माओवादीले भन्यो- एक्लै चुनाव लड्ने पार्टीको निर्णयलाई जनताले अनुमोदन गरे

डिसी नेपाल
२० मंसिर २०८१ ११:२६

काठमाडौं। स्थानीय तहको उपनिर्वाचनवाट नेकपा माओवादी केन्द्र उत्साहित भएको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा बसेको पार्टी पदाधिकारी बैठकले उप निर्वाचनवाट एक्लै चुनाव लडन सकिने अवस्था सिर्जना भएको निष्कर्ष निकालेको हो।

कसैसँग गठबन्धन नगरी एक्लै चुनाव लड्ने पार्टीको निर्णयलाई जनताले अनुमोदन गरेको निष्कर्ष निकालेको उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन्।

उनले उपचुनावबाट माओवादी पार्टी दोस्रो स्थानमा आएको समेत बताए। सापकोटाले २०६४ पछि पार्टी पहिलो पटक एकताबद्ध भएर चुनावमा गएको बताए।

उनले अब पालिका अधिवेशन र खबरदारी सभामा नेतृत्व केन्द्रित रहने जानकारी दिए । उपचुनावको समीक्षा गर्दै अब २०८४ को चुनावका लागि माओवादीले सबै तयारी थाल्ने बताए।

‘माओवादी एकताबद्ध भएर जनतामा गएको छ। यसले सकारात्मक नतिजा दिएको छ। पहिला हामीले जितेको आठ वटा थियो अहिले १२ वटा भएको छ’, सापकोटाले बैठक पछि भने, ‘एक्लै चुनाव लड्दा जनताले साथ दिएका छन्। सबै पार्टी मिल्दा पनि हाम्रै पार्टीले विजय हासिल गरेको छ। यसले बृहत् वामपन्थी एकीकरण र कम्युनिस्ट पार्टीको पुनर्गठनको आधार उपचुनावले दिएको छ।’

उपनिर्वाचनले ०८४ काे तयारीका लागि राम्राे सन्देश दिएकाे उनले बताए।

सापकोटाले २०८४ को चुनावको एजेण्डा प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्णसमानुपातिक निर्वाचन र सांसदहरु मन्त्री नबन्ने गरी संविधानमा व्यवस्था गर्न माओवादी केन्द्रले पहल गर्ने समेत बताए।

यसैगरी, उर्जा मन्त्री दिपक खड्काले बिद्युत प्राधिकरणको भवनमा अलग कार्यालय खोलेकोमा माओवादी केन्द्र असन्तुष्ट भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *