एकीकृत समाजवादीद्वारा २४ सदस्यीय सचिवालय गठन
काठमाडौं। नेकपा एकीकृत समाजवादीले संविधान संशोधनका लागि सुझाव दिन कार्यदल गठन गरेको छ।
पार्टी कार्यालय आलोकनगरमा मंगलबार सम्पन्न पार्टीको स्थायी कमिटी बैठकले संविधान संशोधनबारे अध्ययन गरेर सुझाव दिनको लागि उपाध्यक्ष प्रकाश ज्वालाको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरेको नेता जगन्नाथ खतिवडाले जानकारी दिए।
सुझाव कार्यदलमा गरिमा साह, गणेश विक, बलदेव चौधरी, रामचन्द्र यादव, घनप्रसाद गौतम र राजन राइसमेत रहेका छन्।
त्यस्तै बैठकले आगामी निर्वाचनमा कलम चुनाव चिन्हका साथ उम्मेदवारहरु एक्लै चुनाव लड्ने निष्कर्ष समेत निकालेको छ। यसका लागि जनतामा जाने खतिवडाले बताए। बैठकले पार्टी एकता नगर्ने र सुदृढिकरणमा ध्यान दिने निर्णय पनि गरेको उनले जानकारी दिए।
बैठकले पार्टीलाई जनतासँग जोड्नको लागि जनसंर्षका अभियानहरु चलाउने निर्णय पनि गरेको छ । स्थायी कमिटी बैठकले पार्टीको केन्द्रीय सचिवालय गठन गरेको छ। सचिवालमा अध्यक्ष, सम्मानित नेता, वरिष्ठ नेता, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवसहित २४ जना रहने खतिवडाले बताए।
बैठकले पाँच सदस्यीय केन्द्रीय कार्यालय गठन गरेको छ भने पार्टीको आगामी कार्ययोजनालाई संशोधनसहित पारित गरेको छ। कार्यविभाजनका सन्दर्भमा आएका सुझावहरुलाई अध्ययन गरि दुई दिनपछि टुंग्याउने खतिवडाले बताए। खतिवडाले बामदेव गौतमलाई नेकपा एकीकृत समाजवादीमा ल्याउनका लागि छलफल भइरहेको र गौतम पनि सकारात्मक रहेको बताए। यसका लागि अन्य प्रक्रियाका कामहरु जारी रहेको उनको भनाइ छ।
Facebook Comment