साउदीमा ‘हुरुब’ लागेका नेपाली कामदारले नयाँ कम्पनीमा जान पाउने

डिसी नेपाल
२२ मंसिर २०८१ ७:४०

काठमाडौं। साउदी सरकारले हुरुब लागेका नेपाली कामदारले १ डिसेम्बर २०२४ देखि २९ जनवरी २०२५ सम्म ६० दिनको अवधिमा हुरुब हटाई नयाँ कम्पनीमा जाने अवसर प्रदान गरेको छ ।

रियादस्थित नेपाली दूतावासका अनुसार साउदी बोलीचालीको भाषामा हुरुब भन्नाले कम्पनीले कामदार कम्पनीमा अनुपस्थित रहेको भनी अनलाइन सिस्टममा रिपोर्ट भएको अवस्था बुझ्नुपर्ने हुन्छ । हुरुब भएको व्यक्तिको स्टेटस साउदीमा अवैधानिक-इलिगल हुने त्यहाँको मानव संसाधन र सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

किवामा खाता खोलेको हुनुपर्छ । नयाँ कम्पनीबाट किवामा ट्रान्सफरका लागि रोजगार सम्झौतासहितको रिक्वेस्ट मगाउनुपर्छ । किवामा लगइन गरी कामदारले १० दिनभित्र अध्ययन गरी नयाँ कम्पनीले प्रस्ताव गरेको रोजगार सम्झौता स्वीकार गर्नुपर्ने दूतावासले जनाएको छ । यो कार्य २९ जनवरी २०२५ भित्र गरिसक्नुपर्नेछ ।

किवा के हो ?
रोजगारदाता र कामदारबीच सम्बन्ध स्थापित गर्न तथा नियमित कार्य सञ्चालन गर्न साउदी सरकारद्वारा विकास गरिएको अनलाइन वेवसाइट प्लेटफर्म हो, किवा । किवा वेवसाइटमार्फत कामदारले कार्यानुभवको प्रमाणपत्र प्राप्त गर्न, आफ्नो रोजगार सम्झौता हेरी स्वीकार-अस्वीकार-पुनरावलोकन गर्न, रोजगारी अन्त्य गर्न, नयाँ कम्पनीबाट रोजगारीको अनुरोध प्राप्त गर्नलगायतका धेरै सुविधा प्राप्त गर्न सकिन्छ । यसलाई ब्राउजरमा किवा डट एसए लिंकमार्फत भिजिट गर्न सकिन्छ । यसै प्लेटफर्म वा वेवसाइटमार्फत आफ्ना जिज्ञासा समाधान गर्न साउदीको लेबर अफिसमा अपोइन्टमेन्ट लिनसमेत सकिने व्यवस्था रहेको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

के हो हुरुब ?
कामदार कम्पनीमा अनुपस्थित रहेको भनी कम्पनीले सिस्टममा उल्लेख गर्नासाथ किवामा अकाउन्ट हुने व्यक्तिको मोबाइलमा म्यासेज गएको हुन्छ । किवामा अकाउन्ट नहुने व्यक्तिले हुरुब लागेको म्यासेज प्राप्त गर्न सक्दैन । यस्तो म्यासेज प्राप्त नभएको अवस्थामा दूतावासले उपलब्ध गराएको लिंकमा गई अकामा नम्बर इन्ट्री गरेर सर्च गर्न सकिने जनाएको छ ।

हुरुब हटी नयाँ कम्पनीमा ट्रान्सफर भएपश्चात कामदार साउदीमा अवैधानिक नहुने र नयाँ कम्पनीले अकामा बनाई वैधानिक रूपमै आफ्नो कम्पनीमा काममा लगाउन सक्नेछन् । साथै हुरुब लागेका नेपाली कामदारलाई यस प्रक्रियामा सहभागी हुन दूतावासको विशेष अनुरोध छ ।

राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *