नियात्रा

शिवपुरीलाई फन्को मार्दा

अमृतप्रसाद पौड्याल
३० मंसिर २०८१ ८:१०

रुखपात, झाडी एवं झ्याङका तथा अनेकन वनस्पति सिर्जित हरियाली, खोल्सा, झरना एवं खोलाका कलकल, चराचुरुगींको चिरबिर किरा फट्यांग्राका रागसहित पूर्ण प्राकृतिक रसास्वादनको लागि उपत्यका वरिपरी रहेका शिवपुरी, फुल्चोकी, नागार्जुन, चन्द्रागिरी र चम्पादेवी लगायतका चुचुरोहरुको यात्रा पक्कै पनि उपयुक्त गन्तव्य हुन सक्छ।

उपत्यकाको जुनसुकै ठाउँबाट सजिलै पुग्न सकिने, विभिन्न आस्थाका तीर्थस्थल र मौका जुरेमा जंगली जनावरहरुसंगको साक्षात्कार हुने संगमको असिम अनुभवका लागि समेत उल्लेखित स्थानहरु हिजो आज सबैको रोजाईमा पर्ने रहेछन्।

यसै मेसोमा प्रकृतिसँगको साक्षात्कारका साथ साथै तन र मन दुबैलाई पुनर्ताजगी गर्न शिवपुरी क्षेत्रको पदयात्रा गर्ने तय गरियो। सहभागीमा अमेरिकाबाट चाडबाड मनाउन तीन हप्ताका लागि आएका मेरो भान्जा प्रज्वल ढुंगाना, मेरो छोरो अंशु पौडेल र पदयात्रालाई जीवनको अर्काे सुन्दरताको रुपमा व्याख्या गर्ने र मलाई पदयात्राप्रति अभिप्रेरित गर्ने मेरो आदरणीय काका डा.उमेश खनाल भयौं।

दुई हजार एकासी कार्तिक दश शनिबारका दिन विहान सातबजे हामी बौद्ध महाँकलबाट उपत्यकाको पूर्व उत्तर भेग अर्थात् बुढानिलकण्ठ हुँदै मुहानपोखरी तर्फ लाग्यौं। संयोगवश अमेरिकाबाट धेरै वर्ष पछि तिहार मनाउन घर आइपुग्नु भएकी मेरी दिदी जया ढुंगाना पनि मुहानपोखरीसँगै रहेको श्री खप्तड बाबाको आश्रमसम्म पुग्न सँगै जाने भएपछि डम्बर भाइको ट्याक्सीमा पाँचजना कोचाकोच गर्दै चढ्यौं।

कपन, धोविखोला करिडोर हुँदै नौलिंगेथानको उकालोमा प्राविधिक कमजोरी एवं संभावित भारी ओजनले गर्दा एकछिन ट्याक्सीबाट ओर्लेर हिँडनु पर्दाको क्षणमा हामी मज्जाले हाँस्यौं। विहानको आठ बज्न लाग्दा मुहानपोखरीमा अवस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको प्रवेश द्वारमा पुगियो।

दिदी बाबाको आश्रमतिर लाग्नु भयो भने हामी निकुञ्ज भित्र छिर्ने टिकट लिई नेपाली सेनाको सुरक्षा पोष्टमा झोला जाँचमा पास भई पैदल हिँडन थाल्यौं। लगभग पाँच मिनटपछि आएको दोबाटोमा पुगेपछि त्यहाँँ ठडिएको बोर्डले देब्रे तिरको बाटो हुँदै डाँडा गाउँ, विष्णुद्वार र दाहिने तिरको बाटो हुँदै हेलिप्याड, नागी गुम्बा, बागद्वार जाने विकल्प दियो। सबैको सल्लाहमा रोजियो विष्णुद्वारतर्फ संकेत गरेको बाटो।

निकुञ्जभित्रको मोटर गुड्ने फराकिलो बाटोको दायाँ बायाँ रुखपात, झाडी एवं बुट्यानहरुको बीचमा बगिरहेका स-सनाा पानीका खोल्साहरुको कलकल र चराचुरुँगीको चिरबिरलाई श्रवण गर्दे अगाडि बढियो।

सिक्रेको चौबाटो हुँदै पाइलाको गति बढदै जाँदा करिब आधा घन्टा पछि दाहिनेतर्फ आकर्षक झरना भेटियो। वरिपरि रहेका रुखहरुको छेकटोको बीचबाट बेला बेलामा पानीको बहाबमा सूर्यको प्रकाश ठोक्किँदा झल्याक झुलुक्क सिर्जना भएको सानो आकारको इन्द्रेणीलाई क्यामरामा कैद गर्न सकिन्छ कि भनी एकछिन धेरै प्रयास गर्दा पनि एक दुई पलकोलागि देखिने उक्त दृश्य क्यामरामा नभई मस्तिष्कमा भने रामै्रसँग गढ्यो।

फराकिलो बाटोलाई पहिरोले खर्लप्पै खाई दिएर भित्तातर्फ मुस्किलले एकजना हिँड्न मिल्ने गरी काठका फलेकहरु बिछ्याई पुल जस्तो बनाएको एकदमै साँघुरो धर्साेबाट हिँडदै गर्दा एकछिन त आङ नै सिरिङ भएको थियो।

शिवपुरी राष्ट्रिय निकुञ्जको पानीमुहान नामक उक्त स्थान वरपर खोल्सा, खोला, झरनाका रुपमा यत्रतत्र पानी बगिरहेका थिए। केही क्षणको तेर्साे एव थोरै उकालो पश्चात भेटिएको विष्णुद्वार मोडमा रहेको संकेत पाटीले टोखा-डाँडागाउँ र विष्णुद्वार जाने दिशा बतायो।

साविकको फराकिलो बाटोलाई छोडी हामी लाग्यौं दाहिते तर्फको सिँढी उक्लन। केहीबेर उक्लिए पछि तेर्सो झर्नुपर्ने बाटो भएपनि पहिरोले भिरलाई बगाई उजाड एवं डरलाग्दो बनाएको रहेछ। सावधानीपूर्वक भित्तातिर रहेको बुट्यान समाई अलिकित तल ओर्लेपछि भेटियो विष्णुद्वार ओर्लने सिँढी। ठाउँ ठाउँमा बिग्रीएको सिँढीको बीचमा रुख ढलेर बाटै छेकिएको रहेछ।

ठूल-ठूला एवं चिप्लो ढुंगायुक्त गल्छिमा उचाईबाट झरेको सफा विष्णुमती खोलाको गडगडाहाटले वातावरणलाई तरगिंत बनाएको थियो। दुई तर्फको अग्लो भिरको बीचमा दुई ठुला ढुँगाहरु दायाँ बायाँ ढोकको रुपमा रहेको भन्ज्याङबाट झरेको खोला र त्यसैको किनारामा ओडार झैं देखिने ठूलो ढुंगाको ककारोमा शिव, विष्णु, बुद्धका स-साना मुर्तिहरु, त्रिशुल, घन्टीहरु र ध्वजापताकाले मन्दिरको झल्को दिइरहेको स्थान अनकण्टार झैं थियो।

हामी बाहेक चार पाँच जना अरु यात्रुहरु पनि भेटियो। विहानको दसबजे विष्णुद्वार नामक उक्त तीर्थ स्थलमा प्रकृतिका साक्षी बनी बसेका सबै देवताहरुलाई ढोगभेट गरी धारिलो एवं चिप्लो ढुंगामा टेक्दै एवं फड्को मार्दै उर्लंदो खोलालाई तर्न एकछिन त हम्मे हम्मे नै पर्‍यो।

त्यहाँबाट पूर्व दक्षिण हुँदै उकालो उक्लन थाल्यौं। अलिक माथि आई पुग्दा करिब साढे दश बजेको र भोक लागेकोले रुखपातले घाम नछेकेको खुल्ला स्थानमा बसेर आपैmंले बोकेर लगेका खानेकुराहरु खाँदै थकानलाई पाखा लगाइयो।

सुनसान एवं घना जंगलको विचमा धर्सा जस्ता देखिने बाटोको रेखा पछयाउँदै भर्खरै बर्खायाम सकिएकोले बयस्क भएका झाडी र झ्याङलाई पन्छाउँदै हिँड्दाको क्षण रोमाञ्चक थियो। त्यसमाथि हिउँदको सुरुवात पनि भएकोले पातहरु झर्ने क्रमले साँघुरो मार्गलाई ढपक्कै ढाकेको र त्यसमाथि हिँड्दा आउने च्रम च्रम आवाज आफैंमा उत्साजनक थियो।

चराचुरुँगीको चिरबिर र किराफट्यांग्राको करकरको संयोजनबाट सिर्जित संगीतलाई श्रवण गर्दा कानले पनि स्वच्छता महशुस गरेको थियो। विभिन्न खालका पुतलीहरु पनि यता उता नाचिरहने बाक्लो जंगल तथा मान्छेको आवतजावत एकदमै कम भएकोले जनावरहरु भेटिन सक्ने संभावनालाई नकार्न त सकिँदैन थियो।

निगालोको झाडी बाक्लीएको ठाउँमा पुग्दा त कुनै जनावरसँग जम्काभेट हुने त होइन भन्ने पनि कता कता मनमा चिसो पसेको थियो। ठूला ठूला रुखहरु, झाडी र बुट्यानले ढपक्कै ढाकेकोले हिँड्ने मार्ग अन्दाज गर्नु परेको थियो।

ठाउँ ठाउँमा सायद बँदेलले खोस्रेको आलै माटोको थुप्रो भेटिन्थ्यो र डरपनि लाग्थ्यो। केही सम्म भएपनि चुचुरोतर्फ जानुपर्ने भएकोले अधिकांश मार्ग उकालो नै थियो।

करिब बाह्र बजे हामी एक दोबाटोमा पुग्यौं। दक्षिणतिरबाट आएको मार्ग जोडिने उक्त दोबाटोसँगै जस्ताको छानोलाई चारतिरबाट फलामको डण्डीले टेको दिएर बनाइएको ओतलाग्ने विश्रामस्थल थियो भनेकेही यात्रुहरु पनि त्यही मार्गबाट उक्लिरहेका थिए।

त्यहाँबाट ढुंगाको सिँढीहरु शुरु भयो। बाटोमा उक्लने र ओर्लने यात्रुहरुको संख्या बढ्दै थियो। चुचुरो जाने मार्ग भएकोले क्रमशः बाटोको ठाडोपना बढ्दै थियो। उचाई बढ्दै गएकोले हिँडाईको गतिमा सुस्तता आउनु स्वभाविक थियो।

धेरै उमेर खाएका तथा मोटा रुखहरुको काण्डमा विभिन्न आकृतिका टोडको बनेको देखिन्थे। सायद त्यसमा जनावरहरु बस्दा हुन साथै ओसिलो काठका भागहरुमा जगंली च्याउ उम्रेका देखिन्थे।

स्याँ स्याँ भएपनि एकछिन हिँड्ने, उभिएरै केही पलका लागि अडिने, कहीँ बस्ने तथा पानी पिउँदै गरेर करिब एक बजे कामधेनु गाई शिला भएको स्थानमा पुगियो। अगाडि बढ्ने क्रममा ठाडो, सतह नमिलेको अलिकति उचो ढुंगाको सिँढी पार गरेपछि बडेमानको अर्काे ढुँगा ढ्याक्क बाटोमा बसेको र त्यसमाथि उक्लन अप्ठेरो सिँढी प्रकारको संरचना चढनु पर्ने रहेछ।

जसो तसो उक्लिएर पुगिएको शिलाको माथिल्लो भागमा शतरुद्रेश्वर महादेवको पूजा गर्ने गरिएको रहेछ भने त्यसको पल्लो छेउ तल गहिरो भिरतर्फ ठडिएर रहेको थियो।

भिरतिरको फर्केको भाग पट्टी फलामको बारले घेरेर यात्रुहरु झर्न सक्ने जोखिम न्यूनीकरण गरिएको रहेछ। ढुंगाको तलतिरको भागमा ओडार थियो र देवी देवताको पूजा गर्ने गरिएको रहेछ।

माथिपट्टी फलामको बार भएको भागबाट विदुरको फाँट, खोला र उत्तरतर्फ लाङटाङ, लाक्पादोर्जे र गणेश हिमाल देखिने भएपनि तुवाँलोले गर्दा खासै केही देखिएन।

त्यो छेउ फोटो खिच्ने ठाउँ भए को र हामीसहित अन्य चार पाँचजना यात्रुहरु समेत हुनु भएकोले फोटो खिच्नका लागि आलोपालो नै गर्नुपरेको थियो। पुनः ओर्लिएर शिवपुरी चुचुरो भेट्न अलिकति ठाडो बाटो हिँड्न थालियो।

काठमाडौं उपत्यकालाई घेरर बसेका पहाडहरु मध्ये २,७३२ मिटर उचाईमा रहेको शिवपुरी चुचुरोको चौरमा रहेको शिवपुरी बाबाको शालिक सामु पुगेपछि महशुस हुने आध्यात्मिक एवं प्राकृतिक सामिप्यताले उक्लँदाको कठिनतालाई सहजतामा परिणत गरिदिने रहेछ।

सेतो स्फटिकमा कुँदिएको जीवन्त शालिकले स्वधर्मका अवयवहरु भक्ति-विवेक, शारीरिक (प्राकृतिक) -मानसिक (नैतिक) र आध्यात्मिक (अनुशासन) को स्मरण गराउने तथा बाबाको जन्म र मृत्यु बीचको अवधिले कठिन परिश्रम र साधनाले दिर्घजीवि बनाउने सन्देश दिएको महशुस गरियो।

खलखल्ती पसिना बगाउँदै उक्लेको शरीर चौरमा पुगेपछि न्यानो घाममा घाँसमाथि पल्टिँदै खुल्ला आकासतर्फ ध्यान केन्द्रित गर्दा पाइने सन्तुष्टि बर्णन योग्य थियो।

मोबाइलमा गीत सुन्दै, बोकेर लगेका खानेकुराहरु खाँदै, फोटो खिज्दै र गफ गर्दै बसिरहेका अन्य यात्रुझैं हामी पनि झोलामा बाँकी रहेका खानेकुराहरु खान थाल्यौं। चौरमा केही समय बिताई सन्तुष्ट भएपछि दुईचार वटा फोटाहरु मोबाइलमा कैद गरी हामी बागद्वार जाने मार्ग हुँदै ओर्लन कस्सियौं। ओरालोमा हामी सुविस्ताका साथ झर्दै गर्दा चुचुरोमा पुग्न स्याँ स्याँ गर्दै अन्य यात्रुहरु उक्लिरहेका थिए।

‘अब कति बेर लाग्छ माथि पुग्न?’ कोही कसैका प्रश्न हुन्थ्यो। ‘अब लगभग यति समयमा पुग्नुहुन्छ’ भन्दै अन्दाजको समय भनिन्थ्यो। साँघुरो एवं अप्ठेरो थुम्कोहरुमा उक्लनेलाई बाटो छोड्दै हिँड्दा यात्रामा आत्मीयताको महशुस हुने रहेछ।

बृद्ध उमेरको आमाको हात समाएर उकालोमा हिँड्न सहयोग गर्ने परिवारको यात्राप्रतिको लगावले शिवपुरीको महत्वलाई उजागर गरेको थियो। चुचुरोबाट बागद्वार जाने मार्गको आकर्षणको रुपमा ठूला ठूला रुखको काण्डमा बनेको विभिन्न आकृतिका टोड्कोमा यात्रुहरुले फोटो खिज्दै हिँडेको देखिन्थ्यो।

जंगलमा कतिपय रुखहरु उमेर पुगेर ढल्न लागेका, कुहिएका र त्यसैको छेउकुनोबाट अन्य बनस्पतिहरु उब्जिएका थिए। कतिपय ठूला बनस्पतिहरुको काण्डमा सुनाखरीको बोट झपक्कै थिए। त्यहाँ पाइने रुखहरुमा गुँरास र कटुस उल्लेख्य मात्रामा थिए भने धुपीका बोटहरु पनि थिए।

मसिनो डाँठ, बांगोे आकार हुँदै माथितिर उठेका रुखहरुको धेरैवटा एकै स्थानमा देख्दा यस्तो लाग्थ्यो कि तिनीहरु नृत्य गर्न लागेका झैं भान हुन्थ्यो। मार्गको वरिपरि रहेका केही रुखहरु लामो उमेर भएका र विचको काण्डको मोटो र तल्लोभाग अंग्रजी शब्दको ए आकरमा दुई तिर खुट्टा टेकेर बीचमा वारपार गर्न मिल्ने टोडकोको प्रारुपमा देखिन्थे।

अग्ला अग्ला रुखहरु, झाडी, बुट्यानहरुको विचमा रहेको गोरेटो मार्ग पात पतिंगरले ढाकेको, भिरालो अवस्थिीमा मट्यौलो जमिन, ठाउँ ठाउँमा रुखका जराहरुले सिँढीको रुपमा आड दिएको थुम्को थियो।

कहीँ कतै त वनस्पतीका लहरे डाँठहरुलाई समाउँदै र पन्छाउँदै हिँडनु पर्ने थियो करिब आधा घन्टाको दुरिमा हामी आश्रम भएको स्थानमा पुग्यौं। बागद्वारसम्म आएका यात्रुहरु शिवपुरी जान नसकेमा त्यही आश्रम सम्म आउने रहेछन्। नजिकै एक बौद्ध साधना स्थल पनि थियो।

आश्रममा एकजना बाबा बस्ने गर्नुभएको रहेछ। त्यहाँ दैनिकजसो खानाको भण्डारा लाग्दो रहेछ। भोक नलागेकोले खानातर्फ चाहिँँ हामीलाई खासै रुचि थिएन।

काठमाडौं उपत्यकाको प्रसिद्ध वागमती नदीको उद्गम स्थलको रुपमा मानिएको बागद्वारमा रहेको ढुँगेधारोको पानी खस्ने भागलाई बाघको मुखको रुपमा कुँदीएको र त्यसलाई पहेँलो धातुले मोडिएको थियो।

प्रत्येक वर्ष बैशाख एक गतेका दिन मेला लाग्ने बागद्वार तिर्थस्थलको रुपमा परिचित रहेको छ। त्यसदिन सुनको बागको प्रतिमूर्तिले उक्त धारोको मुखलाई छोपिन्छ भन्ने छ।

बागद्वारको धारोमा मार्चन गरी हामी अब हेलिप्याड हुँदै मुहानपोखरी पुग्ने उद्देश्यले हिँड्न थाल्यौं। करिब आधा घन्टाको हिँडाइमा आउने ठूलो चौरमा यात्रुहरु समूह समूहमा पिकनिक खाँदै थिए।

हामी पनि करिब पाँच मिनट त्यहाँ आराम गरि झोलामा बाँकी रहेका खानेकुराहरु समाप्त गरि पुनः ओर्लन थाल्यौं। दिनभरिको यात्रामा चिया खान नपाउँदा भने खल्लो महशुस भइरहेको थियो। मार्गका दायाँ बायाँ केही रुखहरु अंग्रेजी शब्दको वाई जस्तो आकारमा हात माथि गरेर गिँड मात्र भएको मुर्कुट्टा उभिएको झैं लाग्थ्यो।

बीचको भागमा बस्न मिल्ने भएकोले जसोतसो चढेर फोटो पनि खिचियो। काण्डमा विभिन्न झारहरु पलाउने र छायाँले गर्दा ओसिलो हुने भएकोले चिप्लिएर दुर्घटना हुन सक्ने जोखिमको बिचार गरेर मात्र चढने प्रयास गर्नु पर्ने महशुस भयो।

त्यस्तै एक अर्काे रुखका बीच लहराहरु झांगिएर पिङ खेल्न मिल्ने वा झुण्डिएर मच्चिन मिल्ने पनि थिए। करिब पन्ध्र मिनट हिँडेपछि आएको भन्ज्याङको चौबाटोबाट नागी गुम्बा जाने र पानीमुहान जाने मार्ग छुट्टिन्छ। हामी पानीमुहान जाने तर्फ लाग्यौं। त्यहाँबाट शुरु हुन्छ ढुंगाको सिँढी।

ओर्लँदा सिँढीमा केही सहज हुनेभएपनि खुट्टा जुत्तातर्फ अगाडि आउँदा औंला कोचिएर केही दुख्ने हुन सक्छ। साथै ढुंगाको सिँढीमा ओर्लने क्रममा जोडसँग पाइला चालेमा घुँडामा चाप पर्ने पनि हुन सक्ने रहेछ। बाटोमा केही बाँदरहरु देखिएका थिए।

झाँक्रीखोलामा पुगिएपछि एकछिन सुस्ताइयो। उस्तै भौगोलिक संरचना, वरिपरि रुखपात, झाडी, बुट्यान, बनस्पतिका लहराले मार्गलाई ढाकेको अवस्थिति हेर्दै करिब चारबजे बजे हामी मुहानपोखरीबाट नागिगुम्बातर्फ जाने फराकिलो बाटोमा आइपुग्यौं।

त्यहाँबाट करिब पैतालिस मिनटको हिँडाइ पछि विहान छुट्टिएको दोबाटो आइपुग्दा यात्राले एक सेल पकाएको थियो। विष्णुद्वारका अलावा सिक्रेभन्ज्याङ, छापभन्ज्याङ, हेलिप्याड र नागीगुम्बाबाट पनि शिवपुरी उक्लन सकिने रहेछ।

उपत्यकाका महत्वपूर्ण खोलाहरु बागमती, रुद्रमती (धोविखोला) र विष्णुमतिको उदगमस्थल, बाक्लो जंगल, थरिथरिका जनावर र चराचुरुँगीको थात थलो, जडिबुटी युक्त बनस्पति लगायत महत्वपूर्ण प्राकृतिक स्रोतले भरिपूर्ण शिवपुरी राष्ट्रिय निकुन्जको विष्णुद्वार, शिवपुरी, बागद्वार, मुहानपोखरी, झाँक्रीखोलालगायतका क्षेत्रको संरक्षणमा सबैको योगदान हुनपर्ने कुरा घामजस्तै छर्लङ्ग छ।

अझैपनि यात्राको दौरान जंगलमा यताउति फालिएका खानेकुराका प्लास्टीक प्याकहरु र खाली पानीको बोतल देखिँदा भने त्यहाँ पुग्ने यात्रुहरुलाई त्यसरी फालिएका वस्तुहरुले गर्ने हानिका बारेमा टिकट काटने बेलामा नै पर्याप्त सचेत बनाउनुपर्ने आवश्यकता महशुस गरियो। नियम अनुसार नेपाली सेनाको सुरक्षा जाँच पास गरी निकुञ्जको ढोकाबाट बाहिर निस्केर घर फर्किन बाहनको प्रतिक्षामा थियौं।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *