भट्टाचार्य र सिंहलाई बालवाङ्मय साधना सम्मान
काठमाडौं। बालवाङ्मय तथा अनुसन्धान केन्द्रले बालबालिकाका क्षेत्रमा लामो समयदेखि क्रियाशील नूपुर भट्टाचार्य र वरिष्ठ चित्रकार अशोकमान सिंहलाई मंगलबार सम्मान गरेको छ।
केन्द्रले आफ्नो १२ औँ वार्षिक उत्सवका अवसरमा भट्टाचार्यलाई २०८१ सालको “साहित्य सृष्टि बालवाङ्मय साधना सम्मान” र सिंहलाई “के. के. बालवाङ्मय कला साधना सम्मान” बाट सम्मानित गरेको हो।
सम्मान तथा पुरस्कार रकम क्रमशः २५ हजार र १० हजार रहेको केन्द्रका अध्यक्ष अनन्त वाग्लेले जानकारी दिए। साहित्य सृष्टि बालवाङ्मय साधना सम्मान केन्द्रका सल्लाहकार प्रमोद प्रधानले र केके बालवाङ्मय चित्राङ्कन पुरस्कार अर्का सल्लाहकार केके कर्माचार्यले स्थापना गरेका हुन्।
त्यस्तै, २०८० सालको “राकुपा बालवाङ्मय प्रतिभा पुरस्कार” अर्चितबाबु मर्सीफुलको मेघमानवलाई र “जय–हीरा बालवाङ्मय किशोर आख्यान पुरस्कार” शान्ति सापकोटाको किशोरकथासंग्रह ‘मंकीमाइन्ड’लाई प्रदान गरिएको छ।
दुवै पुरस्कारको राशि १०–१० हजार रुपैयाँ रहेको छ। यी दुवै पुरस्कार केन्द्रका सल्लाहकारद्वय प्रा.रामकुमार पाँडे र लेखक सिर्जना शर्माले स्थापना गरेका हुन्।
केन्द्रको वार्षिक उत्सवका अवसरमा काठमाडौँमा आयोजना गरिएको समारोहमा नेपाल ऋषि प्राज्ञ डा.जगमान गुरुङ प्रमुख अतिथि थिए।
Facebook Comment