दिल्लीमा निराश नेपाली राजनैतिक बिचौलियाहरू

डिसी नेपाल
२१ मंसिर २०८१ ११:२५

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा गएका बेला आफूलाई ओलीको निकट बताउँदै आफूहरुले बीआरआई सम्झौता हुन नदिने दावीसहित भारत पुगेका नेपाली राजनैतिक बिचौलियाहरु दिल्लीबाट निराश भएर फर्किने अवस्थामा पुगेका छन्।

आफूहरुले भारतको इच्छाअनुसार बीआरआई सम्झौता रोक्न सक्ने दावी गर्दै भारत पुगेका यी राजनैतिक बिचौलियाहरु प्रधानमन्त्रीले बेइजिङमा बीआरआई सम्झौता गरिदिएपछि निराश भएका हुन्। उनीहरु भारतीय पक्षले नराम्रोसँग झपारेपछि निन्याउरो भएर नेपाल फर्किंदैछन्।

प्रधानमन्त्री चीन गएलगत्तै नेपालका हतियार तथा जग्गा कारोबारी, भारतीय सामान नेपाली बजारमा आयात गर्ने व्यापारी समेतका केही बिचौलिया भारत पुगेका थिए। उनीहरुले आफूलाई प्रधानमन्त्री केपी ओलीको निकट बताउँदै आफूहरुले चीनसँग बीआरआईसम्झौता हुनबाट रोक्ने आश्वासन भारतीय पक्षलाई दिएका थिए।

प्रधानमन्त्री चीन गएपछि दोस्रो दिन भएका सम्झौताहरुमा बीआरआई सम्झौताबारे केही उल्लेख थिएन। त्यो दिन बीआरआई सम्झौता नभएपछि नेपाली बिचौलियाहरुले भारतीय पक्षलाई आफूहरु भारतको इच्छाअनुसार बीआरआई सम्झौता रोक्न सफल भएको बताउँदै खुसी साटेका थिए।

यी बिचौलियाहरुले भारतीय पक्षसँग प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा अनुदान बाहेक अन्य कुनै पनि सम्झौता हुन नदिने जिम्मेवारी नै लिएको बताइन्छ। सोही अनुसार प्रधानमन्त्रीको भ्रमणका क्रममा सुरुमा भएका सम्झौताहरुमा बीआरआई नपरेपछि उनीहरुले आफूहरु सफल भएको दावी गरे। त्यो दिन बेलुका भारतीय पक्ष र नेपाली बिचौलियाहरु सम्मिलित पार्टी नै भएको बताइन्छ।

तर, त्यसको भोलिपल्टै सहायता शब्द राखेर प्रधानमन्त्रीले चीनसँग बीआरआई सम्झौता गरिदिएपछि नेपाली बिचौलियाहरु अप्ठ्यारोमा परे। उनीहरु असफल भएपछि भारतीय पक्षले उनीहरुलाई राम्रैसँग झपारेको बताइन्छ। त्यसपछि उनीहरु निन्याउरो भएर बसेका थिए। ती बिचौलियाहरु आज शुक्रबार नेपाल फर्किन् लागेको स्रोतले जानकारी दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *