कप्तान पौडेल र जाफरको शतकीय साझेदारीमा चितवनलाई एक सय ६८ रनको लक्ष्य

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) को आजको पहिलो खेलमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई एक सय ६८ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ६७ रन बनायो।
सुरुवातमै विकेट गुमाएर लुम्बिनीका लागि कप्तान रोहित कुमार पौडेलले सम्हालिएर ब्याटिङ गर्दै पारीलाई अगाडि बढाए। ४९ रनमा चौथो विकेट गुमाएको लुम्बिनीका रोहित र साद बीन जाफरले पाँचौ विकेटका लागि ११४ रनको साझेदारी गरे। कप्तान पौडेलले ५७ बलमा ६ चौका र ५ छक्का प्रहार गर्दै ८० रन बनाए। यस्तै जाफरले ३५ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ५२ रन बनाए। अर्जुन साउदले १५ रन बनाए। लुम्बिनीले सुरुवाती दुई ओभरमा २ रन बनाउँदा २ विकेट गुमाएको थियो।
चितवनका रिजन ढकालले ३ विकेट लिए। यस्तै कप्तान कुशल मल्ल र रंजित कुमारले समान एक/एक विकेट लिए।
चितवन राइनोज अंक तालिकाको तेस्रो स्थानमा छ। उसले हालसम्म चार खेल खेलेको छ। तीनमा जित र एउटामा हार बेहोरेको चितवन राइनोजको ६ अंक छ। चितवन राइनोजले पहिलो खेलमा काठमाडौं गुर्खाजलाई पाँच विकेटले तथा दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ८७ रनले हराएको थियो। तेस्रो खेलमा कर्णाली याक्ससँग ६ विकेटले हारेको चितवन राइनोजले चौथो खेलमा सुदूरपश्चिम रोयल्सलाई ३३ रनले हराएको थियो।
यस्तै लुम्बिनी लायन्स चारवटै हेलमा हार बेहोर्दै अंक तालिकाको पुछारमा छ। लुम्बिनी पहिलो खेलमा विराटनगरसँग दुई विकेटले, दोस्रो खेलमा पोखरासँग १० विकेटले, तेस्रो खेलमा सुदूरपश्चिमसँग ४५ रनले तथा चौथो खेलमा जनकपुरसँग एक रनले पराजित भएको थियो।
Facebook Comment