प्रकृति, संस्कृति र आतिथ्यताले ठिनीमा पर्यटक लोभ्याउँदै

डिसी नेपाल
१ भदौ २०७६ १५:३९

मुस्ताङ। चाँदी जस्तै टलक्क टल्किएको नीलगिरि हिमालको काख, प्रकृतिका विविध अनुपम छटा, त्यस्तै स्थानीयवासीको आतिथ्यता। थकाली समुदायको बाहुल्य भएको हिमालपारिको जिल्ला मुस्ताङको पर्यटकीय गाउँ ठिनी प्रकृति र संस्कृतिले त सिङ्गारिएको छ नै स्थानीयवासीको आत्मीय आतिथ्यताले यहाँ पुग्ने जो कोहीलाई लोभ्याउने गरेको छ।

यहाँ पुग्ने गरेका पर्यटकले लुकेको हिराको उपमा दिने गरेको मनमोहक घरपझोङ गाउँपालिका–५ स्थित यस ठाउँमा पुग्दा पर्यटकले थकाली समुदायको इतिहास र सभ्यतासमेतको वास्तविक अनुभूति पाउँछन्।

ठिनी बसाइका क्रममा त्यहाँको मनोरम वातावरणमा रमाउँदै पर्यटकहरू मोबाइल तथा क्यामेरामा प्राकृतिक विविधतालाई कैद गर्दै सेल्फी खिच्नमा नै व्यस्त बन्ने गरेका छन्।

पर्यटकीय नगरी पोखरास्थित विमानस्थलबाट करीब २० मिनेटको उडानपछि जोमसोम पुग्न सकिन्छ। गाडीबाट जाँदा भने पर्वत, बागलुङ, म्याग्दी हुँदै जोमसोम पुग्न झण्डै एक दिन लाग्छ।

मुस्ताङको सदरमुकाम जोमसोमबाट जम्मा दुई किलोमिटर दूरीमा रहेको ठिनी गाउँ यातायातकै साधनबाट पुग्न सकिन्छ। जोमसोमबाट पैदलयात्रा गरी जानेका लागि भने गाउँमा पुग्न आधा घण्टा लाग्छ। प्रकृतिले कुँदिएका मनोरम छटा हेर्दै यहाँ पुग्ने पर्यटकलाई आँखा नझिम्क्याइकन मुसुक्क मुस्कुराएको निलगिरि हिमाल र प्राचीन हिमाली शैलीमा निर्मित बाक्लिएका घर हेरिरहुँ जस्तो लाग्छ।

प्रकृति र संस्कृतिका यिनै विविधतालाई पर्यटकीय रूपमा संरक्षण र विकास गर्ने सोचले यतिखेर स्थानीयवासी क्रियाशील बनेको घरपझोङ गाउँपालिका–५ का अध्यक्ष वीरेन्द्र थकालीले बताए।

स्थानीय सक्रियतामा ठिनीलाई केन्द्रमा राख्दै वरपरका ढुम्बा ताल, घरपझोङ किल्ला, हिउँ चितुवा गुफा, कुछप तेरेङा गुम्बालगायतको समुच्च विकासलाई अघि बढाइएको उनले बताए।

थकाली समुदायको प्राचीन संस्कृति र इतिहासलाई जीवन्त राख्दै यहाँका विविधता अवलोकन गर्न आउने पर्यटकलाई लक्षित गरी थकाली सामुदायिक घरवास (होमस्टे) सञ्चालनमा ल्याइएको स्थानीय समाजसेवी एवं थकाली सामुदायिक होमस्टेका अध्यक्ष लालप्रसाद थकालीले जानकारी दिए।

उनका अनुसार यहाँका १२ वटा घरमा घरवास सुविधा छ। यहाँ पुग्ने पर्यटकलाई स्थानीयवासीले फापरको ढिँडो, रोटी, कालो दाल, आलु, भोटे चिया जस्ता विभिन्न स्थानीय परिकारको स्वाद लिन पाउने व्यवस्था मिलाएका छन्।

पछिल्ला दिन पर्यटकको याममा भने आएका पाहुनालाई बस्ने ठाउँ पुर्याउन पनि धौधौ हुने गरेको स्थानीयवासीको अनुभव छ। एकै दिन एक सय भन्दा बढी पाहुना ठिनीमा राख्न सकिने बताउँदै थकालीले विसं २०७४ वैशाखदेखि यहाँ घरवास कार्यक्रम शुरु गरिएको जानकारी दिए।

जनमुक्ति युवा क्लबमा आबद्ध युवाको सक्रियता, स्थानीयवासीको लगावका साथै पछिल्ला समयमा यहाँको प्रवद्र्धनमा गरिएका प्रयाससँगै पर्यटकको आकर्षण बढ्दै गएको थकाली सामुदायिक होमस्टे सांस्कृतिक समूहकी सदस्य विजया थकालीले बताए।

थकाली संस्कृतिलाई जीवन्त राख्ने उद्देश्यका साथ स्थानीयवासीले आगन्तुक पाहुनालाई मनोरञ्जात्मक गीत तथा नृत्य देखाउने गरी तयारी गरेको उनले जानकारी दिए। थकाली जातिको उद्गमस्थलका रूपमा रहेको यस स्थानमा परम्परागत याक, लोक र ढोङ्ग्री नाचलाई जोगाएर राखिएको छ।

थकाली संस्कृतिकै जीवन्तताका लागि स्थानीय सक्रियतामा २०७१ सालमा थकाली सङ्ग्रहालय सञ्चालनमा ल्याइएको छ। सङ्ग्रहालयका अध्यक्ष कुलबहादुर थकालीका अनुसार सङ्ग्रहालयभित्र थकाली संस्कृतिको वास्तविक अनुभूति गर्न सकिने किसिमका सामग्री राखिएको छ।

ठिनी नजिकैको हिमालको छायाँ देखिने ढुम्बाताल यहाँको अर्को पर्यटकीय आकर्षण हो। गाउँपालिकाको पहल एवं नेपाल पर्यटन बोर्डको सहयोगमा ताल वरपर राखिएका फलामे कुर्चीले त्यहाँ बसेर तालको अवलोकन गर्न र माछासँग खेल्न पर्यटकलाई निकै सहज भएको छ।

बोर्डकै सहयोगमा यहाँस्थित कुछुप तेरेङा गुम्बामा पनि बस्ने कुर्ची राखिएको छ। गाउँको सिरानमा रहेको कुछप तेरेङा गुम्बामा बौद्ध धर्म गुरु पद्मसम्भवले प्रयोग गरेका विभिन्न पाँच दुर्लभ सामग्री रहेका छन्। गुम्बामा पद्मसम्भवका दोचा, कपडालगायका सामग्री सुरक्षित रहेकोले यस गुम्बालाई अत्यन्त महत्वका साथ हेर्ने गरिएको छ।

गुरु पद्मसम्भवले प्रयोग गरेका दुर्लभ सामग्री दर्शनका लागि टाढा टाढाबाट बौद्ध धर्मावलम्बी आउने गरेको गुम्बा व्यवस्थापन समितिका अध्यक्ष अनिल थकालीले जानकारी दिए।

प्रकृति र संस्कृतिको विविधताले भरिपूर्ण ठिनी गाउँ पर्यटकीय दृष्टिका साथै हिमाली संस्कृतिको अध्येताका लागि पनि उत्तिकै महत्वपूर्ण गन्तव्य भएको नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रबन्धक सूर्य थपलियाले बताए।

“मुस्ताङको सदरमुकाम जोमसोमबाट नजिकै रहेको ठिनी प्राकृतिक एवं सांस्कृतिक दुवैरूपमा महत्वपूर्णस्थल हो,” उनले भने, “यहाँ सञ्चालित घरबास, थकाली सङ्ग्रहालय, गाउँमाथिको हिउँ चितुवा गुफा, नजिकैको ढुम्बाताल, ऐतहासिक कुछब तेरेङा गुम्बा आदिका कारण यो पर्यटकको रोजाइमा पर्दै गएको छ।”

पर्यटकीय सम्भावनालाई दृष्टिगत गरी यहाँको प्रवद्र्धनलाई बोर्डले प्राथमिकतामा राखेको प्रबन्धक थपलियाको भनाइ छ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *