टेम्पाको नेपाली समाजका संरक्षक दिदीभिनाजु
आज सन् २००९ मा लेखिएको एउटा पुरानो डायरी फेला प¥यो। त्यो डायरी हेर्दा फ्लोरिडाको टेम्पा सहरको नेपाली समाजको एउटा चित्र आँखा सामु नाच्नथाल्यो।
नेपाली सेनाका पूर्व मेजर ज्ञानबहादुर कार्कीलाई टेम्पाको सिंगो नेपाली समाजले भिनाजु र उहाँकी श्रीमती राजेश्वरी कार्कीलाई दिदी भनेर सम्मान गर्दोरहेछ।
दिदीभिनाजु डिभी परेर अमेरिका जानुभएको हो। उहाँहरुका साथमा उहाँहरुकी छोरी तथा सिंगो टेम्पा नेपाली समाजकी साझा भान्जी रछिन् नितु कार्की , उनी पनि हिसी परेकी राम्री र असल रहिछन्।
दिदीभिनाजुको जोडी र दाजुभाउजु (राजेन्द्रसिंह राउत र संगीता भट्टाचार्य राउत) को जोडी नै टेम्पाका नेपाली समाजका संरक्षक र सहायक संरक्षक हुनुहुँदो रहेछ।
फ्लोरिडाको सुन्दर सहर टेम्पामा सबैभन्दा पहिलेदेखि बस्दै आएका राजेन्द्रसिं राउतका आफ्नै दिदीभिनाजु पछि डिभी परेर फ्लोरिडा गएका हुनाले टेम्पाको सिंगो नेपाली समाजले नै दिदीभिनाजुको सम्मान दिएको रहेछ।
दिदीभिनाजु टेम्पामा बस्नथालेपछि फ्लोरिडाको प्रवाशी नेपाली समाजले आफ्ना अभिभावक नै प्राप्त गरेको रहेछ। फ्लोरिडाको टेम्पाका वरपर बस्ने नेपाली समाजका कुनैपनि सदस्यको दुःख सुख, आपद्विपद सबैथोकको हेरबिचार नै उहाँ दिदीभिनाजुले गर्नुहुँदो रहेछ।
सबैलाई सकेको सरसहयोग गर्ने उहाँहरुको धर्म नै रहेछ। टेम्पाको नेपाली समाज एउटा सिंगो परिवारका रुपमा रहेको रहेछ। नेपालमा गोरु बेचेको साइनो पनि नपर्नेहरु त्यहाँ साख्खै आफन्त बनेर बसेका रहेछन्। टेम्पामा बस्ने नेपालीहरुबीच पाइने सद्भावको नक्कल अन्यत्र बस्नेले पनि गर्नुपर्ने देखिन्छ।
टेम्पाका नेपाली समाजमा बारम्बार वनभोजको आयोजना हुँदोरहेछ। अरु विविध खाले भोजको आयोजना पनि बारम्बार भइरहँदो रहेछ। टेम्पाका नेपाली समाजका सदस्यका कोही आफन्त टेम्पा पुगेभने उनीहरुलाई त्यहाँका प्रत्येक परिवारले आआफ्ना घरमा बोलाएर आतिथ्य गर्ने चलन रहेछ त्यहाँ ।
एकदिनको कुरा हो हाम्री छोरी साधनाका नजिकका छिमेकी खगेन्द्र भट्टराई तथा रञ्जु कहाँ छोरीको बर्थडेमा भोजको आयोजना गरिएको थियो। मेरी पत्नी सपना र म पनि त्यसमा सामेल थियौं।
सबै भोजमा विशेष गरी नेपाली लोकगीत माइकमा बजाउने व्यवस्था दिदीभिनाजुले गर्नुहुँदो रहेछ। त्यहाँ पनि भिनाजुले क्यासेटको व्यवस्था गरिसक्नु भएको थियो। उहाँले गीत बजाइदिनुभयो।
नेपाली सेनाको पल्टनमा धेरैवर्ष सेवागरी पेन्सनमा रिटायर भएपछि टेम्पामा रमाएर बसेको यो परिबार त्यहाँका सबै परिबारमा बिशेष आदरणीय अभिभावकका रुपमा रहेको कुराले हामीमा सम्मान भाव प्रकट भयो।
कसैको म्यारिज एनिभर्सरी होस् कि वर्थ डे होस् , न्वारान होस् कि पास्नी होस् टेम्पाका नेपाली समाजका प्रत्येक सदस्यलाई चुलै निम्तो गरिंदो रहेछ त्यहाँ। कार्यक्रममा नाचगान गर्ने गजबैको चलन रहेछ।
गीतका बजाएर प्रारम्भमा दिदी भिनाजुले डान्स गर्नुहुँदोरहेछ। अनि त्यहाँ भेला भएका व्यक्तिले पालैपालो नाच्नै पर्ने नियम रहेछ। भिनाजु र दिदीले दोहोरी गीतमा नाचिसकेपछि हाम्रा नजिक आएर भन्नुभयो ल , अब हजुरहरुको जोडीको पालो।
उहाँका कुरा सुनेर म नाच्नका लागि उठें तर सपनाले भनिन् मलाई नाच्न आउँदैन। नाच्न नआउनेले सबैका सामु एकपटक फन्का मारेर हिंडेपनि हुने कुराले सपनाले एक फन्का मारेर औपचारिकता पूरा गरेर हाँस्दै थचक्क बसिन तर मभने नाचिदिएँ।
कम्मर मर्काइमर्काइ , हात हल्लाईहल्लाई टाउको , आँखा नचाइ नचाइ नाचिदिएँ। उहिले स्कुलमा पढ्दा “ किन रोयौ दमेनी भाउजू दमै दाइले कुट्यो कि ट्याम्कै फुटो कि” बोलको गीतमा छमछमी नाचेको घटना पनि चलचित्रका रिलझैं अन्तस्करणमा खेल्नथाले।
मेरो नाच सकिएपछि पुष्कर पाण्डे र उहाँकी श्रीमती माया, तारा ढकाल उहाँकी श्रीमती कासुमीले राम्रै प्रसंशा गर्नुभयो भने खगेन्द्र प्रसाईं , हरि अधिकारी र केशव पोखरेलले पनि मसितै नाचेर साथ दिनु भएको थियो।
टेम्पाका नेपाली समाजका कुनै सदस्यका घरमा भोजको आयोजना विशेषत शनिवार गरिंदो रहेछ र भोलिपल्ट पनि आइतवारको विदा हुनाले कसैको काम नबित्ने रहेछ।
त्यसैले राति अबेलासम्म खायो, पियो, नाच्यो , गायो गर्नसम्म रमाइलो गर्यो अनि मध्यरातपछि आआफ्ना गाडी लिएर निवास फर्कियो। भोलिपल्ट घामले गोडा बोकाउन्जेल सुत्यो। यस्तै गरी चलिरहेको रहेछ टेम्पाका नेपाली समाजका सदस्यको जीवन जगत।
टेम्पामा प्रत्येक शनिवार जस्तो फुटबल खेल हुँदोरहेछ। फुटबल नेपाली टिम भर्सेस अरु स्थानिय क्लब हुँदोरहेछ। एकदिन बिदाका दिन बिहान विश्वविद्यालयका हातामा भएको विशाल मैदानमा फुटबल प्रतियोगिता थियो।
खेलको रेफ्रीको जिम्मेबारी झण्डै सत्तरी हिउँद खाएका भिनाजुले निर्वाह गरिरहनु भएको थियो। त्यसैदिन साँझमा युएसएफको बालुवा नै बालुवाले भरिएको कोर्टमा नेपालीहरुको भलिबल प्रतियोगिता थियो।
त्यसमा पनि रेफ्री भिनाजु नै हुनुहुन्थ्यो। कोही कम उमेरमै बुढो भएको अनुभव गर्छन् तर हाम्रा टेम्पाका भिनाजुमा भने लक्का जवानमा पाइने ऊर्जा भएको हामीले अनुभूत गरेका थियौं।
म र मेरी सपना पनि छोरीको ग्राइजुएसनमा भागलिन संयुक्त राज्य अमेरिकाको सुन्दर राज्य फ्लोरिडाको टेम्पा पुगेका थियौं। हामी पुगेको पर्सिपल्ट दिदीभिनाजुकहाँ खाना खान गयौं।
दुइवर्षे सैनिक तालिममा अमेरिका गएका नेपाली सेनाका कर्णेल विनयविक्रम राणासित हाम्रो त्यही भेट भयो। शान्त स्वभावका हँसिला र रसिला कर्णेल राणासित छोटो समयमा हाम्रो आत्मीयता बढेको अनुभूति भएको थियो।
त्यसका तीनदिन पछि राजेन्द्रसिंह राउत र संगीता राउतका जोडीले गरेको भोजको आयोजनामा पनि हामी सामेल भयौं। कसैका घरमा खाना खान जाँदा सबै परिबारले एक एक थोक खानेकुरा बनाएर लग्ने अनुकरणीय चलन रहेछ टेम्पाको नेपाली समाजमा । हाम्रा ज्वाइँछोरी प्रकाश र साधनाका जोडीले ढकने पकाएर, आलुमटरको अचार बनाएर लगेक थिए।
हरि अधिकारी र विनस अधिकारीका जोडीले चिकनचिल्ली। भुपेन्द्र रावल र अञ्जुले खसीको मासु, विनोद श्रेष्ठ र सीमाका जोडीले गेडागुडीको सब्जी , राजेन्द्र कँडेल र अरुणाका जोडीले टमाटरको अचार र मटरपनिरको तरकारी ल्याएका।
पुरुषोत्तम न्यौपाने र चन्दाका जोडीले ल्याएको स्विटडिस, धनबहादुर खड्का र सुष्माका जोडीले ल्याएको फ्रुट सलाद, पुष्कर पाण्डे र मायाका जोडीले ल्याएको आलुतामा आआफ्नै किसिमको स्वादिलो थियो।
केशव पोखरेल र गोमाका जोडीले ल्याएको फलफूल र ड्रइफुडस् पनि कम स्वदिलो थिएन। तारा ढकाल र कासुमीका जोडीले ल्याएको जापानी खानेकुरा सुसीको बिर्सिनसक्नुको स्वाद थियो।
हाम्री छोरी साधना र ज्वाइँ प्रकाशको जोडी टेम्पाकै कान्छो जोडी रहेछ , त्यसैले पनि उनीहरुले आफू साना बनेर सबै अभिभावकहरुको माया ममताको छहारी पाएका रहेछन् भन्नेकुराको अनुभूति गर्न हामीलाई धेरै समय लागेन।
फ्लोरिडा बस्दा हामीले त्यहाँका प्राय प्रत्येक परिवारका पाहुना बनेर आतिथ्य प्राप्त गर्यौं। त्यहाँ बस्ने नेपालीका परिबारलाई नेपाली परिबारबाटै भएको सरसहयोगले अमेरिकामा पनि नेपाली सामाजिकताको मौलिक छनक देखियो।
त्यहाँको अभिभावकत्व लिने दिदीभिनाजु र दाजुभाउजुको जोडीले त्यहाँका सबैलाई गरेको मायाममता र सदभाव साँच्चे लोभलाग्दो लाग्यो। त्यसकुराले हामीलाई ज्यादै खुशी बनायो।
Facebook Comment