राजनीतिक स्थिरता कायम भई लगानीको वातावरण बन्छः उर्जामन्त्री

डिसी नेपाल
३ पुष २०८१ २०:३१

लुम्बिनी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मुलुकमा अब राजनीतिक स्थिरता कायम भई लगानीको वातावरण बन्ने बताएका छन्। उनले सय दिन नपुग्दै विश्वासको मत लिनुपर्ने अवस्थाका कारण मुलुकमा अस्थिरता हुँदा लगानीको वातावरणसमेत विग्रिएको अवस्थालाई मध्यनजर गरी दुई ठूला दल मिलेर सरकार बनाएको बताउँदै सरकार पूरा अवधि रहने स्पष्ट पारे।

बुटवलमा आजदेखि सुरू भएको औद्योगिक व्यापार मेलाको उद्घाटन गर्दै मन्त्री खड्काले राजनीतिक अस्थिरताका कारण लगानीको वातावरण नभएको भन्ने उद्योगी व्यवसायीहरूको चिन्ताप्रति सरकार गम्भीर रहेको बताए। उनले व्यवसायीको लगानीको सुरक्षा गर्न र कानुनी जटिलता हटाएर व्यावसायिक वातावरण निर्माण गर्न सरकार लागिपरेको भन्दै ढुक्क भएर लगानी गर्न उद्योगी व्यवसायीहरूलाई आग्रह गरे।

मन्त्री खड्काले वर्तमान सरकार बनेपछि १० वर्षभित्रमा २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने र १६ हजार मेगावाट विद्युत् निर्यात गर्ने योजना अगाडि बढाइएको जानकारी गराए। बंगलादेशमा विद्युत् निर्यात गर्ने कार्य सुरू गर्नुका साथै भारतमा समेत विद्युत् व्यापार विस्तार भई व्यापार घाटा कमी गरिएको जानकारी गराए।

कार्यक्रममा लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले लुम्बिनी प्रदेश लगानीका हिसाबले धेरै सम्भावना रहेको बताउँदै लगानीको वातावरण बनाउन संघीय सरकारसँगै प्रदेश सरकार पनि लागिपरेको बताए।

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले यहाँका उद्योगी व्यवसायीका समस्या स्थानीय सरकारका पनि समस्या भएको बताउँदै ती समस्या समाधानका लागि पालिकाबाट हुनसक्ने कुरा पालिकाबाट समाधान गरिने प्रतिबद्धता व्यक्त गरे

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले दुई ठूला दलको समीकरणमा सरकार बनेपछि स्थायित्व हुन्छ र लगानीको वातावरण बन्छ भन्ने आशा गरिए पनि अहिलेसम्म त्यस्ता वातावरण बन्न नसकेकामा चिन्ता व्यक्त गरे।

‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मूल नारासहित आयोजना गरिएको मेलामा पाँच सय कक्ष सहभागी छन्। १६ दिनसम्म सञ्चालन गरिने मेलामा पाँच लाख बढीले अवलोकन गर्ने र मेलाभित्र रू १५ करोड बढीको कारोबार हुने अनुमान गरिएको बुटवल उद्योग वाणिज्य संघका महासचिव तथा मेलाका प्रवक्ता मुक्तिप्रसाद अधिकारीले जानकारी गराए।

औद्योगिक उत्पादनको प्रवर्द्धन, कृषि, पर्यटनको प्रवद्र्धन तथा व्यवसायीकरणका लागि बिशेष महत्वका साथ आयोजना गरिएको औद्योगिक व्यापार मेलामा कृषि, सेवा, हस्तकला, इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स, ब्युटी, गार्मेन्ट, जुत्ता, एफएमसिजी (फुड एण्ड वेभरेज), अटोमोबाइल्स र होटलको छुट्टाछुट्टै १० वटा पेभिलिन रहेका छन्।

त्यसैगरी दुवई फिस टनेलसहितको बालउद्यान रहेको छ। मेलामा औद्योगिक प्रदर्शनी, हस्तकला प्रदर्शनी, कृषि प्रदर्शनी र प्रविधिको प्रदर्शनी तथा बिक्रीवितरण, विभिन्न विधामा प्रतियोगितात्मक कार्यक्रमसहित सांस्कृतिक सांगीतिक कार्यक्रम हुनेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *