महान तबला वादक उस्ताद जाकिर हुसेनको निधन

डिसी नेपाल
१ पुष २०८१ ११:३०

काठमाडौं । महान तबलावादक उस्ताद जाकिर हुसेनको निधन भएको छ । उनको अमेरिकाको सान फ्रान्सिस्कोमा उपचारका क्रममा निधन भएको हो । उनी ७३ वर्षका थिए । मुटुमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

पछिल्लो दुई सातादेखि अस्पतालमा भर्ना भएका उनलाई स्वास्थ्य बिग्रँदै गएपछि आईसीयूमा भर्ना गरिएको थियो । जाकिर हुसेनका परिवारले सोमबार बिहान उनको निधनको पुष्टि गर्दै विश्वका उत्कृष्ट संगीतकार मध्येका एक जाकिर हुसैनको ७३ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको बताए ।

उनले अभूतपूर्व विरासत छोडेका छन्। जाकिर हुसेनका श्रीमती एन्टोनिया मिनेकोला, उनका दुई छोरी अनिसा कुरेशी र इसाबेला कुरेशी, उनका भाइहरू तौफिक र फजल कुरेशी र बहिनी खुर्शीद छन्।

उस्ताद जाकिर हुसेनलाई आफ्नो पुस्ताको सबैभन्दा महान तबलावादक मानिन्छ। जाकिर हुसेन भारतका सबैभन्दा प्रसिद्ध शास्त्रीय संगीतकारहरू मध्ये एक थिए । उनी १९८८ मा पद्मश्री, २००२ मा पद्म भूषण र २०२३ मा पद्म विभूषणबाट सम्मानित भएका छन्।

उनले आफ्नो करियरमा पाँचवटा ग्रामी अवार्ड जितिसकेका छन्। ग्रामी अवार्डलाई संगीत क्षेत्रमा विश्वकै सबैभन्दा प्रतिष्ठित अवार्ड मानिन्छ । जाकिर हुसैनको जन्म ९ मार्च १९५१ मा मुम्बईमा भएको थियो । उनका पिता महान तबला वादक उस्ताद अल्लाह राखा कुरैशी थिए। आमाको नाम बीवी बेगम थियो।

छ दशक लामो आफ्नो करियरमा उनले देश र विश्वका धेरै चर्चित कलाकारहरूसँग काम गरेका थिए। अङ्ग्रेजी गिटारवादक जोन म्याक्लफ्लिनले भारतीय भायोलिन वादक एल. शंकर, तबला वादक जाकिर हुसेन र टी.एच. विक्कु विनायकरामसँग फ्युजन ब्यान्ड ‘शक्ति’ सुरु गरे पनि सन् १९७७ पछि यो ब्यान्ड खासै सक्रिय भएन ।

१९९७ मा जोन म्याक्लफ्लिनले फेरि त्यही अवधारणामा ‘रिमेम्बर शक्ति’ नामक ब्यान्ड गठन गरे जसमा भि. सेल्वागणेश, मन्डोलिन खेलाडी यू. श्रीनिवास र शंकर महादेवन समावेश थिए। २०२० मा ब्यान्ड फेरि एकसाथ आयो र ‘शक्ति’ को रूपमा तिनीहरूले ४६ वर्ष पछि आफ्नो पहिलो एल्बम ‘दिस पल’ रिलिज गरे।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *