तीन महिने वडा केन्द्रित अभियान सञ्चालन गर्ने एमाले भेलाको संकल्प

डिसी नेपाल
३० मंसिर २०८१ २१:४४

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय संगठन विभागद्वारा आयोजित स्थानीय तहमा पार्टी कामका समस्या र समाधान विषयक दुई दिने राष्ट्रिय कार्यशाला ६ बुँदे घोषणा गर्दै सम्पन्न भएको छ।

पार्टी केन्द्रीय कार्यालयमा आज सम्पन्न कार्यशालाले एमालेलाई निर्णायक राष्ट्रिय शक्ति निर्माणको लागि माघदेखि चैत्रसम्म तीन महिने वडा केन्द्रित अभियान सञ्चालन गर्ने संकल्प गरेको छ।

देशभरिबाट पार्टीका कार्यकारी जिम्मेवारीमा रहेका प्रदेश, जिल्ला जनसङ्गठन र तोकिएका जनप्रतिनिधिसहित तीन सय जनाको सहभागितामा सम्पन्न भेलाले स्थानीय तहसम्म कमिटी निर्माण गर्ने र सदस्यता विस्तारसँगै जनतासँग जनसंगठन अभियान सञ्चालन गर्ने संकल्प गरेको छ।

कार्यशालाले २०८२ सालको पार्टी सदस्यता नवीकरण २०८१ को चैत्र महिनाभित्रै विधिसम्मत र प्रक्रियासम्मत ढंगले सम्पन्न गर्ने संकल्प गरेको छ। यसै वर्षभित्र सम्पूर्ण पार्टी सदस्यलाई अनलाइनमा ल्याउने संकल्प पनि बैठकले गरेको छ।

आगामी चैत महिनासम्म राष्ट्रिय युवा महोत्सवको आयोजना गर्न कार्यशालाले पार्टी केन्द्रसँग आग्रह गरेको छ। कार्यशालाले पार्टी र नेतृत्वविरुद्धका षडयन्त्र र कुप्रचारको प्रतिवाद गर्दै पार्टी नीति, नेतृत्व र राजनीतिक कार्यदिशालाई जनताबीच स्थापित गर्ने संकल्प गरेको छ।

कार्यशालामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गरेका थिए। यसै गरी पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव कमरेड शंकर पोखरेलले पनि कार्यशालालाई सम्बोधन गरेका थिए।

कार्यशालाका सहभागीलाई १० वटा समूहमा विभाजन गरी छलफल गरिएको थियो । समूह छलफलमा प्रदेशका इन्चार्ज र संगठन विभागका सदस्यले सहजीकरण गरेका थिए। कार्यशालाको दोस्रो दिन समूहगत छलफलका प्रतिवेदन पेस गरिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *