परराष्ट्रमन्त्री राणा दिल्लीमा, प्रधानमन्त्रीको भ्रमण तय होला?
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज भारतको नयाँ दिल्ली पुगेकी छन्। युरोपका केही कार्यक्रममा सहभागी भएर उनी बिहीबार नयाँ दिल्ली पुगेकी हुन्।
भारतमा रहँदा राणाले भोलि नयाँ दिल्लीमा आयोजना हुने नेपाल-भारत आर्थिक सम्मेलनलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ।
बेल्जियम, नेदरल्याण्ड्स र लक्जेम्बर्गको भ्रमणपश्चात जर्मनी पुगेकी राणा त्यहाँबाट सिधै भारत प्रस्थान गरेकी हुन्। जर्मनीमा रहँदा उनले यौनिक र लैंगिक अल्पसङ्ख्यकको अधिकारसम्बन्धी सम्मेलन–२०२४ मा सहभागिता जनाएकी थिइन्।
दिल्लीमा उनलाई नेपाली राजदूतावासका अधिकारीसँगै भारतीय विदेश मन्त्रालयका अधिकारीले स्वागत गरेका थिए।
परराष्ट्र मन्त्री बनेपछि राणाको यो दोस्रो भारत भ्रमण हो। गत भदौमा पनि उनी दिल्ली पुगेकी थिइन्।
शुक्रबार राणाले नेपाल-भारत आर्थिक कन्क्लेभको प्रमुख अतिथिका रुपमा सम्बोधन गर्ने कार्यक्रम छ।
राणाले दिल्लीमा रहँदा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण तय गराउन भूमिका खेल्ने बताइएको छ।
केही दिन अगाडि गृहजिल्ला झापा पुगेर प्रधानन्त्री ओलीले आफूले छिट्टै भारत भ्रमण गर्ने बताएका थिए।
‘हामी देश बनाउँछौं। कर्णालीमा पुल बन्ने भएको छ। चीन भ्रमणबाट थुप्रै कुराहरू भएका छन्,’ उनले भने, ‘अब मान्छेहरूले पत्याएका छैनन् होला। म केही समयपछि भारत भ्रमणमा पनि जान्छु,’ उनले भनेका थिए।
ओली निकट स्रोतले पनि ओलीले जनवरी दोस्रो हप्ता (पुस अन्तिम) तिर भारत भ्रमण गर्ने गरी तयारी सुरु गरेको जनाएको छ। ओलीलाई भ्रमणको निम्तो दिन भारतले सकेसम्म विदेश सचिव श्रीबिक्रम मिश्रीलाई नेपाल पठाउने तयारी गरेको स्रोत दाबी छ।
कारणबस उनी आउन पाएनन् भने नेपालस्थित भारतीय दूतावासमार्फत प्रधानमन्त्री ओलीलाई भारत भ्रमणमो निम्तो दिइनेछ। कुनै घटनाक्रम भएन भने प्रधानमन्त्री ओली पुसको अन्तिम साता भारत भ्रमणमा जाने छन्।
प्रधानमन्त्री ओलीले विभिन्न च्यानलमार्फत भारत भ्रमणको तयारी गरिरहेकोमा यस पटक परराष्ट्र मन्त्री राणाको भारत भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
Facebook Comment