टपरी संस्कृति, सामुदायिक शक्ति

शान्ता सुवेदी सिटौला
४ पुष २०८१ ७:२४

“सालको पात टपरी गाँसेर धेर भो माया जाउँ डाँडा काटेर” हामी सानो छँदा अथवा निम्न माद्यामिक वा माद्यामिक विद्यालयमा पढ्दाखेरि रेडियो नेपालबाट बज्ने सुरिलो लोकभाकाको महिला स्वर सुनेर मख्खै पर्दथ्यौं।

स्कूलबाट घर फर्कँदा बाटा छेउमा कसैको घरमा रेडियोबाट ठूलो स्वरमा यो गीत बजिरहेको रहेछ भने कुनै साथीले भन्थी साथीहरु हो एकछिन उभिएर यो गीत सुनेर जाउँ ल। अनि हामी बाटैमा यो टपरी गीतका सामुहिक स्रोता बनेर घर फर्केका हुन्थ्यौं।

उ पर डाँडाभित्ता पाखामा बन जंगल खेत ब्याँसीमा मेलापात ढिकी जाँतामा दाउरा घाँस पानी पँधेरीमासमेत कतै एकल महिला स्वर कतै सामुहिक महिला स्वर कतै एकल पुरुष स्वर कतै सामुहिक पुरुष स्वर गुन्जिएका हुन्थे सुनिन्थे कतै टाढाबाट कतै नजिकबाट। गाउँघरका बिबाहा उत्सब होस् कि पुरान,पूजा जागृत अनेक उत्सवमा पनि यो टपरी गीतले प्रसस्थ स्थान पाएको हुन्थ्यो।

यता पछिल्लो कालमा शहर बजार होस् कि गाउँघर होस् अनेक उत्सव कार्यक्रमका पार्टी प्यालेस होस् कि रेडियो टिभीमा होस् मोबायलमा होस् जताततै सालको पात टपरी हुने हो नहुने सल्लैको भन्ने लोकप्रिय युगल गीतले पिटेको वा पिटिरहेको छ भन्दा अत्युक्ति नहोला।

अहिलेको प्रविधिको अधिकतम सदुपयोग गर्दै म्युजिक भिडियो वा टिकटकमा यो गीतमा अभिनय नगर्ने शायदै थिए या छन् भन्दा बढाईचढाई नमानिएला। यसरी गीतले पनि टपरीलाई जनजनमा पुर्‍याउन योगदान दिएका रहेछन्। तर दुबै गीतले सालको पातका टपरीलाई मात्रै रोजेछन् किन होला? सायद यो गीतका रचनाकार वा संकलक सालको पातको टपरी बनाउने क्षेत्रका भएर हुनुपर्छ।

अर्को गीतमा भने कुनै पातको उल्लेख नगरी टपरीको मात्रै उल्लेख गरेका छ। सिन्के बुट्टे टपरीमा कला तिम्रो दलानमा जान्छ सडेर। यसरी टपरीले पनि कहीँ न कहीँ गीतमा स्थान बनाएको पाइएको छ। हाम्रो क्षेत्र तेह्रथुममा भने भोर्लाका पातका टपरी बन्ने चलन पनि छ। सायद सालको पातभन्दा भोर्लाको नै बढी थियो कि।

तर सालको पात भोर्लाको भन्दा धेरै छेत्रमा साललै पाइने हुनाले पनि यसको व्यापकता भएकोले गीतमा स्थान पाएको होला। तर रेडियो टिभीमा गुन्जन नपाए पनि भोर्लाको गीतले पनि हाम्रोतिरको पाखा भित्तामा स्थान पाएको भने थियो। पात टिप्नु भोर्ला धेर माया नलाउ देश काट्नुपर्ला भन्ने स्थानीय शैलीको लोक भाका खेताला गोठाला युवा युवतीले मेलापात वन पाखा भित्तामा गाएका हुन्थे।

टपरीले गीतमा मात्रै होइन कि गाली गलोजमा पनि स्थान पाएको छ। हिन्दु धर्मका पुरोहित बाहुन आदिलाई गाली गर्दा टपरे भन्ने गरेका छन् कतिपयले। यसको कारण हो अनेक पूजा काजक्रिया आदिमा टपरामा दान दक्षिणाको लागि टपरामा चामल आदि राखिएका हुन्छन्।

दानको रुपमा पुरेत बाहुनले ति टपरा भेला गरेर झोला बोरामा भेला पार्छन्। त्यसैलाई टपरा सोर्ने टपरे बाहुन भनेर घोचपेच गाली गर्छन्। तर यो त गालीको विषय नभएर धार्मिक विधिविधान हो। बाहुन त बोलाएर आएका हुन्छन शास्त्रले मागे बमोजिम दुना टपरामा दान दक्षिणाको व्यवस्था हुने हो। तर गाली वा ब्यंग्य जेमा भए पनि टपरीको भने विज्ञापन भएको नै छ।

