एमाले अखिलले लोकसेवा आयोगको निःशुल्क कक्षा सञ्चालन गर्ने
काठमाडौं । अनेरास्ववियु काठमाडौं जिल्ला कमिटीले लोकसेवा आयोग र शिक्षक सेवा आयोगका लागि निशुल्क रुपमा तयारी कक्षाहरु सञ्चालन गर्ने भएको छ ।
कमिटीको हालै बसेको तेस्रो पदाधिकारी बैठकले सो निर्णय गरेको जानकारी दिइएको छ ।
बैठक अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज धर्मराज तिमिल्सिनाको प्रमुख आतिथ्यता र अध्यक्ष निराजन थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
युवालाई देशमै रोजगारीमा अभिप्रेरित गर्ने अभिप्रायले तयारी कक्षाहरु सञ्चालन गर्न लागेको अनेरास्ववियुले विज्ञप्तिमा जनाएको छ ।
विभिन्न पेसा व्यवसाय, भौगोलिक विकटता वा अन्य विविध कारणले इन्स्टिच्युट पुग्न नसकेर सरकारी सेवा प्रवेश गर्न नसकेका युवालाई लक्षित गरी सो कक्षा सञ्चालन गर्न लागिएको संगठनले जानकारी दिएको छ ।
लोकसेवा आयोग र शिक्षक सेवा आयोगका विभिन्न पदका लागि अनलाइनमार्फत तयारी कक्षा सञ्चालन गरिने आयोजकले जनाएको छ । त्यसको लागि पुस १५ गते भित्र गुगल फारम भर्नुपर्ने छ ।
कक्षा सञ्चालनको लागि अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज धर्मराज तिमिल्सीनाले जुटाउने जिम्मेवारी लिएका छन । विकट र फरक क्षमता भएका, आर्थिक अभावमा रहेका देश भरिका युवाहरू तथा पेसा, व्यवसायको कारण अध्ययनमा कम समय दिने युवालाई कक्षा सञ्चालन गर्न लागिएको तिमिल्सीनाले जानकारी दिए ।
Facebook Comment