संस्मरण : नेपाल, समय नै पुगेन यार !
नेपाल अमेरिका फन्को मारिरहन्छु। भ्याए जति। सके जति। धाने जति। कहिलेकाँहि त लाग्छ म राणाकालीन दौडाहा हँु। फगत दौडिरहन्छु। भट्टा बस्नुभन्दा पहिले दौडिरहने मेरो अभिध्येय हो। चेष्टा हो।
सन २०२४ नोबेम्बर २७ का दिन चार महिने नेपाल यात्रा तुरेर फेरि अमेरिका फिरेको छु। जेड ल्यागका कारणले लखतरान परेर ओछ्यानमा पल्टेको छु। शरीर अमेरिका आइपुगेको छ, तर नेपालकै दिनरात बुझिरहेको छ। अमेरिकाको दिनलाई रात र रातलाई दिन।
यही दौरान नेपाल यात्राका दौडाइका दृश्यविम्बहरू मानसपटलमा कुदिरहेका छन्। यात्राले जीवनबोध गराउँछ। बाँचिरहेको अर्थ दिन्छ। देश दुनियाको दृष्टि दिन्छ। र, रमाउँछ मान्छे। यात्रा नै यस्तो संयोग हो जहाँ पाएको दुःख पनि सम्झँदा आनन्ददायी हुन्छ।
यात्रासँग दाँजेर म सोचिरहेको छु जिन्दगीलाई। जिन्दगी एउटा अपूर्ण यात्रा जस्तो लाग्छ। अपूर्ण भन्दा पनि अधुरो। अधुरो भन्दा पनि अपुग। किनकि पूर्णता असम्भव कल्पना हो। अधुरो यसकारण कि जति गरे पनि नसकिने, जति भोगे पनि तृप्त नहुने। अपुग यसकारण कि जति भए पनि नपुग्ने।
त्यसकारण जिन्दगी भन्नु पूर्णताको पञ्जा होइन; हिँडाइको चेत हो। मान्छे परिवेशीय जिन्दगी बाँच्छ। जीवनका निर्णयहरू आइलाग्ने परिवेशीय चेतले गर्छन्। संयोगले गर्छन्। त्यसैले जन्मदेखि मृत्युसम्मका जीवन परिवेशीय हुन्। मेरो जन्माइ, हुर्काइ, लेखाइ, पढाइ, जागिर, चेत, दृष्टि यी सवै परिवेशीय हुन्। संयोग हुन्। मेरा निजात्मकताले यही भन्छ।
यस्तै परिवेशीय सनासोले च्यापेर बाँच्छ मान्छे। र, म पनि यस्तै जिन्दगीको सनासोले च्यापिएर अमेरिका बसेको छु। त्यसो त नेपालमै बस्नु पनि परिवेशीय सनासोको घनचक्कर त हो जिन्दगी। कसाइ त हो जिन्दगी। यही कसाइका क्रममा आप्रवासी पीडामा छु। आप्रवासी पीडा भन्नु नै प्रवासमा छँदा नेपाल दुख्नु हो।
नेपाल छँदा जिन्दगी चक्काजाममा पर्नु हो। नेपाल दुःख्नु र चक्काजाममा पर्नु पनि अनुभूति मात्र हो। यथार्थको भ्रम हो। अर्थात् भिरको चिन्डो उँधो न उँभो हो। पहिलो पुस्ता नेपालीले अर्को देशको ग्रिनकार्ड लिनु वा नागरिकता लिनु प्राविधिक कुरा हो। कानुनी कुरा हो। तर मान्छे भने नेपाली भइरहन्छ।
यद्यपि नेपालको निगेटिभिटी यो मामलामा पनि चरम छ। अमेरिकाका रातहरू सलल बग्छन्। दिनहरू कुदिरहन्छन्। पलपल मुटु धकधक गरिरहन्छ। जिन्दगी सन्न बज्न थाल्छ। यो बेला मनले नेपालका भिरपाखा, कुलोकुल्याँसो, धुलोधुवाँ, चाडपर्व, इष्टमित्र, समाज देश सम्झन्छ।
यो सम्झनु भनेको नै होम सिक हो। यो सम्झाइ नै नेपालीपन हो। त्यसैले यो रोगको उपचार नै नेपाल यात्रा हो। सम्झनाको सम्याइ हो। तिर्सनाको तिर्खा मेटाइ हो। यद्यपि जति सम्यायो उति उक्लिने हुन्छ सम्झना। जति मेटायो उति प्रखर हुन्छ तिर्खा। आप्रवासी नेपालीको मृत्युपर्यन्त चलिरहने द्वन्द्व हो नेपालको माया, विदेशमा काया।
खास कारण यत्ति हो नेपाल यात्राको। त्यसमाथि मातृभूमि पुगेपछि अलिअलि प्राविधिक काम पनि नहुने कुरा भएन।
यसो भएकाले सन २०२४ को जुलाई २८ का दिन चार महिने नेपाल यात्राका लागि निस्केको थिएँ। मेरो जीवनको लक्ष्य रम्नु हो। यही वर्तमानमा प्राप्त जीवनलाई रङ्गिन बनाउनु हो। मधुमय बनाउनु हो। विगतको अधिक आडम्बर तथा न्यूनतामा वितेको विगतको कुण्ठालाई जिन्दगीको मानक बनाउने मान्छे होइन म।
‘बाजेले घिउ खाए हात सुँघ’ भन्ने गौरवबोध पनि छैन ममा। ‘आफू मरे मात्र स्वर्ग देखिन्छ’ भन्ने कुरा महत्त्वपूर्ण हो। तर्कना गरेर सुन्दर भविष्य निर्माणमा हिँडेको मान्छे पनि होइन म। जे हात त्यही साथ मेरो दृष्टिविम्ब हो। मेरा लागि यही वर्तमान जीवन याने खेमराजले भोगेको, भोग्दै रहेको तथा भोग्नेवाला जीवन नै तीनत्रिलोक चौध भुवन हो। गन्तव्य मेरो वर्तमान मात्र हो।
त्यसैले कोही रिसाउला वा खुसाउला भन्ने कुरालाई म महत्त्व दिन्न। तर एकपल्टको जुनीमा किन पो रिसाउने भन्ने बोध भने आइरहन्छ। नरिसाउन भने प्रयत्नरत छु। अर्थात् यसो भन्नुको कारण मेरो नेपाल यात्राको प्रधान अभिध्येय रम्नु मात्र हो। कुण्ठाका जमाइमा जम्नु होइन। विरासत थाम्नु पनि होइन। मनको मनमय हिँडाइ मेरो गन्तव्य हो। वर्तमान गन्तव्य नेपाल हो। नेपालसँग जोडिएको धमनीको आवाज हो।
त्यसो त व्यक्तिगत काम पनि थिए नेपाल यात्राका। पासपोर्ट बनाउनु थियो -तर त्यो पासपोर्ट राजदूतावासमा पनि बन्थ्यो। पेन्सन खानु थियो -केही वर्षपछि पुगेको भए पनि पेन्सन मेरै थियो। आमाको चौरासी पूजा थियो- म नगएको भए पनि त्यो पूजा हुन्थ्यो।
पुस्तक प्रकाशन गर्नु थियो-त्यो अमेरिका नै बसीबसी हुन्थ्यो। हो तर मैले ती सबै काम गर्ने बहानामा नेपाल यात्रा शुरु गरेको हो। प्रधान ध्येय भनेको नेपालसँग रम्नु थियो। मितमिताहरूको सान्निध्यमा मितेरी उजिल्याउनु थियो। के ठेगान जीवनको जाहेरी कतिञ्जेल सुन्छ जिन्दगीले। एउटा जुनी हो। जाहेरी सकिएका दिन म सकिन्छु र त्यसपछि खिसा खत्तम। त्यसपछि न नेपाल न अमेरिका। न वरत्र, न परत्र। न मित, न मितिनी।
नेपालमा मैले जीवनका बाल्यदेखि बैँस तथा प्रौढउन्मुख जिन्दगी बिताएँ। नेपालमा मेरा आमाबुबा हुनुहुन्छ। आफन्त छन्। साथीभाइ छन्। इष्टमित्र छन्। मैले घस्रँदै हिँड्न सिकेको धुले माटो छ। धुले बाटो छ। लाप्पा खेलेको बगर छ। इनोसेन्ट माया गरेका मायालु छन्। भैँसीका डँडाल्नु माडेका आहालहरू छन्।
अहिले पक्की भएर बसेको भए पनि त्यो बेला पानीपर्ने छेकछन्द देखिनेबित्तिकै छुट्टी हुने खरले छाएको झुप्रो स्कुलको अनुभूति छ। त्यो सवै थोकभन्दा मैले बुझ्ने मेरै धुकधुकी छ। याद छ। तृष्णा छ। अपनत्व छ। र मलाई हृदयदेखि माया गर्ने ममत्व छ। ती सब नेपालमा छन्। मैले ती गुमाएको छु।
यो पीडाको अनुभूति गुमाउनेलाई मात्र थाहा हुन्छ। आमासँग बसेको छोराले आमाबिनाको जिन्दगीको कल्पना गर्न सक्दैन। यस्तै हो प्रवासी पीडा। आमा गुमेको पीडा र देश गुमेको प्रवासी पीडा एकै खालका हुन्। तपाईँले भनिदिनु हुन्छ “आफ्नै खुसीले प्रवासी भएको त होस् खेम !”
तर म भन्छु मान्छेले आफूखुसी के पो गर्न सक्छ र ? परिवेशले झाँटेर पराल बनाइ सकेपछि धानबिनाको रित्तो हुने त हो। मान्छेले आफैँ गर्छु भनेको निर्णय शतप्रतिशत परिवेशीय हो। त्यसैले तपाईँ जे भन्नुस् म परिवेशका कारण अमेरिकामा छु। प्रवासमा छु। त्यसो त तपाईँको तडपन वा तृष्णाले पनि मेरो परिवेशलाई केही फरक पर्दैन। मेरो परिवेशको म एकल मालिक हुँ।
अमेरिकाको टेक्सस राज्यको ह्विस्टन एयरपोर्टबाट दोहा र त्यहाँबाट काठमाडौं- हाम्रो प्लेन यात्रा। याने हामी दुई बुढाबुढीको। ह्विस्टनदेखि दोहासम्मको १६ घन्टे लगातार लगातार उडाइ मानसिक तथा भौतिक रूपमा कहरपूर्ण हुन्छ। आकाशमा उडिरहनु मानसिक तनाबको विषय हुने नै भयो।
भौतिक रूपले पनि इकोनोमी क्लासका साँघुरा सिटमा खुम्चिएर १६ घन्टा बिताउनु चानचुने धैर्यको कुरा होइन। बुढा हड्डी कक्रक्क पर्छन्। अररिन्छन्। उचाइमा पुगेपछि आँत आत्तिन थाल्छ। तर फेरि यथार्थ भनेको नेपाल जानु छ। यसो हो भने त्यो कहर खेप्नु नै पर्छ। यसमा रोइलो गर्नुको पनि केही अर्थ छैन।
जहाज उडिरहेको थियो लगभग ३९००० फिटमाथि। संसारको सर्वोच्च शिखर मेरै देशको सगरमाथाभन्दा लगभग दस हजार फिट अग्लाइबाट। लगभग ९०० किलोमिटर प्रटिघन्टा दौडिँदै थियो जहाज।
सिटअगाडिका स्क्रिनमा उडानको अवस्थाका बारेमा जानकारी दिइरहेको थियो। समय बिताउने मेलो सिनेमासङ्गीत नै हुन्छन् यात्रामा। विदेश लागेपछि जहाजको स्क्रिनमा नेपाली गीतसङ्गीत पाउनु त असम्भव नै हो। हिन्दी तथा अङ्ग्रेजी सामग्रीमा भुलिनु पर्ने बाध्यता नै रहन्छ।
स्क्रिनमा बेलाबेलामा कतारमा घुम्ने ठाउँको जानकारी दिइरहेको थियो। सोचिरहेको थिएँ पर्यटकलाई लोभ्याउने योभन्दा गतिलो प्लेटफर्म के होला र ! सानो देश चमत्कार चर्को। हेर्दा हेर्दै दोहामा जहाज अवतरण भयो।
ट्रान्जिट आधा घन्टा मात्र भएकोले जहाज छुट्ला भन्ने मानसिक तनाबमा थिएँ त्यतिबेला। जहाज छुट्यो भने फेरि अर्को दिन दोहा विमानस्थलको क्वाइट एरियाका कुर्सीमा रात बिताउनु पर्ने छ। तर संयोग आधा घन्टामा नेपाल जाने प्लेन चढ्न भ्याइएको थियो।
दोहाबाट काठमाडौँका लागि जहाज उडेको थियो। सोचिरहेको थिएँ कि अब ५ घन्टा परतिर मेरो देश छ। सम्झन्छु कति समय हो र ५ घन्टा ! विराटनगरबाट काठमाडौँ आउँदा १५ घन्टा खँदारिएको अनुभव धेरैपल्टको छ। बाजेकै कुरा गर्ने हो भने मानोसामलको जोहो गरी महिनौँ लगाएर नेपाल (काठमाडौँ) छिरेको कथा कथा होइन। यथार्थ थियो। त्यसैले टाढानजिक भन्नु पनि मन रहेछ।
जहाजमा दोष लाइहाल्नु पर्ने कुनै कारण थिएन। अन्तर्राष्ट्रिय मापदण्ड अपनाएकै होलान्। एयर होस्टेजको व्यवहार सदाशयपूर्ण थियो। सहयोगी थिए। राम्रा पनि थिए। हाँसेर बोल्थे। तर हामी बसेकै हारमा बसेको एउटा नेपाली जहाजमा रक्सी खाएर अत्यधिक मातिएको थियो। जेपायो त्यही बोलेर र बान्ता गरेर छरपष्ट पारिरहेको थियो। नेपाली भएका नाताले मलाई कुरीकुरी लाग्नु स्वाभाविक थियो। त्यसो त नेपाल झर्ने एयरलाइन्सका एयर होस्टेजका लागि भने यो सामान्य हो।
सित्तैमा रक्सी खाएर बान्ता आउने गरी मात्तिनु हल्ला गर्नु सामान्य ठान्छन्। सन २००७ को जुन महिनामा पनि गल्फ एयरको जहाजबाट नेपाल झर्दा त्यस्तै देखेको भोगेको थिएँ मैले। म सोचिरहेको छु कि संसारभरिका मान्छे रक्सी खान्छन्। तर त्यसको पनि कुनै सीमा हुन्छ सायद। यही सीमा उलङ्घन गर्ने नेपालीका कारण नेपालमा रक्सीका प्रति निगेटिभिटी व्याप्त छ। यो कुरा जायज पनि हो।
दोहाबाट नेपाल आउँदा जहाजका स्क्रिनले नेपालका बारेमा केही बताउँदैन। नेपाली भएका नाताले मलाई लागिरहेको थियो कि नेपालको पशुपति, वसन्तपुर, दरबार स्क्वायर, हिमाल, पहाड जस्ता पर्यटकीय गन्तव्य देखाइदिएको भए पनि हुन्थ्यो। तर मैले सोच्दै मात्र त किन देखाउँथ्यो र जहाजले। उनीहरू बीचमा पैसाको लेनदेन होला। कुटनीतिक सक्षमता÷असक्षमताको कुरा पनि होला।
त्रिभुवन विमानस्थलमा जहाज ओर्लिएपछि इमिग्रेसनको लाइन लामो थियो। तर कर्मचारीको दक्षताले झन्झट व्योहोर्नु परेन। फटाफट काम भयो। यो भने सुन्दर पक्ष हो नेपालको व्यवस्थापनको। तर अमेरिकी कर्मचारी हँसिला भएर सेवा गर्छन्।
भलै उनीहरूको त्यो हँसिलोपन कृत्रिम हो। नेपालमा मात्र होइन; संसारभरिका एयरपोर्टमा हुने एक्स रे र सेक्युरिटी चेक यति तनाबपूर्ण हुन्छ कि यात्रु विचलित हुन्छ। खल्तीका सामान सबै झिकेर ट्रेमा हाल, जाँचपडताल गरा। अनि बाहिर निस्की। यही तनाबका क्रममा मेरो मोबाइल हरायो।
मोबाइल हराएका बारेमा पुलिससँग हल्ली खल्ली त गरेको थिएँ। तर पनि पाउने सम्भावना थिएन। स्वाभाविक रूपले तनाबमा थिएँ। त्रिकोणात्मक द्वन्द्वमा थिएँ। एक त रातको २ बजे, अर्कोतिर भोक, अर्को कुरा मोबाइल।
तर छोरीको ‘भैगो बाबा, चिन्ता नगर्नू, अर्को किनौँला’ भन्ने वाक्यले तैरिँदा त्यान्द्रो भेटेजस्तो भएको थियो। आफन्त प्रहरी अधिकारीहरूको सहायताले मोबाइल फोन फेला पर्यो। धन्न प्रहरी अधिकारी।
छोरीज्वाइँको सहायताले सुकेधारा स्थित एयर बिएन्बी घरमा बस्नु थियो। डेरा घरको माथ्लो तलामा घरबेटी, तल्लो तलामा एयरबीएन्बीमा हामी बास बसेका थियौँ। पैसा लिने सुबिधा नदिने नेपाली घरबेटीको मानसिकता देखिन थाल्यो।
हामी घरबेटीको व्यवहारसँग आजित भयौँ। वास्तवमा पैसा तिर्ने चाहिँ महत्त्वपूर्ण हुनु पर्ने तर नेपालमा चाहिँ उल्टो चलन छ, पैसा पाउने चाहिँ ठुलो। यही ठुलोपनको मानसिकताको पीडामा रन्थनिएर डेरा सर्याैं आफन्तको घरमा।
नेपाल यात्राको पहिलो गन्तव्य सामूहिक रूपमा लघुकथाका कृतिको विमोचन गर्नु थियो। मेरो आफ्नै सातौँ लघुकथाकृति ‘एकालाप’ सहित विविध लघुकथाकारका २५ लघुकथाकृतिको सामूहिक विमोचन भएको क्षण मेरा लागि महत्त्वपूर्ण तथा अनुपम थियो।
अवधिभर म नेपालको फन्कामा व्यस्त भएँ। मेरो व्यस्तता ‘काम पनि छैन, फुर्सद पनि छैन’ भने झैँ थियो। गर्न त सिन्को भाँचिनँ। तर लक्ष्मण अर्यालको नवलघुकथाकृति ‘दुर्बिन’ को विमोचनमा टीप्पणी राख्न चितवन पुगेँ। मेरो जन्मघर सप्तरी पुगी मेरा ९१ वर्षीय पिता र ८४ बर्सीय आमाका हातबाट दसैँ टीकोसहितको आशीर्वाद ग्रहण गरेँ।
श्रीमतीसहित झापा बैगुन्धुरा पुगेर ससुरालीमा दसैँ मानेँ। फेरि सप्तरी फिरेर लघुकथा प्रतिष्ठान नेपालद्वारा आयोजित मेरै लघुकथाकृति ‘एकालाप’ माथि आफ्नै गाउँमा भएको विशद परिचर्चा कार्यक्रममा समावेश भएँ।
तत्पश्चात झापा पुगेर पारिवारिक भेटघाट गरेँ। वरिष्ट साहित्यकार चूडामणि रेग्मीको घर पुगेँ। विद्वान होम सुवेदीको घरैमा पुगेँ। लेखनाथको सालिकसँग फोटो खिचे। पुस्तकालयको दर्शन गरेँ। गलगललिया जाने मोची पुल तरेँ। भद्रपुरको पुरानो बजार हेरेँ।
तत्पश्चात लघुकथाकार सारथी शारदा दाहालको साथमा भारतको मिरिक पुगेर एलबी प्रधानको दार्जिलिङ जर्नल पब्लिकेसनबाट भएको स्वागत कार्यक्रममा भाग लिएँ। दार्जिलिङ पुगेर सुधपाले स्थापना गरेको नेपाली साहित्य सम्मेलनले आयोजना गरेको भेटघाट कार्यक्रममा भाग लिएँ।
चौरस्ता पुगेर भानुको सालिकसँग श्रद्धाले फोटो खिचेँ। अङ्ग्रेजले स्थापना गरेको सवैभन्दा पुरानो रेस्टुरेन्टमा स्कच पिएँ। गाडीबाट कालिङ्पोङको दृश्य हेरेँ। सिक्किमको सिमानामै रहेको रम्पु बजारमा श्रद्धेय साहित्यकार क्यामुना प्रधानकोमा चियाखाजा खाएँ। मामरिङमा साहित्यकार त्रिपुरा खरेलकोमा बास आतिथ्य भेटेँ।
सिक्किम लघुकथा समाजद्वारा आयोजित भेटघाट कार्यक्रममा भाग लिएँ। सिक्किम लघुकथा समाजकी एडमिन त्रिपुरा खरेलद्वारा लिखित ‘दमित इच्छा’ कथासङ्ग्रहको विमोचनमा प्रमुख अतिथि भएर भाग लिएँ। सिक्किमकै नाम्ची पुगी चारधामको रिप्लिका मन्दिरहरूमा घुमघाम गरेँ। गान्टोक पुगी एमजी मार्गको रात्रिकालीन झिलिमिली रमाइलो हेरेँ। ग्यान्टोकको साइट सिइङ गरेँ। र, द्रूत यात्रा सकेर रातारात बिर्तामोड झरेँ।
तिहार मानेँ। पुर्खाको पौरख भएको खोटाङ जिल्लाको सिम्पानीको यात्रा गरेँ। नोवेल साकोस विराटनगरबाट सम्मानित भएको कार्यक्रममा भाग लिएँ। साहित्यकार तथा राजनीतिक विश्लेषक कृष्ण पोखरेलको घरैमा पुगी उनको जीवनी र भक्तराज आचार्यको स्मृतिग्रन्थ हात पारेँ।
आमाको चौरासी पूजामा भाग लिएँ। आफू हुर्केको बढेको गाउँको जङ्गलमा पुगेर पारिवारिक तर अद्भूत बनभातमा सहभागी भएँ र काठमाडैँ फिर्ता भएँ। नन्द कृष्ण जोशी रेडियो नेपालमा अन्तरवार्ता दिएँ।
लोमश वाङ्मय प्रतिष्ठानबाट आयोजना गरिएको ‘एकालाप’ माथिको विज्ञ परिचर्चामा सामेल भएँ। डिसी नेपालको लन्चमा सामेल भएँ। साहित्य पोस्ट कार्यालयमा पुगेर अश्विनी कोइरालाको कफी भ्याएँ। ११ गते मङ्सिर लघुकथाकेन्द्रबाट गरिएको विदाइ कार्यक्रममा उपस्थित भएँ। १२ गते (२७ नोबेम्बर) काठमाडौँबाट दोहाहुँदै २८ नोबेम्बर अमेरिका आइपुगेँ।
नेपाल पुग्दा बुङ्गो थिएँ। मैले सक्रिय जीवन अर्पेको त्रिविबाट पेन्सन उठाएँ। पेन्सनले व्यक्तिगत काम गरेँ। पासपोर्ट नवीकरण गरेँ। पुस्तक प्रकाशन गरेँ। कार्यक्रम आयोजना गरेँ। खाएँ। पिएँ। घुमे। फिरेँ। हरफनमौला तालमा मस्तमौलाना जीवन बिताएँ। बिरामी नपरेको भए पनि डाक्टर देखाएँ। नेपालको पैसा उतै सकेँ। र, बुङ्गो नै फर्किएँ।
अमेरिका छिर्दाको अनुभूति फेरि सलल आयो। मलाई अमेरिकाका चाक्ला र टाँडे सडकले सहृदय स्वागत गरे। बिजुलीको चहकले आँखा रमाए। अग्ला घर भएका डाउनटाउनले दृश्यपान गराए। तर बादल उही थिए।
सूर्य उही थियो। हावा उसैगरी बग्थ्यो। आफन्त उनै थिए। तर फरक के थियो भने देश मेरो थिएन। भावना मेरो थिएन। मैले खाम्ने परिवेश थिएन। म त थिएँ, तर मन भने थिएन। थाकेको छु त्यसैत्यसै। किन थाकेँ थाहा छैन।
नरिसाउनू है आमा ! नरिसाउनू है बाबा ! नरिसाऊ है साथीभाइ ! नरिसाऊ है आफन्त ! नरिसाऊ है पोखरा ! नरिसाऊ है नेपालगञ्ज ! नरिसाऊ है सुदुरपश्चिम ! नरिसाऊ है समग्र नेपाल। बाचा गरेर आउँछु भनेको थिएँ। समय दिन्छु भनेको थिएँ।
खान्छु भनेको थिएँ। डुल्छु भनेको थिएँ। घुम्छु भनेको थिएँ। छुन्छु भनेको थिएँ। माया गर्छु भनेको थिएँ। सवै कुरा भ्याउँछु भनेको थिएँ -तर भ्याइनँ। दौडदा दौडदै पनि कतै पुग्न भ्याइनँ। चार महिना फुत्त बित्यो। नभ्याउनु मेरो तितो यथार्थ हो। हे नेपाल ! आखिर म कति दौडन सक्छु र ! कुवाको भ्यागुतो न हुँ। मेरो कुदाइ÷उफ्राइ त्यही परिवेशीय कुवाभित्र मात्र सिमित भयो। मलाई माफ गरिदिनू है नेपाल !
अमेरिका छिरेपछि ओक्लहोमामा मुकाम बनाउनु भएका साहित्यका सर्जक तथा अभियन्ता विश्वराज अधिकारी सरले मलाई नेपाल भ्रमणको तात्तातो अनुभूति सोध्नु भयो। लटरपटर उत्तर दिएँ मैले। तर मनभित्र भने नेपाली संस्कृति दिमागभरि घुमिरह्यो। नेपाली संस्कृतिमा पाइने अतिथिप्रतिको आत्मियता, आफन्ती सद्भाव वास्तवमै अनुपम लाग्यो मलाई। झन् धेरै बोध भयो योपल्ट।
साथीभाइ तथा आफन्त चाहन्छन् समय देओस्। घरमा पुगोस्। खाना खाओस्। खाना खाए-सुतोस्। म त दङ्ग परेको छु यो अपनत्वबाट। एउटा साथीले भनेको कुरा दिमागमा आइरहेको छ। उसले भनेथ्यो “खेम ! स्कच ख्वाउन नसके पनि लोकल ख्वाउने थिएँ। दुवै साथी बस्थ्यौँ। एक दुई प्याक लाउँथ्यौँ। बात माथ्र्यौँ। रातभर। रातभर। तर अब खेम अमेरिका गएपछि ठूलो भयो। के आउँथ्यो हामी गरिबको घर !”
सवैसँग यही अनुरूपको भेटघाट गर्न मन त थियो, तर न त समय थियो, न त सम्भव। आतिथ्य भोग्न नपाएर म दुःखी छु। आतिथ्य भोगाउन नपाएर साथीभाइ इष्टमित्र दुःखी छन्। मैले आफैँलाई चिमोटेर हेरेँ। म उही थिएँ। दुःखाइ उही थियो।
भावना उही थियो। म उत्रै थिएँ। पुग्न पनि खोजेँ। भेट्न पनि खोजेँ। तर नेपाल ! म असफल यात्री भएको छु। र, फेरि त्यही असफलतामा रमेको छु। मलाई थाहा छ जुनी एउटै हो। त्यहीँभित्र रमेको छु।
र, अन्त्यमा म नेपालमा छँदा लघुकथा केन्द्रले गरेको विदाइ कार्यक्रममा मलाई सोधिएको थियो “नेपालको चार महिने यात्राको अनुभूति कस्तो रह्यो ?”
मेरो लघुउत्तर थियो “समय नै पुगेन यार !”
यो नेपाल फन्कोको अनुभूति थियो मेरो।
सान मार्कोस, अमेरिका
Facebook Comment