एनपिएल क्रिकेटः जनकपुरको लगातार तेस्रो जित

काठमाडौं। आज नेपाल प्रिमियर लिग (एनपिएल) को आठौं खेलमा जनकपुर बोल्टसले पोखरा एभेन्जर्सलाई पराजित गरेको छ। आज भएको खेलमा जनकपुरले पोखरालाई ७ विकेटले हराएको हो।
पोखराले दिएको १३९ रनको लक्ष्य जनकपुरले १७.१ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो। जनकपुरका लागि लाहिरु मिलान्थाले सर्वाधिक ४५ रन बनाए। ३२ बल खेलेका उनले ८ चौका प्रहार गरे। यस्तै ओपनर आसिफ शेखले ३३ रन बनाए। जिमी निशमले आक्रामक ब्याटिङ गर्दै टोलीलाई जित दिलाए। उनले २० बलमा ४ चौका र एक छक्काको मद्दतमा ४० रन बनाए।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३८ रन बनाएको थियो। पोखराका लागि मार्कस क्रिच्लेले सर्वाधिक ३५ रन बनाए। उनले ३० बलमा ३ चौका र एक छक्का प्रहार गरे। यस्तै एन्द्रिस गौसले २०, रेमन रेइफरले १७, अनिल खरेलले १०, दिलिप नाथले ११ रन बनाउँदा कप्तान कुशल भुर्तेल ६ रन बनाएर आउट भए। माइकल लिस्कले १३ बलमा ३ छक्काको मद्दतमा २५ रन बनाए।
जनकपुरका ललित राजवंशीले ३ विकेट लिए भने जिमी निशमले २ तथा मोहम्मद मोहसिन किशोर महतोले समान एक/एक विकेट लिए।
योसँगै जनकपुरले लगातार तेस्रो जित हासिल गरेको छ। जनकपुरले यसअघि विराटनगर किंग्स र कर्णाली याक्सलाई पराजित गरेको थियो। पोखराको भने यो लगातार दोस्रो हार हो। पोखरा एभेन्जर्स पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको थियो।
Facebook Comment