स्मार्टफोनमा पनि सुर्तीजन्य पदार्थमा जस्तै चेतावनी राखिने

डिसी नेपाल
२० मंसिर २०८१ १३:२२

काठमाडौं । युरोपेली देश स्पेनमा चाँडै स्मार्टफोनमा पनि सुर्तीजन्य पदार्थमा जस्तै (यो स्वास्थ्यका लागि हानिकारक छ) चेतावनीहरू देखिनेछन्। विज्ञहरूको समितिले स्मार्टफोनको प्रयोगका सम्बन्धमा स्पेन सरकारलाई सल्लाह दिएको छ । यसमा देशमा स्मार्टफोन बेच्ने कम्पनीहरूलाई फोनमा स्वास्थ्य खतराको लेबल लगाउन सल्लाह दिइएको छ।

यसका साथै समितिले आफ्नो प्रतिवेदनमा देशका चिकित्सकहरूलाई बिरामीको उपचार गर्दा स्क्रिन टाइमबारे सोध्न पनि सल्लाह दिएको छ। स्पेनले बालबालिकाको स्मार्टफोन प्रयोगलाई नियन्त्रण गर्न कानुन बनाउने तयारी गरिरहेको छ । यसको मस्यौदाका लागि ५० सदस्यीय समिति गठन गरिएको छ ।

स्मार्टफोनको प्रयोगसम्बन्धी कानुन बनाउन गठित समितिले १३ वर्षसम्मका बालबालिकालाई डिजिटल डिभाइसको प्रयोगमा नियन्त्रण गर्न सुझाव दिएको छ । २ सय ५० पृष्ठको यो प्रतिवेदनमा ३ वर्षको उमेरसम्म बालबालिकालाई डिजिटल उपकरण नदिन सिफारिस गरिएको छ ।

६ वर्ष सम्मका बच्चाहरूलाई यो उपकरण आवश्यक परेको बेला मात्र दिनुपर्ने र ६ देखि १२ वर्षसम्मका बालबालिकालाई इन्टरनेट बिना फोन चलाउन अनुमति दिन भनिएको छ । साथै, त्यस्ता बालबालिकालाई मनोरञ्जनका लागि खेलकुद र बाहिरी क्रियाकलाप गर्न सल्लाह दिइएको छ ।

प्रतिवेदनमा सामाजिक सञ्जाल एप प्रयोग गर्दा स्वास्थ्य चेतावनी देखाउन पनि भनिएको छ । यसका लागि समितिले एप प्रयोग गर्नुअघि वा प्रयोग गर्दा एप कम्पनीहरूले स्क्रिनमा चेतावनी पपअप सन्देश दिनुपर्ने सुझाव दिएको छ ।

यी पप-अप सन्देशहरूमा, एप प्रयोग गर्दा स्वास्थ्य जोखिमहरू र प्रयोगको लागि अधिकतम समय सीमा देखाइनेछ। समितिले स्मार्टफोन प्रयोगको लतलाई जनस्वास्थ्य सरोकारको रुपमा दर्ता गर्न भनेको छ । यसको उद्देश्य स्मार्टफोनको प्रयोगबाट उत्पन्न हुने समस्यालाई छिट्टै समाधान गर्नु हो।

यसका साथै चिकित्सकहरूले सबै उमेरका मानिसहरूलाई उपचारको क्रममा स्मार्टफोन प्रयोगको बारेमा सोध्न पनि आग्रह गरेका छन्। साथै, डिप्रेसन र एन्जाइटीसँग सम्बन्धित किशोरकिशोरीहरूलाई परीक्षण गर्दा यस्तै प्रश्नहरू सोध्न आग्रह गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *