संघीय संसदका ४ वटा समितिको बैठक बस्दै
काठमाडौं। संघीय संसद अन्तर्गतका चारवटा संसदीय समितिका बैठक बस्दैछ। संघीय संसद सचिवालयका अनुसार चारवटै समितिको बैठक सिंहदरवारस्थित सचिवालय भवनमा बस्नेछ।
जसअनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पुरानै एजेन्डा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्ता छलफल हुनेछ। जुन बैठक दिउँसो १ बजेवाट सुरू हुनेछ।
संसद सचिवालयका अनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भने बिद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा छलफल हुनेछ। जसका लागि बिहान ९ः०० बजे बैठक आब्हान गरिएको छ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा आज पनि राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित नीतिगत समस्या तथा समाधानका उपायहरु सम्बन्धमा छलफल हुनेछ। जुन बैठक बिहान ११ः ३० बजेवाट सुरू हुने सचिवालयले जनाएको छ।
साथै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा भने बिभिन्न स्थलगत अनुगमन प्रतिवेदनहरू सम्बन्धमा छलफल गरिनेछ। जुन बैठक ११ः०० बजेवाट सुरू हुनेछ।
Facebook Comment