काठमाडौं-१६ र कीर्तिपुरको उपनिर्वाचन नतिजालाई गम्भीरतापूर्वक लिएका छौं: एमाले
काठमाडौं। नेकपा एमालेले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीको चीन भ्रमण सफल रहेको निष्कर्ष निकालेको छ।
पार्टी कार्यालयमा मंगलबार बसेको एमाले सचिवालय बैठकले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा नेपालको दिर्घकालीन विकासमा सहयोग पुग्ने गरि सम्झौता र सहमति भएको भन्दै चीन भ्रमण सफल रहेको निष्कर्ष निकालेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। बीआरआईका विषयमा भएका समझदारी निकै महत्वपूर्ण भएकाले यसको कार्यान्वयनमा लाग्नुपर्ने बैठकको निष्कर्ष रहेको ज्ञवालीले बताए।
त्यस्तै सचिवालय बैठकले स्थानीय तहमा भएको उपनिर्वाचनको समीक्षा गर्दै समग्रतामा थप उपलब्धि हासिल गरेको निष्कर्ष समेत निकालेको उनले जानकारी दिए। काठमाडौं–१६ र कीर्तिपुरको नतिजालाई गम्भीरतापूर्वक लिएको भन्दै ज्ञवालीले शहरी क्षेत्रमा अपेक्षाकृत परिणाम नआएको बताए। बैठकले शहरी क्षेत्रको जनमतसँग पार्टीलाई अझ बढी जोड्दै लैजानुपर्ने निष्कर्ष निकालेको छ।
त्यस्तै सचिवालय बैठकले सामाजिक सञ्जालहरुको दुरुपयोग गर्दै गलत सूचनाको माध्यमबाट राजनीतिक दल, नेता र प्रधानमन्त्रीविरुद्ध भ्रम फैलाउने प्रवृति उचित नभएको भन्दै गलत कुराको खण्डन र सहि विचारको पक्षमा दृढतापूर्वक उभिने निर्णय गरेको उपमहासचिव ज्ञवालीले बताए।
त्यस्तै ज्ञवालीले बीआरआई आफैमा परियोजना नभएको र यस अन्तर्गत विभिन्न परियोजना सञ्चालन हुने भएकाले बीआरआई अवधारणामा नै ऋण वा अनुदानको विषय जोड्नु गलत भएको बताए। उनले माओवादी अध्यक्ष प्रचण्डले पछिल्लो पटक दिएका अभिव्यक्तिहरु गैरजिम्मेवार रहेको बताए।
रवि लामिछानेका बिषयमा प्रचण्डले गरेका टिप्पणीहरु अनुसन्धानलाई नै प्रभावित पार्ने प्रकारको रहेको उनले बताए। ज्ञवालीले राजावादीहरुसँग प्रचण्डले हात मिलाउन खोज्नु राजनीतिक विचालन भएको टिप्पणी गरे।
Facebook Comment