संगठन विभागको कमाण्ड वेदुरामलाई, घनश्यामलाई परेन चाहेको विभाग
काठमाडौं । नेकपा एकीकृत समाजवादीको एक सातासम्म चलेको स्थायी कमिटी बैठकले नेताहरूको कार्यविभाजन तथा जिम्मेवारी हेरफेर गरेको छ। केन्द्रीय महाधिवेशन सकिएको ६ महिनापछि मात्र नेकपा एसले नेताहरूको जिम्मेवारी हेरफेर तथा कार्यविभाजन गर्न सकेको हो।
बैठकले गरेको कार्यविभाजन अनुसार अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा २४ सदस्यीय केन्द्रीय सचिवालय गठन भएको छ। जसमा सम्मानित नेता झलनाथ खनाललाई स्कुल विभाग प्रमुख, वेदुराम भुसाललाई संगठन विभाग प्रमुख, प्रमेश हमाललाई विदेश विभाग प्रमुख, घनेन्द्र बस्नेतलाई राजकीय मामिला विभाग प्रमुखको जिम्मेवारी दिइएको सचिव सोमप्रसाद पाण्डेयले जानकारी दिए।
वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले मोर्चा फाँटको कमाण्ड पाएका छन्। उपाध्यक्ष जगन्नाथ खतिवडा संघीय तथा प्रादेशिक मामिला प्रमुख, उपाध्यक्ष प्रकाश ज्वाला प्रचार विभाग प्रमुख, उपाध्यक्ष जयन्ती राई अखिल नेपाल महिला संघ समाजवादीको इन्चार्ज भएका छन्।
उपाध्यक्ष भानुभक्त जोशीलाई सुदूरपश्चिम प्रदेश इन्चार्ज, उपाध्यक्ष धर्मनाथप्रसाद साहलाई मधेस प्रदेश इञ्चार्ज, उपाध्यक्ष गंगालाल तुलाधरलाई बागमती प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको पाण्डेयको भनाइ छ।
महासचिव घनश्याम भुसाललाई अनुगमनको जिम्मेवारी तोकिएको छ। यद्यपी उनी संगठन विभाग प्रमुखको आकांक्षी थिए।
उपमहासचिव राजेन्द्र राई कोशी प्रदेश इन्चार्ज, उपमहासचिव रामकुमार भट्टराई कार्यालय सचिव, उपमहासचिव गरिमा शाह संसदीय इन्चार्ज, उपाध्यक्ष मेटमणि चौधरी लुम्बिनी इञ्चार्ज तोकिएको छ।
सचिव श्रीनाथ बराललाई गण्डकी इन्चार्ज, सचिव चन्द्रबहादुर शाहीलाई कर्णाली इन्चार्ज, लक्ष्मण केसीलाई युवा विभागको इन्चार्ज र रामकुमारी झाँक्रीलाई विद्यार्थी विभाग इन्चार्ज तोकिएको छ।
Facebook Comment