विवाह पञ्चमी महोत्सवअन्तर्गत मटकोर सम्पन्न

डिसी नेपाल
२० मंसिर २०८१ २०:२७

धनुषा। जनकपुरधामको रामजानकी विवाहपञ्चमी महोत्सवअन्तर्गत आज पाँचौँ दिन मटकोर कार्यक्रम एक समारोहबीच सम्पन्न भएको छ।

जनकपुरधामको ऐतिहासिक गंगासागर पोखरीमा भएको सो कार्यक्रममा नेपाल र भारतका साधु सन्तहरुको सहभागिता रहेको थियो। रामजानकीको झाँकी प्रदर्शनसहित भएको सो कार्यक्रमका सहभागी मिथिलानीले रामजानकीसम्बन्धी गीतसमेत गाएका थिए।

कार्यक्रममा जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशनदास वैष्णवको नेतृत्वमा मटकोरका लागि महिला तथा साधुसन्त गंगासागर पुगेका थिए। मटकोरमा रामजानकीको विवाहका लागि वेदी बनाउन माटो लगिने परम्परा छ। गंगासागरमा उत्तराधिकारी महन्तदासले माटो निकालेका थिए।

मधेस प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारी, संघीय सांसद जुली महतो, जिल्ला समन्वय समितिका अध्यक्ष राजनन्दन मण्डल, जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज साहलगायतको सहभागिता रहेको थियो।

अतिथि एवं साधुसन्तलाई प्रदेशसभा सदस्य रामआशिष यादव, सेभ हिस्टोरिकल जनकपुरधामका अध्यक्ष सुरेश शर्मा, सेभ हिस्टोरिकलका पदाधिकारीहरुले स्वागत गरेका थिए।

महिलाहरुले माटो बोकेर नगर परिक्रमा गरेका थिए। मटकोरको क्रममा गंगासागरको डीलमा भजनकिर्तनको कार्यक्रम राखिएको थियो। जानकीको प्रतीकको रुपमा रहेकी बालिकालाई लिएर बाँजागाजा मन्दिरको टोली गंगासागर पुग्ने गर्छ। वैदिक मन्त्र उच्चारण गरी विधिपूर्वक जानकी मन्दिरमा भित्र्याइएको माटोले रामजानकी विवाहका लागि वेदी तयार गर्ने चलन छ ।

जानकी जन्मोत्सवको सन्दर्भ पारेर विवाहको हरेक कार्यक्रम जनकपुरमा भइरहेको छ। शुक्रबार वैदिक परम्पराअनुसार रामजानकीको विवाह हुनेछ। जनकपुरधाममा सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवअन्तर्गत पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चोथौ दिन तिलकोत्सव र आज पाँचौँ दिन मटकोर कार्यक्रम भएको हो। शुक्रबार स्वयम्बर तथा विवाहोत्सव र शनिबार रामकलेवासँगै विवाहपञ्चमी महोत्सव सम्पन्न हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *