१४ वर्षका किशोरले सुरु गरेका थिए सिरियाको विद्रोह, भित्तामा लेखेका थिए- ‘डाक्टर अब तिम्रो पालो’
काठमाडौं । सिरियामा असद परिवारको शासन समाप्त भएको छ । सिरियामा असद परिवार ५३ वर्षदेखि सत्तामा थियो। आइतबार विद्रोहीले राजधानी दमास्कस कब्जा गरेका छन् । विद्रोहीहरूले सत्ता हातमा लिनुअघि नै राष्ट्रपति बसर अल-असद देश छोडेर रुस पुगेका थिए।
बशर अल-असद सन् २००० देखि सत्तामा थिए। उनीअघि उनका पिता हाफिज अल असदले २९ वर्षसम्म शासन गरेका थिए । बुबाको मृत्युपछि सिरियामा बसरले सत्ता हात पारेका थिए ।
असद परिवारलाई तानाशाहको रूपमा हेरिएको थियो। सन् २०११ मा सिरियामा प्रदर्शन सुरु हुँदा राष्ट्रपति बसरले उनीहरूलाई निर्ममतापूर्वक दबाउन खोजेका थिए।
त्यसपछि यहाँ गृहयुद्ध सुरु भयो। करिब १३ वर्षअघि सिरियामा सुरु भएको असदविरुद्धको विद्रोह १४ वर्षका बालकले सुरु गरेका थिए । ती किशोरको नाम थियो- मौविया स्यास्नेह।
फेब्रुअरी २०११ मा दक्षिणी सिरियाली शहर दाराको एक विद्यालयको भित्तामा सरकार विरोधी नाराहरू लेखिएको थियो। यी नाराहरू मौविया स्यास्नेहले लेखेका थिए । उनले लेखेका थिए, ‘एजाक अल-डोर, या डाक्टर।’ नेपालीमा यसको अर्थ हुन्छ ‘अब तिम्रो पालो हो डाक्टर।’
यहाँ डाक्टर शब्दले बसर अल-असदलाई संकेत गरएको थियो । किनभने सत्तामा आउनुअघि बसर पेशाले डाक्टर थिए । उनले लण्डनमा आँखाको सर्जनको तालिम लिएका थिए । जब मौवियाले आफ्नो विद्यालयको भित्तामा स्प्रे लगाएर यो नारा लेखे, सायद उनले आफ्नो यो सानो कदमले गृहयुद्ध सुरु हुन्छ भन्ने सोचेका थिएनन् ।
थित्तामा असदविरुद्ध यस्ता कुरा लेखेको भन्दै प्रहरीले मौविया र उनका साथीहरूलाई पक्राउ गरेको थियो। उनलाई गोप्य प्रहरी ‘मुखाबरात’ले २६ दिनसम्म हिरासतमा राखेको थियो । प्रहरीले आफूलाई धेरै यातना दिएको मौवियाले दाबी गरेका थिए ।
त्यसपछि मौविया र उनका साथीहरुको रिहाइको माग गर्दै प्रदर्शन भए । यी प्रदर्शनहरूलाई दबाउन असद सरकारले गोली चलायो। अश्रु ग्यास प्रहार गरेको थियो । असद सरकारले यी विरोध प्रदर्शनहरूलाई दबाउन बल प्रयोग गर्दा विरोधीहरूलाई थप रिस उठ्यो। यसपछि दारामा मात्र नभई सिरियाभरि असदविरुद्ध प्रदर्शन सुरु भएको थियो।
मार्च १५, २०११ मा सिरियाभर पहिलो पटक ‘डे अफ रेज’ अर्थात ‘क्रोध दिवस’ मनाइयो। देशैभर चर्को विरोध भयो । असदलाई सत्ताबाट हटाउन जनता सडकमा उत्रिए । यसरी सिरियामा गृहयुद्ध सुरु भयो।
मौविया स्यास्नेहबारे अल जजीराले बनाएको डकुमेन्ट्री हेर्नुहोस् –
सिरियामा बसर अल-असदको शासन विरुद्धको विद्रोह सन् २०११ मा अरब स्प्रिङको प्रभावबाट सुरु भएको थियो। प्रजातन्त्र समर्थक विद्रोह अरब स्प्रिङ अफ्रिकी देश ट्युनिसियाबाट सुरु भएको थियो र यसको प्रभाव यमन, इजिप्ट, बहराइन हुँदै सिरियासम्म पुगेको थियो ।
जब जनता असद सरकारलाई सत्ताबाट हटाउन सडकमा उत्रिए, राष्ट्रपति असदले सेना पठाए। आन्दोलनलाई निर्ममतापूर्वक दबाइयो। जसका कारण शान्तिपूर्ण प्रदर्शन हिंसामा परिणत भएको थियो । त्यसपछि हतियार उठाउने धेरै विद्रोही संगठन पनि देखा परे र सिरियामा गृहयुद्ध सुरु भयो।
यी आन्दोलनबाट प्रभावित भएर सरकारी सेनामा पनि दुई गुट बने । सरकारी सेनामा असदविरुद्ध विचार राख्ने सैनिकले ‘फ्री सिरियन आर्मी’ नामको संगठन बनाएका थिए । त्यसपछि इस्लामिक स्टेट जस्ता आतंकवादी संगठनले पनि आफ्नो तरिकाले यी विद्रोहको फाइदा उठाए।
सिरियामा ५३ वर्षदेखि सत्तामा रहेको असद परिवारको शासन ११ दिनमै समाप्त भएको छ । ११ दिनअघि नोभेम्बर २७ मा विद्रोही समूह हयात तहरीर अल-शाम (एचटीएस) का लडाकुहरूले युद्ध सुरु गरेका थिए।
डिसेम्बर १ मा एचटीएस लडाकुहरूले सबैभन्दा ठूलो सहर, अलेप्पो कब्जा गरे। डिसेम्बर ८ मा राष्ट्रपति बसर अल-असद विद्रोही लडाकूहरू राजधानी दमास्कस पुग्नु अघि देशबाट भागेका थिए।
१३ वर्षअघि मौविया स्यास्नेहको एउटा कसमले सिरियालाई गृहयुद्धमा धकेल्यो । मौविया त्यो कमको लागि अझै पनि पछुताउँछन्।
अल-जजिराको डकुमेन्ट्रीमा मौवियाले भनेका छन् – “यदि मलाई मेरो कार्यको नतिजा कस्तो हुन्छ भन्ने थाहा भएको भए राष्ट्रपति असदको विरुद्धमा यस्तो कुरा कहिल्यै लेख्ने थिइन।” मौवियाले सिरियाली गृहयुद्धमा आफ्ना बुबा, साथीहरू र धेरै आफन्तहरू गुमाएका छन्।
मौवियाका ती शब्दका कारण सुरु भएको गृहयुद्धमा सिरियामा पाँच लाखभन्दा बढीको मृत्यु भइसकेको छ । सिरिया पूर्ण रूपमा ध्वस्त भएको छ। १.३ करोडभन्दा बढी मानिस विस्थापित भएका छन् ।
Facebook Comment