एनपिएलः नरेनकाे पाँच विकेटमा सुदूरपश्चिमको दोस्रो जित

डिसी नेपाल
२० मंसिर २०८१ १६:४०

काठमाडौं। राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा सुदूरपश्चिम रोयल्सले दोस्रो जित हात पारेको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौं गुर्खाजलाई ७३ रनले हराएको हो।

सुदूरपश्चिम रोयल्सले जितका लागि दिएको एक सय ६८ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौं गुर्खाज १५ दशमलव पाँच ओभरमा ९४ रन बनाउँदै अलआउट भयो। काठमाडौंका लागि स्टिफन एस्किनाजीले सर्वाधिक ३७ रन बनाए। उनले ३३ बलमा एक छक्का र पाँच चौकाको मद्दतले ३७ रन बनाएका हुन्। सुमित महर्जनले १४, भीम सार्की र गेरहार्ड इरासमसले समान १०/१० र प्रतिक श्रेष्ठले आठ रन बनाए।

काठमाडौंका लागि माइकल लेविटले पाँच, शंकर रानाले तीन, रासिद खानले दुई रन बनाउँदा कप्तान करन केसी, नाथन सोटर र शाहब आलमले समान एक/एक रन जोडे। यो खेलमा काठमाडौंले अतिरिक्त दुई रन पायो।

सुदूरपश्चिम रोयल्सका लागि नरेन साउदले सर्वाधिक पाँच विकेट लिए। अभिनाश बोहोराले दुई विकेट हात पार्दा ब्रान्डन म्याकमुलेन र सैफ जैबले समान एक÷एक विकेट लिए। योसँगै सुदूरपश्चिम रोयल्सको यो दोस्रो जित हो। सुदूरपश्चिमले यसअघि विराटनगर किंग्सलाई ९० रनले पराजित गरेको थियो।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ६७ रन बनाएको थियो। सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलेनको अर्धशतक प्रहार गरे । उनले ३६ बलमा चार छक्का र तीन चौकाको मद्दतले सर्वाधिक ५४ रन बनाए। कप्तान दीपेन्द्रसिंह ऐरीले २५ बलमा दुई छक्का र तीन चौका प्रहार गर्दै ४२ रन जोडे।

यस्तै, विनोद भण्डारीले ३५, सैफ जैबले ११, रोहन मुस्तफाले चार र आरिफ सेखले तीन रन बनाए। खेलमा अविजित रहँदै स्कट कुग्गेलिजनले सात र इशान पाण्डेले एक रनको योगदान दिए। यो खेलमा सुदूरपश्चिमले अतिरिक्त दश रन पायो।

काठमाडौंका लागि रासिद खानले सर्वाधिक दुई विकेट लिए। गेरहार्ड इरासमस, शाहब आलम र कप्तान करण केसीले एक/एक विकेट लिएका थिए। एनपिएलमा काठमाडौं गुर्खाजको यो दोस्रो हार हो। तीन खेल खेलेको काठमाडौंले यसअघि एक खेलमा विजयी भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *