसहित पुष्टी गर्नु भएको छ।
अन्त्यमा यस पुस्तकबाट हाम्रा ऋषिमुनीहरुले विकास गरेको इश्वर प्राप्ति सम्वन्धी विभिन्न उपाय, सनातन धर्म, वैदिक पूजन विधि, मन्त्र, तन्त्र एवम् यन्त्रको उचित प्रयोग र यसबाट लिन सकिने लाभ साथै हामीहरुको मोक्ष प्राप्ति र इश्वर साक्षात्कारको लागि कस्तो मार्ग अपनाउनु पर्छ भन्ने दिशाबोध प्राप्त हुन्छ।
अनेकौं शास्त्रहरूको सार, देवस्थलहरुको सन्देश संकलित छन्। सम्बन्धित स्थलमा पुगेर गरिएको अध्ययन अनुसन्धानबाट जन्मिएको यो पुस्तक हिन्दु धर्म संस्कार एवम् सनातन प्रणाली बारेमा जानकारी हासिल गर्न कोशेढुंगाको रुपमा रहेको छ भन्नुमा आत्युक्ति नहोला।
Facebook Comment