अब टपरी संस्कृतिमा प्रवेश गरौँ। टपरी संस्कृति भनेको एककिसिमको शुद्ध प्रकृति साधनको प्रयोगको संस्कृति हो। टपरी संस्कृति नेपाली समाजको सामुहिकताको संस्कृति हो। समाज संस्कृति हो सहयोगको संस्कृति हो। जन जीवनको संस्कृति हो।

एउटा ग्रामीण संस्कृति हो। तीब्र शहरी संस्कृति र वैज्ञानिक उत्पादनले पनि टपरी संस्कृतिमाथि तीब्र रुपमा प्रहार भइरहेको छ। नेपालको उत्पादन संस्कृतिमा फेरबदल आएसँगै टपरी संस्कृतिमा पनि फेरबदल आइरहेको छ। टपरी संस्कृति के हो भन्नेमा मसिनोसँग छलफलमा प्रवेश गरौं।

ग्रामिण क्षेत्रमा हुर्केका बढेका प्राय सबैलाई जानकारी भएको हुनुपर्छ कि ठूलठूला भोज भतेर हुने अनेक किसिमका धार्मिक सांस्कृतिक वा कृषि उत्पादनसँग जोडिएका कार्यक्रममा अनिवार्य चाहिने साधन मध्ये एक हो दुना टपरी। गाउँमा पहिला प्राय ठूला ठालू मध्यम वर्गीय परिवारले पुरान लगाएका हुन्थे।

पुरान सुन्न निम्तो पाएका अनेक मान्छे जान्छन्। तीनलाई खाजा नास्ता प्रसाद आदि दुना टपरीमा नै राखेर दिइन्थ्यो। अनेक धार्मिक रुद्री पूजाआजा अनेकमा चाहिने दुना टपरी नै हो। अर्थात पवित्र आध्यात्मिक पक्षसँग जोडिएका जेजे कर्मकाण्ड वा कार्जे भनिन्छ सबैमा दुना टपरी सफलताको अनिवार्य आवश्यकताको साधन थियो केही दसक अघिसम्म।

सबैलाई थाहा भएको छ मान्छे नमरेको कुनै परिवार नै छैन,हुँदैन। यो प्राकृतिक हो। यस्ता हरेक घर घरमा मान्छे मरेका घरमा धार्मिक मान्यता बमोजिम काजक्रिया हुने गर्दछ। यस्ता सबैमा सुरुदेखि नै दुना टपरी अनिवार्य साधन मानिन्छ।

ग्रामिण क्षेत्रमा सुद्धाइको दिन सबै मलामीलाई टीका दक्षिणाको साथ भोज खुवाउने चलन थियो छ। त्यस्ता ठूला भोजमा सबैले खाने साधन दुना टपरी नै हुन्थे। अर्थात दुना टपरी नभइ कार्जे उत्रदैनथ्यो पहिले। तर अहिले यसो भनियो भने मिल्दैन। त्यो बेगर पनि कार्जे उत्रन्छ भन्नेले जित्छन्। यसमा पछि छलफल चर्चा गर्न बाँकी नै छ।

माथि धार्मिक र दुखको कार्जेमा मात्र होइन मान्छे खुशी भएर रमाउने बिबाह उत्सवलाई सफल बनाउनको लागि भोजभतेरको अनिवार्य साधन मध्ये एक हो दुना टपरी। दुना टपरी भएन भने भोज असफल हुन्थ्यो। किनभने त्यति धेरै जन्तीलाई वा घर गाउँलेलाई एकैपटक खुवाउने साधनै उपलब्ध हुन सक्तैनथ्यो।

एकैपटक यति धेरै मानिसलाई खाना खुवाउन त्यसबेला अन्य साधन सजिलै उपलब्ध हुन सक्थैनथ्यो। त्यस्तो भोजलाई बिबाहा भोज ,जन्ति बाख्रो वा जन्तिे खसी खाने भोज पनि भन्थे गाउँघरमा।

सबैलाई थाहा भएको हुनुपर्छ खेत,बारी चउरको वरिपरी बसेर मानिसहरु झोल झोल भनेर कराएको वा टपरीबाट चुहेको झोल खेर जान नदिन हतार हतार पिएको। त्यसको मज्जा कहाँ पार्टी प्यालेसका अनेक कासाबिसाले भेट्छ होलार।

त्यसबेला कतिपय ठूला खेतहरुमा ठूला दाइँ हुन्थे। दाइँमा धान पराल छुट्याउन धेरै दयाँरे हुन्थे। दयाँरेलाई खाना खुवाउन भनेर ठूला खडकुलामा भात आदि पकाएको हुन्थ्यो। यस्ता दाइँको भतेरमा दयाँरेलाई खान दिनको लागि दुना टपरी नै चाहिन्थ्यो। याहाँ पनि अर्को विकल्प थिएन। दाइँ पार लगाउन पनि दुना टपरी दाइँको अंग भएको हुन्थ्यो।

यसरी अनेक ठूला भोज भतेरदेखि साना पूजा आदि इत्यादिमा नियमित चाहिने दुना टपरीहरु प्राय सबैले आप्mनै घरमा तयार गरेका हुन्थे। प्राय महिलाहरुले साँझ बिहान फुर्सदको बेलामा दुना टपरी तयार गरेका हुन्थे। अझ हिउँदको तुलनात्मक फुर्सदको बेलामा गाउँका किसान महिलाहरु भेला भएर हाँस्दै रमाउदै दुना टपरी गाँसेका हुन्थे। यो एक किसिमको सुन्दर टपरी संस्कृति पनि थियो।

कुनै घरमा बिबाह, पुरान आदि ठूला कार्जेको योजना छ भने पाँच छ महिना अधिदेखि दुना टपरीको जोहो हुन थालेको हुन्छ। नियमित दुना टपरी गाँसीरहने काम हुन्थ्यो। यस्तो काम यदि त्यो घरमा अली पाकी महिला छन् भने यस्तो बसेर गर्ने काम उनलाई दिएको हुन्थ्यो।

उनले अल्छी नगरी नियमित बनेर दुना टपरीको लक्कु लगाउकी हुन्थिन्। ठूला कार्जे आदि भएको घरमा भने छरछिमेक नातागोता इष्टमित्र आदि आएर पनि दुना टपरी गाँस्न सहयोग दिएको पनि हुन्छ। गाउँमा दुना टपरी किन्ने चलन पनि थिएन र ज्यालामा गाँस्ने चलन पनि थिएन।

या त घरकैले तयार गर्ने या त माथि भनिएकाहरुको सहयोगमा या गफगाफ बसिबियालोमा। टपरी बन्ने पात दुई किसिमले प्राप्त हुन्थ्यो। दुना टपरीको लागि प्रयोग हुने भोर्लाको पात टिप्न विशेष तयारीको साथ भोर्लाको रुख लहरो भएको ठाउँमा गएर टिपेर ल्याउने एउटा विकल्प अर्केा भने बजार वा अर्डरबाट किन्ने विकल्प। त्यतातिर भोर्लाको पातबाट नै प्राय दुना टपरी गाँस्ने चलन थियो।

मरिमराउ भएको घरमा अप्रत्यासित आएको दुखमा भने गाउलेहरु मिलेर दुना टपरी तयार गरिदिन्थे। कोही बाँसका सिन्का बनाउन लाग्थे कोही पात लिन जङ्गलतिर लाग्थे त महिलाहरु दुना टपरी तयार गर्ने टीमको तयरीमा लाग्थे र सामुहिक प्रयाशमा यो काम छोटो अवधिमा पार लगाउँथे। यो कति लोभलाग्दो सहयोगी ग्रामिण टपरी संस्कृति थियो। हेर्दा हेदै यो एकादेशको कथा जस्तो भै सक्यो।

अहिले बिबाहा आदि सबै पार्टी प्यालेसले लियो यसले सबै ठूला भोजभतेरलाई व्यवसायिक किसिमले विस्थापित गरिदियो। दुना टपरीलाई पनि पलास्टिक आदिका प्लेटले विस्थापित गरिदियो।

टपरी संस्कृति नितान्त स्वदेशी उत्पादन स्वदेशी श्रम सीप र सहायोगात्मक छिमेक संस्कृतिको पर्याय थियो। टपरी संस्कृतिले करोडौँको पैसा विदेश जान रोकेको थियो भने जताततै नकुहिने पलास्टिक फोहरको रास हुनबाट पनि रोकेको थियो।

बिस्तारै नयाँ पुस्ताले टपरी भनेको केहो भनेर जान्नलाई गुगल सर्च गर्ला हुन्। उनका आमा हजुर आमा टपरी गाँस्थे बाँसका मसिना सिन्काले भन्दा मोबायल नछोड्ने संस्कृतिले अविश्वास गर्छ होला।

हेर्दै मनै लोभ्याउने बरणीको विशाल कलात्मक सुन्दर टपरी पछिल्लो पुस्ताको लागि अप्राप्य भएर जाला। टपरी बनाउने महिला नपाइएला बदलिदो उत्पादन सम्बन्ध व्यवहारले टपरी संस्कृति पनि सायद समाप्त भएर जाला।

सायद नेवारहरुको गुठी संस्कृतिले केही हद र समयसम्म टपरी संस्कृति बचाउन सक्छ कि ? कतै कतै मिसिनले बनाएका टपरी उत्पादन र बिक्रीमा पनि छन् तिनले पनि टपरी बचाउन सक्ला। यो पनि साँचो हो व्यस्त र प्रतिस्पर्धी समयमा टपरी गाँसेर मात्रै पनि जीविका पनि त चल्दैन नि।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *