कांग्रेसको आन्तरिक विवाद उत्कर्षमा, देउवा-शेखर आमने सामने
काठमाडौं। मंसिर १६ मा सम्पन्न उपनिर्वाचनमा सत्तारुढ दल नेपाली कांग्रेसले ४४ स्थानमध्ये १९ स्थानमा जित हासिल गर्यो। २०७९ को स्थानीय तह निर्वाचनमा २७ स्थानमा जितेको कांग्रेस उपनिर्वाचनमा ८ स्थान गुमाउन पुग्यो।
२०७९ मा नेकपा माओवादी केन्द्रसँग गठबन्धन गरेको कांग्रेस उपनिर्वाचनमा एक्लै चुनावी प्रतिस्पर्धामा थियो। एक्लै प्रतिस्पर्धा गर्दा पनि राम्रो नतिजा ल्याएको भन्दै कांग्रेस महामन्त्री विश्वप्रकास शर्माले विज्ञप्तिमार्फत नै खुसी व्यक्त गरेका थिए।
दुई जिल्लामा जिल्ला समन्वय प्रमुख, एक पालिका प्रमुख र १६ वडाध्यक्ष विजयी भए पनि कांग्रेसमा उपनिर्वाचनपछि असन्तुष्टि बढेको छ। असन्तुष्टि बढ्नुको कारण मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष पराजित हुनु बन्न पुगेको छ।
ग्रामनाथमा संस्थापन पक्षले असहयोग गरेका कारण पराजित हुनुपरेको इतर पक्षको आरोप छ। मोरङ केन्द्रीय सदस्य डा. शेखर कोइराला समूहको प्रभाव क्षेत्र मानिन्छ। सोही स्थानमा २०९७ मा जितेको पालिका प्रमुख उपनिर्वाचनमा गुमाउन पुग्दा कोइराला समूह रुष्ट बनेको हो।
र, कोइराला पार्टी सभापतिमाथि खनिएका छन्। विवाद यतिसम्म बढेकाे छ कि शनिबारदेखि सुरु कोशी प्रदेशको प्रथम सम्मेलन डा. कोइरालाले बहिष्कार नै गरे।
पार्टीको १५औं महाधिवेशनको तयारी थालेका डा. कोइरालाले गृह प्रदेशकै प्रथम प्रदेश अधिवेशनलाई बहिष्कार गरेसँगै संस्थापन र इतर पक्षबीच थप टकराव हुने देखिएको छ। कोइरालाले विराटनगरमा जारी प्रदेश अधिवेशनलाई चुनौती दिनेगरी यसअघि बुधबार नै कोशी प्रदेशस्तरीय पालिका सभापतिहरूको भेला सम्पन्न गरिसकेका छन्।
कोशी प्रदेशका १३७ पालिका सभापतिमध्ये ११३ र ६ वटा महानगरका सभापतिहरू इतर पक्षको भेलामा सहभागी भएका दाबी गरिएको छ। विराटनगरमा हुने सम्मेलनको पूर्व-सन्ध्यामा शेखर समूहले प्रदेशका पालिका सभापतिहरूको भेला राखेपछि संस्थापन पक्ष पनि आक्रोशित छ।
स्थानीय तह उपनिवार्चनमा डा. कोइरालाको गृहजिल्ला मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदको परिणामपछि सुरु भएको संस्थापन र इतर समूहको द्वन्द्व पार्टीको सम्मेलन बहिष्कारसम्मको अवस्थामा पुगेको छ।
सम्मेलनमा सहभागी हुन पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापासहित पार्टीका केन्द्रीय पदाधिकारी, पूर्व-पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापतिहरू, प्रतिनिधिसभा क्षेत्रीय सभापतिहरू, महासमिति सदस्य सहभागी छन्।
यस्तै, महाधिवेशन प्रतिनिधि, पालिका सभापति, प्रतिनिधिसभा तथा प्रदेश अधिवेशन प्रतिनिधिहरू पनि सम्मेलनमा सहभागी छन्। तर, काठमाडौंबाट केन्द्रीय नेताहरू विराटनगर पुग्दा विराटनगरमै रहेका शेखर भने पूर्व-निर्धारित कार्यक्रम भन्दै चितवन पुगेका थिए।
पार्टीको १४औँ महाधिवेशनमा देउवासँग सभापतिमा प्रतिस्पर्धा गरेका कोइरालाको अहिले कांग्रेसको आन्तरिक मर्यादाक्रममा २६औं स्थान छ। कोइरालाले पार्टीको १५औं महाधिवेशनमा सभापति उठ्ने भन्दै गतिविधि तीव्र पारेका छन्।
प्रदेश सम्मेलनमा बन्द सत्रमा ६४८ जना प्रतिनिधिहरू सहभागी हुने र सोही सत्रले कांग्रेस कोशीको राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदनमाथि छलफल गर्दै पारित गर्नेछ।
Facebook Comment