आइटिएफ टेनिस: नेपालका आरभ र सुनिरा सेमिफाइनलमा

डिसी नेपाल
२० मंसिर २०८१ २१:५२

कास्की। पोखरा रंगशालामा सञ्चालन भइरहेको आइटिएफ जे ३० टेनिस प्रतियोगितामा नेपाली खेलाडीद्वय आरभ सम्राट हाडा र सुनिरा थापा एकलतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन्।

कास्की जिल्ला टेनिस संघको आयोजनामा यही मङ्सिर १७ गतेदेखि जारी प्रतियोगिताको आज सम्पन्न खेलमा पुरुष एकलतर्फ नेपालको पाँचौँ वरियताका हाडाले भारतका दोस्रो वरियताका खेलाडी आदित्य मोरलाई ३-६, ६-४ र ६-३ ले पराजित गर्दै सेमीफाइनलमा स्थान पक्का गरे।

यसैगरी जुनियर विश्व शीर्ष वरियताका जापानका रिकु हिगाशीको सेमिफाइनल यात्रा भने समाप्त भएको छ। अष्ट्रेलियाका प्रतीक नवीनसँग ६-३, ६-३ को सोझो सेटमा उनी पराजित भए।

पुरुष एकलतर्फ चीनका हैनुओ गुओले भारतका शौर्य सामालालाई ७-५ र ६-२ ले पराजित गरे। भारतकै आश्रव्य मेहराले भारतकै ओजस मेहलावतलाई ४-६, ६-२, ६-० ले पराजित गरेका छन्।

महिला एकलतर्फ नेपालका सुनिराले भारतकी खोराकीवालालाई ६-१, २-६, ६-३ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरिन्। भारतकै महिका खन्नाले भारतकै रित अरोरालाई टाइब्रेकरमा ७-६(५), ६-७(७), ६-४ ले पराजित गरिन्।

मङ्गोलियाका मार्ता चोग्सोमजवले भारतकी दिशा बेहेरामाथि ६-४, ६-० को जीत निकाल्दै सेमिफाइनल प्रवेश गरेको प्रतियोगिताका निर्देशक अजय विष्टले जानकारी दिए। यसैगरी भारतीय खेलाडी सगुन कुमारीले भारतकै सयेटे वराडकर माथि ६-० र ६-४ को जीत हासिल गरिन्।

पुरुष डवल्सतर्फ भारतका ओजस मेहलावत र अधिराज ठाकुरको जोडीले भारतका प्रवीर मुकेश चावडा र रिकु हिगाशी (जापान) लाई ६-४, ६-७(३), १३-११ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेका छन्।

महिला डबल्सतर्फ महिका खन्ना र एन्जल पटेल (भारत) ले स्वस्तिका विष्ट (नेपाल) र अपरा खण्डारे (भारत)लाई ३-६, ६-४, १०-३ ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गर्न सफल भए।

दिशा बेहेरा र अरजान खोराकीवाला (भारत) ले मार्ता चोग्सोमजव (मङ्गोलिया) र सयेटे वराडकर(भारत) लाई ७-६(४), ६-० ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको आयोजक कास्की जिल्ला टेनिस संघले जनाएको छ। यही मङ्सिर २९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १० देशका पुरुष ७० र महिला ३५ गरी एक सय पाँच जना खेलाडीले सहभागिता जनाएका छन्।

प्रतियोगितामा नेपालसहित जापान, भारत, चीन, अमेरिका, न्युजील्याण्ड, ताइवान, मङ्गोलिया, बंगलादेश र कोरियाका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने कास्की जिल्ला टेनिस सङ्घका सचिव भीष्मराज पौडेलले जानकारी दिए।

प्रतियोगितामा १३ वर्षदेखि १८ वर्ष उमेर समूहमा हुने प्रतिस्पर्धाका विजेताले समान ३० अंक, उपविजेताले १८ अंक, सेमिफाइनलिष्टले नौ, क्वाटर फाइनालिष्टले पाँच र आर–१६ ले दुई अंक प्राप्त गर्नेछन् ।

त्यस्तै डबल्समा विजेताले २५ अंक, उपविजेताले १३, सेमि फाइनालिष्टले छ र क्वाटर फाइनालिष्टले तीन अंक प्राप्त गर्नेछन्। खेलाडीले प्राप्त गरेको अंकका आधारमा उनीहरुको वरियता निर्धारण हुनेछ।

प्रतियोगितामा पुरुष एकल तथा डबल्स÷महिला एकल तथा डबल्स गरी चार ‘इभेन्ट’मा प्रतियोगिता सञ्चालन हुने र विजेता तथा उपविजेताले प्रमाणपत्रसहित मेडल प्राप्त गर्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *