सार्वजनिक विदाको संख्या घटाउन सरकारलाई सुझाव

डिसी नेपाल
२७ मंसिर २०८१ १४:५४

काठमाडाैं। सांसदहरुले सार्वजनिक विदाको संख्या घटाउन सरकारलाई सुझाव दिएका छन्।

बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनीहरुले नेपालमा धेरै विदा हुँदा जनतामा सहज रुपमा सेवा प्रवाहमा समस्या भएकाले विदाको संख्या घटाउन सरकारलाई सुझाव दिएका हुन्। सांसद अमरेशकुमार सिंहले वर्षमा ३० दिनभन्दा बढी बिदा नपाउने व्यवस्था गर्न सुझाव दिए।

संघीय निजामती सेवाको गठन, सञ्‍चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर छलफलका क्रममा उनले हरेक कुरामा विदा दिने प्रचलनले समयमा नै काम नहुने र जनतालाई समेत समस्या पर्ने देखिएको बताए। सांसद सिंहले सार्वजनिक निकायमा मन्त्रीहरुको कार्यकक्ष बनाउने काम उचित नभएको उल्लेख गरे।

त्यस्तै सांसद श्याम घिमिरेले खरदारसम्मका लागि कर्मचारी नीति क्षेत्रको कम्पनीबाट लिनुपर्ने र पाँचौ तहबाट मात्रै निजामती सेवामा कर्मचारी लिनुपर्ने सुझाव दिए। उनले विधेयकहरुलाई समयमा नै अघि बढाउन समिति गम्भीर हुनुपर्नेमा जोड दिए।

बैठकमा सांसद माधव सापकोटाले समितिको बैठकबारे बिहान साढे दश बजेमात्र जानकारी आएको र तयारी नगरेकाले छलफलमा भाग नलिने बताए। उनले २४ वटा बुँदामा संशोधन दर्ता गरेपनि प्रयाप्त छलफल हुने अवस्थान नदेखिएको जिकिर गरे। उनले विधेयकमा राजनीतिक हस्तक्षेप हुने र समयमा नै पास हुन नसक्ने आशंका उत्पन्न भएको बताए।

समितिका सभापति रामहरि खतिवडाले निरन्तर बैठक भएकाले सूचना पठाउन ढिलाई भएको जवाफ दिए।सभापति खतिवडाले समितिमा रहेका विधेयकलाई निष्कर्षमा पुर्‍याउनका लागि समिति निरन्तर क्रियाशिल रहेको उल्लेख गरे।

अर्को बैठकमा संघीय निजामती सेवाको गठन, सञ्‍चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि अन्य संशोधनकर्तासँग छलफल गर्ने उनले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *