रविविरुद्ध तीन मुद्दा चलाइने, अनुसन्धान प्रतिबेदन पेश गरिँदै
कास्की। सहकारी घोटलामा मुछिएका पूर्व उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेमाथि प्रहरी छानबिन सकिएपछि चाँडै अदालतमा मुद्दा दर्ता गरिने भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण, र संगठित अपराध सम्बन्धी कसुरमा अनुसन्धान प्रतिवेदन तयार पारिएकाले सम्भवतः तीनवटै मुद्दा एकै पटक दर्ता गर्ने प्रहरीले तयारी गरेकाे छ।
संघीय संसदका सांसद सूर्य थापा नेतृत्वको सहकारी बिशेष छानबिन समितिले लामिछाने सहकारी प्रकरणमा संलग्नता देखिएको भन्दै प्रचलित कानुन बमोजिम कारबाही गर्न सिफारिस गरेपछि उनी कात्तिक २ मा पक्राउ परेका थिए।
नेपाल प्रहरीका एक उच्च अधिकारीका अनुसार सोमबार नै लामिछाने विरुद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरिनेछ। त्यसपछि सरकारी वकिल कार्यालयले सम्भवतः सोमबार नै अदालतमा रबिलाई उभ्याउने छ।
कास्की प्रहरीका अनुसार लामिछाने बिरूद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण तथा किर्ते र संगठित अपराध गरेको कसुरमा मुद्दा दायर गर्न सरकारी वकिललाई रायसहितको प्रतिवेदन बुझाउन लागेको हो।
लामिछानेमाथि पोखराको सूर्यदर्शनसहित काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा, रुपन्देहीको सुप्रिम र पर्साको सानोपाइला सहकारीबाट गोर्खा मिडियामा करोडौं रकम लगेर अपचलन गरेको अभियोग छ। कास्की प्रहरी हिरासतमा रहेकै बखत लामिछानेलाई सम्बन्धित जिल्लामा समेत लगेर बयान लिइसकिएको छ।
लामिछानेसहित गोर्खा मिडियाका पूर्वउपाध्यक्ष एवं पूर्वडीआईजी छविलाल जोशी, गिजेन्द्रबाबु (जीबी) राईका साझेदार नेचर हब्र्सका सञ्चालक तनहुँका रामबहादुर खनाल, जीबीसँग मिलेर रकम हिनामिना गरेको आरोप लागेकी गुल्मी मुसिकोट नगरपालिका-४ की लीला पछाईं र पोखराका कृष्ण गुरुङ प्रहरी हिरासतमा छन्। पक्राउ परेका भन्दा बाहेक ३५ जना जतिलाई फरार प्रतिवादी कायम गर्न राय दिने स्रोतले जनाएको छ। सूर्यदर्शन सहकारीकै रकम ठगी अभियोगमा अन्य पाँच जना कास्की कारागारमा पुर्पक्षका लागि थुनामा छन्।
सहकारीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदनअनुसार सूर्यदर्शन सहकारीबाट ५ करोड ५८ लाख ९ हजार रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको देखिन्छ। साथै, जीबी राई नेतृत्वको देशभरका सहकारीबाट ६५ करोड प्रत्यक्ष रूपमा गोर्खा मिडियामा गएको प्रतिवेदनमा उल्लेख छ।
सो प्रतिवेदनमा रविसहित जीबी राई, गोर्खा मिडियाका पूर्वउपाध्यक्ष एवं पूर्वडीआईजी छविलाल जोशी, सूर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेललाई कारबाही गर्न सिफारिस गरेकामा जीबी अझै फरार प्रतिवादी हुन्। कुमारसहित सहकारी उपाध्यक्ष कैलाशकुमार दर्लामी, शिवबहादुर गुरुङ, भविश्वर अर्याल यतिखेर कास्की प्रहरी हिरासतमा छन्।
Facebook Comment